सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

पृथ्वी पथले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्रै सिकाउँछ : प्रधानमन्त्री ओली

शनिबार, १७ जेठ २०८२, १५ : ३३
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहले अरूलाई मास्ने काम गरेको टिप्पणी गरे।
  • ओलीले देशलाई मेलमिलाप र सबै जातजातिलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए, पृथ्वी पथबाट पोखरा मात्र पुगिने बताए।
  • ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै पृथ्वी पथको कुरालाई आलोचना गरे र लोकतन्त्रको महत्वबारे बोले।

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफू बाहेक अरूलाई मास्ने काम गरेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौँमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

उनले पृथ्वी पथले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्रै सिकाउने गरेको बताए । उनले पृथ्वी पथबाट नेपाल अघि बढ्दा पोखरा मात्रै पुग्न सकिने टिप्पणी गरे । उनले अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने समय रहेको बताए ।

आजका लागि आजका आवश्यकताअनुसारका नीति चाहिने समेत उनले बताए । राष्ट्र जोगाउनु र एकताबद्ध बनाउन जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनले १३ औँ सन्तानले राजा हुनका लागि पृथ्वी पथको युक्ति निकालेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय एकता भन्ने बित्तिकै केही केही यस्ता खालका चाटुकारहरू निस्किए अहिले । अहिले आएर यतिबेला पृथ्वी पथ अरे । पृथ्वी पथबाट गयो भने पोखरा पुग्ने त हो नि । त्यही हो क्यार । ढाइ सय वर्षअघिको कुरा ल्याएर देशको विकास ? देशलाई एकताबद्ध बनाउनु छ । पृथ्वी पथले एकताबद्ध ? मारकाट गरेर एकताबद्ध गर्ने ? एकीकरणको कुरा एउटा होला । एकीकरणको समय एउटा होला । एकीकरणका समयमा पृथ्वीनारायण शाहको विचार र बाटो ठिकै थियो होला । अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने बेला हो । लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वी पथको कुरा होइन ।’ 

उनले भने, ‘पृथ्वीनारायणले संविधान भन्ने शब्द सुनेका थिए ? संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वी पथ । कति पुरातनपन्थी हो ? यो पृथ्वी पथ भनेको सुनेपछि अर्काले भन्छ, राजर्षि जनक पथ, यलम्वर पथ, मानदेव पथ, अंशुवर्मा पथ, चल्लपथ, मल्ल पथ । अहिले बहुदलीय जनवादको बाटोबाट अघि बढ्ने कि ढाइ सय वर्ष अगाडिको विचारमा ?  विसे नगरजीको एक सुका खोजेर राष्ट्र बलियो बनाउँछु भन्ने कुराले हुन्छ । त्यतिबेला भयो होला । आज हरेकले उद्यमशीलतामा जान जरुरी छ । हामी उद्यमशीलताका कुरा गरिरहेका छौँ । हामी राष्ट्रका कुरा गर्दैछौँ ।’ 

 

प्रधानमन्त्री ओलीले आजको समय राजा, रजौटा, तानाशाहहरुको समय नभई लोकतन्त्र र लोकतान्त्रीकरणको समय भएको बताए  । ‘पृथ्वीनारायण शाहले आफू बाहेक अरूलाई त मास्ने कुरा गर्थे त । मासेको होइन । अनि पृथ्वीनारायण शाहपछि पनि अनेक रजौटाहरू मासेको होइन । आज त राष्ट्र जोगाउनु र एकताबद्ध बनाउन जरुरी छ । त्यतिबेला मास्नु र एकीकरण गर्नु थियो । अनि उद्देश्य, विचार, समय, परिस्थिति मिल्छ ? १३ औँ सन्तानले राजा हुन युक्ति निकालेको पृथ्वी पथ । राजा हुने युक्ति अहिले पनि । आजको समय राजा, रजौटा, तानाशाहहरुको समय होइन, आज लोकतन्त्र र लोकतान्त्रीकरणको समय हो । हामी त्यतै जाँदैछौँ ’उनले भने । -न्युज एजेन्सी नेपाल

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप