शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

शुक्रबार, १६ जेठ २०८२, ०५ : ५४
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • युएईस्थित नेपाली दूतावासले गणतन्त्र दिवस मनायो। कार्यक्रममा राजदूत, महावाणिज्यदूत र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
  • राजदूत तेजबहादुर क्षेत्रीले शुभकामना व्यक्त गर्दै गणतन्त्रको संस्थागत विकास र दिगो विकासको महत्त्वबारे बोले।
  • महावाणिज्यदूत हरिप्रसाद ओडारीले गणतन्त्रका मूल्य मान्यतालाई आत्मसाथ गर्दै इमान्दार भएर काम गर्नुपर्ने कुरामा जोड दिए।

काठमाडौँ । यूएईस्थित नेपाली राजदूतावास अबुधावीले एक विशेष कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाएको छ ।

समारोहमा राजदूत, दुबईस्थित नेपाली महावाणिज्य दूतावासका  नवनियुक्त महावाणिज्यदूत, राजदूतावास तथा महावाणिज्य दूतावासका कूटनीतिक कर्मचारी र युएईमा रहेका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न पेसा र व्यवसायसँग सम्बन्धित व्यक्तिलगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत तेजबहादुर क्षेत्रीले गणतन्त्र दिवसका अवसरमा युएईलगायत देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरे । राजदूतले नेपाली जनताको ठूलो बलिदानपछि प्राप्त भएको गणतन्त्रको संस्थागत विकास गर्दै मुलुकमा दिगो विकास, शान्ति, समृद्धि तथा सुशासन कायम गर्नु हामी सबैको दायित्व रहेको बताए । 

महावाणिज्यदूत हरिप्रसाद ओडारीले गणतन्त्रका मूल्य र मान्यतालाई आत्मसात् गर्दै सबैले इमान्दार, कर्तव्यनिष्ट र देशप्रेमको भावनाले कार्य गर्न र मुलुकप्रति समर्पित हुन आजको दिनले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरे ।

सो  अवसरमा युएईमा क्रियाशील विभिन्न राजनीतिक दलसँग आबद्ध सङ्घसङ्गठन तथा एनआरएनए एनसीसी युएई, पत्रकार महासङ्घलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले छुट्टाछुट्टै शुभकामना व्यक्त गर्दै नेपाल र नेपालीको समृद्धिका लागि आ–आफ्ना क्षेत्रबाट योगदान गर्नुपर्ने कुरामा जोड दिए । राजदूतावासले गणतन्त्रका दिवसका अवसरमा तीन दिनसम्म साँझ दीपावली गरी मनाउने कार्यक्रम तय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप