बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

गृहमन्त्रीको ‘काण्ड’मा दुई भाइ दुईतिर

सोमबार, १२ जेठ २०८२, १५ : ०६
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • गृहमन्त्री रमेश लेखकको राजीनामाको विषयमा नेपाली कांग्रेसका नेताहरू विभाजित भएका छन्।
  • डा. शशांक कोइरालाले गृहमन्त्री लेखकको बचाउ गर्दै डा. शेखर कोइराला र अन्य सांसदहरूसँग स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन्।
  • डा. शेखर कोइरालाले भने नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिन हुनुपर्ने बताएका छन्।

काठमाडौँ । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने या नपर्ने भन्ने विषयमा उनकै दल नेपाली कांग्रेसका नेताहरू स्पष्ट रूपमा दुई ध्रुवमा बाँडिएका छन् । 

खासगरी कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइराला र पार्टीभित्र इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइराला फरक–फरक कित्तामा बाँडिएका हुन् । 

पारिवारिक रूपमा दुई भाइका दुई छोरा दुई ध्रुवमा मात्रै देखिएनन्, भाइ (शशांक)ले दाइ (शेखर)लाई गृहमन्त्री लेखकविरुद्ध बोलकै कारण स्पष्टीकरण सोध्ने प्रस्ताव पार्टी सभापतिसमक्ष राखे । सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा शशांकले यस्तो प्रस्ताव राखेका हुन् । 

मोरङका कृष्णप्रसाद कोइरालाका जेठा छोरा विश्वेश्वरप्रसाद कोइरालाका कान्छा छोरा हुन् डा. शशांक । कृष्णप्रसादकै साइला छोरा केशवका छोरा हुन् शेखर । एउटै प्यानल बनाएर पार्टीको १५ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनमा होमिने प्रयास गरिरहेकै वेला दुई भाइबिच फाटो देखिएको हो । 

शशांक गत फागुन १ को बैठकबाट संस्थापनपक्षीय नेता बनेका हुन् । पार्टीभित्र इतर समूहको नेतृत्व गरिरहेका शेखरले गृहमन्त्रीको राजीनामा मागेपछि यी दुई भाइबिच दूरी बढेको निकटस्थहरू बताउँछन् । 

शनिबार विराटनगर विमानस्थलमा शेखरले भनेका थिए, ‘गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ र उनीमाथि छानबिन हुनुपर्छ ।’ त्यस क्रममा उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर आफूमाथि लागेको आरोप छानबिनमा सघाएको उदाहरण दिएका थिए । ‘नैतिकताको हिसाब म क्लिन छु । मैले राजीनामा गरेँ । छानबिन समित बनाउनुस् । गर्नुहोस् तपाईंहरू भने भैहाल्यो नि’, डा. कोइरालाले त्यसक्रममा सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘त्यसले मोरल स्ट्याटस देखिन्छ ।’

डा. शेखरको त्यही अभिव्यक्तिबारे उनीमाथि स्पष्टीकरण सोध्नुपर्ने सोमबारको पदाधिकारी बैठकमा शशांकले माग राखेका हुन् । सभापति देउवा र उनका विश्वासपात्र गृहमन्त्री लेखकको प्रिय बन्न अरू नेताहरूले शेखरबारले खासै टिप्पणी नगर्दा पनि शशांक भने स्पष्टीकरण सोध्नैपर्ने पक्षमा देखिए । 

शेखरलाई मात्रै नभई कांग्रेस सांसदद्वय राजेन्द्र बजगाईं र सुनील शर्मासँग पनि भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री लेखकविरुद्ध बोलेकै कारण स्पष्टीकरण माग गरिनुपर्नेमा थिए शशांक । 

सोमबार बिहानको बैठकपछि सञ्चारकर्मीहरूसँग पार्टीका नेताहरूविरुद्ध लाग्ने जोकोहीसँग स्पष्टीकरण सोध्नुपर्ने आग्रह सभापति देउवासँग आफूले गरेको उनले बताए । ‘गृहमन्त्रीले आज जुन कुरा राख्नुभयो म छर्लङ्ग भएँ । एक इन्च पनि उहाँले गल्ती गर्नुभएको छैन । जति पनि आरोप लागेको छ त्यो बेबुनियादी हो,’ उनले भने, ‘उहाँमाथि लाञ्छना लगाइएको छ, त्यो गलत हो । भोलि उहाँले संसद्मा जवाफ दिनुहुनेछ ।’ 
गृहमन्त्रीको राजीनामा माग्ने पार्टीका नेताहरूलाई बोलाएर सोध्न आफूहरूले सभापतिलाई भनेको उनको भनाइ थियो । ‘आपसमा मुठभेड गरेर कांग्रेसलाई फाइदा हुँदैन । शेखर, सुनिल र राजेन्द्र बजगाईंसँग स्पष्टीकरण सोध्न भनेका छौँ । पार्टीका नेताविरुद्ध नै लाग्ने नेताहरूसँग के कति कारणले भनेको हो, त्यसबारे स्पष्टीकरण लिनै पर्छ,’ उनले अडान कसे । 

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार डा. शशांकले स्पष्टीकरण सोध्नुपर्ने बताएपछि बैठकको अध्यक्षता गरिरहेका सभापति देउवाले हुन्छ/हुन्न केही नभनी मौन बसेका थिए । यसबारे अन्य कुनै पनि नेताहरूले थप धारणा नराखेपछि विषय यत्तिकैमा टुंगिएको थियो । 

शेखरले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएपछि लेखक स्वयंले कुरा गरेको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले बताएका थिए । ‘गृहमन्त्री स्वयंले राजीनामा दिनुपर्छ भन्ने अभिव्यक्ति दिएका नेताहरूसँग कुरा गरेको बैठकमा बताउनुभयो । अभिव्यक्ति दिने नेताहरूले आफूहरूले बोलेको धारणा पार्टीको नभई व्यक्तिगत रहेको बताएका जानकारी गराउनुभयो । पार्टीले गर्ने निर्णय आफूहरूलाई स्वीकार्य हुने पनि नेताहरूले बताएकाले यसबारे थप केही कुरा भएन,’ प्रवक्ता महतले बैठकपछि सञ्चारकर्मीहरूसँग भनेका थिए । 

पाँचथरमा रहेका डा. शेखरले सञ्चारकर्मीहरूले सोधेकाले आरोप लागेपछि छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ भन्ने आफ्नो व्यक्तिगत धारणा रहेको स्पष्टीकरण दिइसकेका छन् ।

कांग्रेस सांसद बगजाईंले आइतबार दलका नेतासमेत रहेका सभापति देउवालाई संसदीय दलमार्फत पत्र पठाउँदै आरोपित गृहमन्त्री लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई बर्खास्त गर्न माग गरेका थिए । 

यो पनि 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप