आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

अण्डाको मूल्य बढेपछि किसानलाई राहत

शनिबार, १७ जेठ २०८२, ०६ : ५५
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • लागत मूल्यभन्दा कममा अण्डा बिक्री गरिरहेका किसानले मूल्य वृद्धि हुँदा राहत महसुस गरेका छन्।
  • नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य तोकेको छ, जसअनुसार प्रति क्रेटको मूल्य बढेको छ।
  • गर्मीका कारण अण्डा उत्पादनमा कमी आएको र धेरै किसान विस्थापित भएकाले मूल्य बढ्न गएको हो।

चितवन । लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा मूल्य बढेको हो ।
 
नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य तोक्दै आएको छ । आजदेखि लागू हुनेगरी एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को रू ४८० फार्म मूल्य तोकेको छ । यस्तै ठूलो अण्डा रू ४६५ र मझौला रू ४३५ तोकिएको छ ।
 
यसअघिको भन्दा प्रतिक्रेटमा रू १५ बढेको हो । यो हिसाबले किसानले प्रतिगोटा अण्डाको मूल्य १५ रुपैँया ५ पैसा प्राप्त गरेका छन् । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिगोटा १६ रुपैँया ५६ पैसा पर्न आउँछ । उनले भने, “बढ्दा समेत किसानले लागत मूल्य पाउन सकेका छैनन् । तर पनि मूल्य वृद्धि हुँदा राहत महसुस गरिरहेका छन् ।”
 
पोखरेलले चर्को गर्मीका कारण अण्डा उत्पादनमा २५ प्रतिशतसम्म घटेको बताए । गर्मी मौसममा कुखुराले कम दाना खाने र उत्पादन घटाउने उनले बताए । यससँगै विभिन्न खालका रोगहरू देखा पर्ने गर्दछन् ।
 
पाँच महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले २५ हजार हाराहारीमा झरेको छ । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न नसकेको उनी बताउछन्।
 
अण्डा दिने कुखुरा घट्दा र माग बढ्दा मूल्य क्रमशः बढ्ने देखिन्छ । नेपालमा अण्डा उत्पादन गर्दै आएका ७५ प्रतिशत हाराहारी किसान विस्थापित भइसकेका छन् । ठूला फार्महरू खुलेकाले मागलाई धान्न सकेको पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप