शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

अन्डा खाँदा बढ्छ कोलेस्ट्रोल ?

शुक्रबार, १६ जेठ २०८२, १२ : ५१
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • अण्डा प्रोटिनको राम्रो स्रोत हो र यसमा भिटामिन, खनिज र ओमेगा-३ फ्याटी एसिड पनि पाइन्छ ।
  • अण्डामा कोलेस्ट्रोलको मात्रा उच्च भए तापनि स्वास्थ्य विशेषज्ञका अनुसार यसले रगतमा कोलेस्ट्रोलको स्तरमा खासै असर गर्दैन ।
  • अमेरिकन हार्ट एसोसिएसन र हार्वर्ड हेल्थले दिनमा एउटा अण्डा खानु सुरक्षित मानेका छन्, तर उच्च कोलेस्ट्रोल भएका व्यक्तिहरूले सावधानी अपनाउनुपर्छ।

काठमाडौँ । कतिपय मानिसको हरेक दिन ब्रेकफास्टमा अण्डा खाने बानी हुन्छ । अण्डालाई प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ । यही कारणले गर्दा शरीर बनाउने जिम जाने अधिकांश युवाहरू दैनिक रूपमा अण्डा खान रुचाउँछन् । 

अण्डामा प्रोटिन मात्र होइन, कयौँ खाले भिटामिन, खनिज र ओमेगा–३ फ्याटी एसिड पनि पाइन्छ । स्वास्थ्यको लागि यो धेरै तरिकाले फाइदाजनक छ । यद्यपि, अण्डा खाँदा कोलेस्ट्रोल बढ्न सक्छ भनेर धेरैले मान्दछन् । अण्डामा उच्च मात्रामा कोलेस्ट्रोल पाइन्छ । त्यसो भए, के अण्डाले साँच्चै शरीरमा कोलेस्ट्रोलको स्तर बढाउँछ ? के भन्छ तथ्यले ? 

अण्डामा कति कोलेस्ट्रोल हुन्छ । मध्यम आकारको अण्डामा लगभग १८०–२०० मिलीग्राम कोलेस्ट्रोल हुने अनि यो पूर्ण रूपमा अण्डाको पहेँलो भागमा पाइने धेरै अनुसन्धानहरूले देखाएका छन् । यही कारणले गर्दा धेरै मानिसहरूले अण्डाको सेतो भाग मात्र खान्छन् र पहेँलो भाग खाँदैनन् । स्वास्थ्य विज्ञहरूका अनुसार हाम्रो शरीरको रगतमा कोलेस्ट्रोल कलेजोमा उत्पादन हुन्छ र खाद्य पदार्थहरूमा रहेको कोलेस्ट्रोलले धेरै असर गर्दैन । यस्तो अवस्थामा अण्डा खाँदा रगतमा कोलेस्ट्रोलको स्तरमा उल्लेखनीय वृद्धि हुने जोखिम हुँदैन । तैपनि, अण्डा सीमित मात्रामा खानुपर्छ । 

हाम्रो शरीरमा दुई प्रकारको कोलेस्ट्रोल हुन्छ । पहिलो खराब कोलेस्ट्रोल हो । यसलाई कम घनत्वको लिपोप्रोटिन (एलडीएल) भनिन्छ । दोस्रो चाहिँ राम्रो कोलेस्ट्रोल हो, जुन उच्च घनत्वको लिपोप्रोटिन (एचडीएल) हो । धमनीहरूमा जम्मा भएर एलडीएलले रगतको प्रवाहमा अवरोध निम्त्याउन सक्छ । जबकि एचडीएलले शरीरबाट अतिरिक्त कोलेस्ट्रोल हटाउन मद्दत गर्दछ । अण्डा खाँदा एचडीएल अर्थात् राम्रो कोलेस्ट्रोलको स्तर बढ्न सक्छ, जसले मुटु रोगको जोखिम कम गर्न सक्छ । नयाँ अनुसन्धानले देखाएको छ कि अण्डा खाँदा धेरैजसो मानिसहरूको रगतमा कोलेस्ट्रोलमा नकारात्मक असर पर्दैन ।

अमेरिकन हार्ट एसोसिएसन र हार्वर्ड हेल्थले पनि दिनमा एउटा अण्डा खानु सुरक्षित मानेका छन् । यद्यपि, पहिले नै उच्च कोलेस्ट्रोल, मुटु रोग, मधुमेह वा मुटु रोगको पारिवारिक इतिहास भएका व्यक्तिहरूले अण्डा सेवन गर्दा सावधानी अपनाउनु पर्छ । त्यस्ता व्यक्तिहरूले हप्तामा २–३ पटक मात्र अण्डा खानुपर्छ । यसबाहेक, तारेको अण्डा खानु हुन्न । यसले स्याचुरेटेड फ्याटको मात्रा बढाउन सक्छ जसले एलडीएल बढाउँछ । अण्डालाई उसिनेर वा तेल बिना पकाएर खानुहोस् । अण्डा खाँदा धेरै मात्रामा घिउ, बटर वा रातो मासु खानुहुन्न । उच्च कोलेस्ट्रोल भएका बिरामीहरूले डाक्टरसँग परामर्श लिएर मात्र अण्डा खानुपर्छ ।

अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार  पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप