आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

आगामी आर्थिक वर्षको बजेटबारे नाइमा : नीतिगत स्थायित्वको अनुभूति

शुक्रबार, १६ जेठ २०८२, १७ : ३३
शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड ग्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई स्वागत गरेको छ । नाइमाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको बजेट अटो क्षेत्रलाई चलायमान बनाउने गरी आएको भन्दै स्वागत गरेको छ । 

सरकारले इभी लगायत अन्य सवारीसाधनमा करका दर परिवर्तन नगर्नु अटोमोबाइल क्षेत्रका लागि लिएको नीतिगत स्थायित्वको अनुभूति भएको बताएको छ । 

नाइमाले सरकारले ल्याएको बजेटले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकास तथा प्रवर्धनका लागि सकारात्मक प्रबन्ध गरेको दाबी गरेको छ । नाइमाले बजेटले नीतिगत स्थायित्वको अनुभूति गराएको र लगानी विस्तारका लागि प्रोत्साहित गरेको बताएको छ । 

विज्ञप्तिमा भनिएको छ,‘ प्रत्येक वर्ष बजेटमार्फत सवारी साधनमा आकर्षित हुने करका दर परिवर्तन भई व्यवसायमा कायम रहेको अनिश्चितता र व्यवसाय सञ्चालनमा देखिने गरेको अस्थिरतालाई चिर्दै यस वर्ष अटोमोबाइलमा आकर्षित हुने गरेको करका दर तथा नीति यथावत कायम गरिएबाट व्यवसायीहरूमाझ नीतिगत स्थायित्वको अनुभूति भई व्यवसाय विस्तार र प्रवर्द्धनका लागि थप उत्साह सञ्चार भएको छ ।’

सरकारले इभीमा करका दर यथावत राखेको छ। यस्तै चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ्ग उद्योगका लागि उपकरणमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ । तर नाइमाले हाइब्रिड र प्लगइन हाइब्रिड गाडी प्रवर्धनका लागि भने बजेटले प्रोत्साहन नगरेको गुनासो गरेको छ । 

यो व्यवस्थाले स्वदेशमै त्यस्ता मेसिन तथा उपकरण उत्पादन गर्ने उद्योग स्थापना गर्न मद्दत पुग्ने वातावरण तयार भएको नाइमाले बताएको छ । सवारी साधनको प्राविधिक अवस्था जाँच गर्ने सवारी फिटनेस केन्द्र स्थापना गर्ने घोषणाको पनि नाइमाले स्वागत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप