आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
प्रतिस्थापन

दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै

आइतबार, ११ जेठ २०८२, ०७ : ००
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • सरकारले दुई दशकपछि पेट्रोलमा इथानोल मिसाउने योजना चालु आर्थिक वर्षभित्रै कार्यान्वयन गर्ने भएको छ। कार्यविधिको मस्यौदा अर्थ र कानुन मन्त्रालयमा पठाइएको छ।
  • पेट्रोलमा इथानोल मिसाउँदा १० प्रतिशत आयात प्रतिस्थापन हुने र वातावरण प्रदूषण कम हुने अपेक्षा गरिएको छ। यसका लागि स्वदेशी वस्तुको प्रयोग बढ्नेछ।
  • इथानोल उत्पादनका लागि उद्योग स्थापना गर्ने तयारी भइरहेको छ। नेपाल आयल निगमले अमलेखगञ्ज डिपोमा इथानोल मिश्रण गर्ने उपकरण जडान गरिसकेको छ।

काठमाडौँ । दुई दशकदेखि सफल हुन नसकेको सरकारको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्षभित्रै कार्यान्वयनमा आउने भएको छ । पेट्रोलमा इथानोल मिश्रण गर्ने कार्यविधिको ड्राफ्ट रायका लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइएको छ । 

चालु वर्षमै कार्यान्वयनमा ल्याउने गरी प्रक्रिया अघि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रातोपाटीलाई जानकारी दिएका छन् । 

‘पेट्रोलमा इथानोल मिश्रण गर्ने कार्यविधि तयार भइसकेको छ । रायका लागि यसको ड्राफ्ट कानुन मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएका छौँ ,’ मन्त्री भण्डारीले भने, ‘दुवै मन्त्रालयबाट सहमति भएर आउने क्रममा छ ।’ आउने बित्तिकै कार्यविधि पास गर्छौँ र मन्त्रिपरिषद्बाट त्यसको मूल्य निर्धारणका लागि निर्णय गर्छौँ । चालु वर्षभित्रै यो कार्यविधि कार्यान्वयनमा आउँछ ।’

तत्कालीन सरकारले पेट्रोलियम पदार्थको प्रयोगबाट वातावरणमा पर्न गएको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न सरकारले २०६० सालमै यो योजना अघि सारेको थियो । २०६० साल मङ्सिर ९ गते पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री गर्नुपर्ने व्यवस्था राजपत्रमा प्रकाशित गरेको थियो । तर यो व्यवस्था लागू हुन सकिरहेको थिएन । अब छिट्टै कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ । 

१० प्रतिशत आयात प्रतिस्थापन हुने अपेक्षा

पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गरी १० प्रतिशत आयात  प्रतिस्थापन हुने अपेक्षा रहेको मन्त्री भण्डारीको भनाइ छ । कार्यविधिमा पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा  पेट्रोलियम पदार्थ आयात परिमाण १० प्रतिशत घटाउन सकिने उल्लेख छ ।  

छिमेकी मुलुकमा भारतमा पेट्रोलियम पदार्थमा २०  प्रतिशत  इथानोल मिश्रण हुने गरेको छ । अरु विकसित मुलुकले पनि वातावरण प्रदूषण न्यूनीकरणका लागि पेट्रोलमा १० देखि २० प्रतिशतसम्म इथानोल मिसाउने गरेका छन् ।

नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ हो  । चालु आर्थिक वर्षको १० महिना (२०८१ साउनदेखि २०८२ वैशाख) सम्ममा २० खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसमा १० प्रतिशत इथानोल मिसाउँदा १० प्रतिशत आयात घट्छ । आयात प्रतिस्थापन हुनका साथै वातावरणमा पर्ने जोखिम न्यूनीकरण हुने अपेक्षा छ । 

छिमेकी मुलुकमा भारतमा पेट्रोलियम पदार्थमा २०  प्रतिशत  इथानोल मिश्रण हुने गरेको छ । अरु विकसित मुलुकले पनि वातावरण प्रदूषण न्यूनीकरणका लागि पेट्रोलमा १० देखि २० प्रतिशतसम्म इथानोल मिसाउने गरेका छन् । पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि छिमेकी मुलुक भारत कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा पनि अध्ययन भएको थियो ।

अमेरिकाबाट इथानोल उत्पादनमा लगानी गर्न आएका लगानीकर्ताहरुसँग पनि छलफल गरिसकेको छ । नेपालमा धेरै सम्भावना मकै चामल बाट बन्ने देखिएको छ । विशेषत अन्नबाहेकका वस्तुबाट उत्पादन गर्ने गरी कार्यविधि तयार भएको  छ । उक्त कार्यविधि कार्यान्वयनको अन्तिम चरणमा रहेको छ ।  

स्वदेशी वस्तुको प्रयोग बढ्ने 

इथानोल अन्न वा वनस्पतिबाट उत्पादन हुने एक प्रकारको रसायन हो । जसलाई स्प्रिट पनि भनिन्छ । अथवा, यो अल्कोहल हो । नेपाल आयल निगमका अनुसार भारतमा मकै र गहुँबाट समेत इथानोल उत्पादन हुने गरेको छ ।

इथानोल उत्पादनका लागि गरिएका विभिन्न अध्ययनले नेपालमा उत्पादन हुने सिमल तरुल, पराल, घाँस गहुँको छवाली, उखुबाट बायो इनर्जी इथानोल उत्पादन गर्न  सकिने देखाएको छ । 

उखुको मोलासेस (खुदो) बाट इथानोल उत्पादन सम्भव हुने हुने भएकाले पनि नेपालमा इथानोल मिसाउन सम्भव देखिएको छ । यस्तै  इथानोल उत्पादनका लागि गरिएका विभिन्न अध्ययनले नेपालमा उत्पादन हुने सिमल तरुल, पराल, घाँस गहुँको छवाली, उखुबाट बायो इनर्जी इथानोल उत्पादन गर्न  सकिने देखाएको छ । 

इथानोलको प्रयोगले  पेट्रोलियम पदार्थमा स्वदेशी वस्तुको प्रयोग हुनुका साथै देशमा रोजगारी  बढ्ने उनको भनाइ छ । ‘पहाडमा सिमलतरुल उत्पादन बढाउन सकिन्छ । तराइमा उखु, गहुँको छवाली घाँस, कुहिएको चामल लगायतबाट बायो इनर्जी निकाल्न सकिन्छ ,’ उने भने,‘यसले स्वदेशी उत्पादन खपत हुने साथै देशमा रोजगारी सिर्जना हुन्छ । बाँझो जमिनमा कृषि कार्य गर्न युवाहरू आकर्षित हुन्छन् । खेर गइरहेको घाँसपात प्रयोगमा आउँछ ।’ 

के छ तयारी ? 

नेपालमा इथानोल उत्पादनका लागि उद्योगहरू स्थापना गर्नुपर्ने देखिएको छ । कार्यविधि स्वीकृत भएपछि  उद्योगहरू  पनि स्थापना अघि बढाउने सरकारको तयारी छ  । हाल नेपालका चिनी उद्योगमा सानो परिमाणमा इथानोल उत्पादन हुने गरेको छ । करिब ५० हजार लिटर इथानोल उत्पादन गरी दिन सकिने चिनी उद्योगले जनाएका छन् । तर नेपालमा करिब डेढलाख लिटर आवश्यक पर्ने अध्ययनले देखखएको छ । 

यस्तै इथानोल मिश्रण गर्नका लागि नेपाल आयल निगमले पहिल्यै तयारी गरेको छ ।  २०७१ सालमैनिगमको अमलेखगञ्ज डिपोमा इथानोल मिश्रण गर्ने उपकरण जडान गरेको छ । तत्कालीन समयमा पेट्रोलको बढ्दा भाउ नियन्त्रण गर्न भन्दै इथानोल मिश्रणको तयारी गरिएको थियो । तर, प्रयोगमा ल्याइएको थिएन । अब सोही उपकरण प्रयोग गरी इथानोल मिश्रण गर्ने तयारी गरेको छ । 

पेट्रोलमा इथानोल मिश्रणका लागि ९९.५ प्रतिशत शुद्ध इथानोल आवश्यक  पर्छ । इथानोल प्रशोधन गर्न छुट्टै उपकरण आवश्यक पर्ने निगमले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप