गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताए। उनले सबै नागरिकको आत्मसम्मान सुरक्षित हुने गणतन्त्रको महत्त्वबारे जोड दिए।
- प्रधानमन्त्रीले गणतन्त्रमा शिक्षा, स्वास्थ्य, र पूर्वाधारमा भएका परिवर्तनको चर्चा गर्दै, सुशासन र पारदर्शितालाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
- ओलीले गणतन्त्र जनताको स्वामित्व भएको र जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म छान्न सक्ने प्रणाली रहेको बताए। उनले गणतन्त्र स्थापनापछिको विकास र उपलब्धिलाई स्मरण गर्दै, यसको महत्त्वबारे प्रकाश पारे।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैँले नेता छनोट गर्न पाउने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरहेको बताएका छन् । गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मसम्मान सुरक्षित रहने गणतान्त्रिक व्यवस्थाको विकल्प अरू हुन नसक्ने बताए ।
गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीले भने, ‘सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रि व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलियो बनाउन लागेका छौँ । समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागिपरेका छौँ ।’
उनले भने, ‘गणतन्त्र कुनै दलको स्वामित्व होइन यसको मालिक जनता हुन् । लोकतान्त्रिक गणतन्त्र ‘जनताका लागि जनताद्वारा जनताको शासन प्रणाली’ हो । यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्छन् । त्यसैले राम्रो वा नराम्रोको उत्तरदायित्व पनि जनताकै हातमा छ ।’
प्रधानमन्त्री ओलीले अहिले जनता आले मतदान गरेर, वडाका सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रूपमा विभिन्न जात÷जाति र समुदायका कम्तीमा ३६ हजार ५७ प्रतिनिधिहरू चुनिने व्यवस्था रहेको स्पष्ट पारे ।
उनले भने, ‘गणतन्त्र आउनुअघि देशको विकासका सूचकाङ्कहरू कहाँ थिए, आज कहाँ पुग्यो । गणतन्त्र आउनुअघि मानव विकास सूचकाङ्क कहाँ थियो, आज कहाँ पुग्यो । राजतन्त्र हुँदाका अढाई सय वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे । राजतन्त्रकालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो, गरिबी कति थियो, कति घट्यो, खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो । जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो । यी सबै उपलब्धि लोकतान्त्रिक गणतन्त्रबाट सम्भव भएको हो ।’
उनले भने, ‘आजको दिन, हाम्रा लागि विशेष दिन हो । वर्षौं लामो सङ्घर्ष, हजारौँ दिदीबहिनी दाजुभाइहरूको बलिदान र हामी सबैको अथक मेहनतबाट २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको दिन । त्यस ऐतिहासिक दिनको सम्झनामा आज हामी गणतन्त्र दिवस मनाइरहेका छौँ । गणतन्त्र– हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ– हजारौँ जनताको बलिदानबाट र त्यागबाट । मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ । हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण दिवसको मूल्य हामीले कहिल्यै बिर्सनु हुँदैन, बिर्सने छैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण