मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
विद्याको चीन भ्रमण

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा चिनियाँ पक्षले के–कस्ता चासो राखे ?

आइतबार, १८ जेठ २०८२, १८ : ००
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको साताव्यापी भ्रमणपछि स्वदेश फर्किने तयारीमा छिन्, जहाँ उनले चिनियाँ नेताहरूसँग भेटघाट गरिन् र विकासका नमुनाहरू अवलोकन गरिन्।
  • भ्रमणमा नेपालका दुई ठूला कम्युनिस्ट पार्टीबीच एकताको सम्भावनाबारे चर्चा भयो, चिनियाँ कम्युनिस्ट पार्टीले यस विषयमा चासो राखेको देखिन्छ।
  • भ्रमणको क्रममा, बीआरआई परियोजनाको कार्यान्वयन र नेपालमा चिनियाँ लगानीको वातावरणबारे चासो व्यक्त गरियो।

चीन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणको उत्तरार्द्धमा छिन् । उनी साताव्यापी चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किनेछिन् ।

पूर्वराष्ट्रपति भण्डारीले भ्रमणका क्रममा चिनियाँ नेताहरूसँग भेटघाट, त्यहाँका विकासका नमूनाहरू अवलोकन गरेकी छन् । दुुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरिसकेकी भण्डारी फेरि सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेको समयमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागको निम्तोमा साताव्यापी भ्रमण कार्यक्रमका साथ चीन आएकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा रहेकै समयमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रचण्डका विदेश मामिलाका सल्लाहकार डा. रुपक सापकोटा पनि चीनकै भ्रमणमा छन् । कतिपयले यी भ्रमणलाई नेपालका दुई ठुला कम्युनिस्ट पार्टीबिच एकताको सम्भावना खोजीका अर्थमा पनि हेर्ने गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले कम्युनिस्ट नेताहरूलाई एकताका बारेमा चासो राख्ने गरेको बताइएको छ । गत वर्ष नेकपा एकीकृत समाजवादीका नेता एर्व पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई चीन भ्रमण गराउँदा होस् वा माओवादीका नेताहरू नारायणकाजी श्रेष्ठ र देव गुरुङ आउँदासमेत एकताको सम्भावनाका बारेमा सीपीसीका नेताहरूले चासो राखेको पाइन्छ ।

गणतन्त्रपछि चीनले नेपालका पार्टीहरूसँग सहकार्य गर्न खोजे पनि भरोसायोग्य दल र पार्टी तय गर्न सकेको छैन । राजतन्त्रसँग बलियो सम्बन्ध बनाएको चीनले एकमात्र भरोसा गर्नसक्ने दल भेटेको छैन । पछिल्लो समय नेपालका सबै दलसँग सहकार्यलाई चीनले अघि बढाएको छ ।

‘नेपालमा वाम एकताको सम्भावना छ,’ चीन भ्रमणमा रहेका माओवादी नेता डा रुपक सापकोटाले भने, ‘चीनले एकपटक पूर्वराष्ट्रपतिमार्फत कम्युनिस्ट एकताको सम्भावना बुझेको हुनसक्छ । राजनीतिमा सम्भावनाहरू हुन्छन् । राजनीतिमा असम्भव भन्ने हुँदैन भनेर हाम्रा नेताहरूले नै भन्दै आएका छन् ।’

एमालेका नेताहरू लिएर गत साता शनिबार राति काठमाडौँबाट चाउना साउदर्न विमानमार्फत चीनको ग्वान्चौ उत्रिए लगत्तै चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले तयार गरेको कार्यकालिका अनुसारको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीको टोली व्यस्त भयो ।

नेपालबाट राजधानी बेइजिङसम्म सिधा विमान नभएकाले गत आइतबार बिहान पूर्वराष्ट्रपति भण्डारीको टोलीलाई ग्वान्चौमा स्वागत गरेर राजधानी बेइजिङ लगिएको थियो । ग्वान्चौमा चिनियाँहरूले स्वागत गर्दा राष्ट्रपति भण्डारीले विगतमा आफ्ना चीन भ्रमणको स्मरण गराउँदै विगतमा मन्त्री, राष्ट्रपतिको पदीय जिम्मेवारीमा भएको वेला चीन आएको स्मरण गरिन् । उनले अहिले आफू नेपाली नागरिकमात्र भएर चीन आएको बताइन् ।

पूर्वराष्ट्रपति हुनुभन्दा पहिले भण्डारी एमालेको उपाध्यक्ष थिइन् । अहिले एमालेकै नेता र वर्तमान सरकारका मन्त्रीसहित साथमा लिएर चीन भ्रमणमा आएकी पूर्वराष्ट्रपति भण्डारीले नागरिकका रूपमा चीन भ्रमणमा आएको भने पनि उनी र उनको साथमा आएको टोलीलाई ‘विशिष्ट’ सम्मानका सात एक सातादेखि चिनियाँ कम्युनिस्ट पार्टीले आतिथ्यता प्रदान गरेको छ ।

पूर्वराष्ट्रपति भण्डारीको टोली आइतबार चीन पुगेपछि सरकारको राजकीय आवास गृह दियालो थाईमा दिनभर आराम गराइएको थियो । सोही साँझ चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको रात्रिभोजमा भ्रमण टोली सहभागी भएको थियो । चीन सरकारले पूर्वराष्ट्रपति भण्डारीलाई विदेशी सरकार प्रमुख सरहको सम्मान र सुरक्षा र आवासगृह उपलब्ध गराएको छ ।

सीपीसी अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियान्चोओ र पूर्वराष्ट्रपति भण्डारीबिचको भेटमा नेता लिउले नेपालमा राजनीतिक स्थिरताका लागि भण्डारीको नेतृत्व र वामपन्थी पार्टीहरू बिचको एकताका लागि चिनियाँहरूको चाहनाका बारेमा प्रस्ट पारेका थिए ।

नेपालको राजनीतिक दलहरूसँग सहकार्य गर्दै आएको चीनले विगतदेखि नै नेपालको राजनीतिक स्थायित्वका लागि वाम पार्टीबिचको एकतामा जोड दिँदै आएको छ ।

बेइजिङबाट भण्डारी टोली मंगलबार कान्सु प्रान्त गएको थियो । कान्सुमा रहँदा टोलीले चिनियाँ नेताहरूसँगको भेटघाट र भ्रमण दुवै प्राथमिकता परेका थिए ।

कान्सुमा आयोजना गरेको आधुनिक विकासमा सभ्यता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भण्डारीले नेपाल–चीनबिच सम्बन्ध विकास तथा सहकार्यमा जोड दिएकी थिइन् । कान्सुमा आयोजित सम्मेलनका क्रममा शनिबार पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चाङसँग भेटवार्ता भएको थियो ।

पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोलीलाई कान्सु क्षेत्रको मरुभूमि क्षेत्रमा चिनियाँहरूले गरेको विकासका नमुना, गरिबी निवारणका प्रयासहरू, नेपालसँग सभ्यता जोडिएका शाक्यमुनी बुद्धसम्बन्धी क्षेत्रहरूको अवलोकन भ्रमण गराइएको थियो ।

1

ग्रेटवालको पश्चिम भूभाग कान्सुसँग जोडिएको क्षेत्रमा समेत भण्डारी टोलीलाई देखाइएको थियो । कान्सु प्रान्तको भ्रमणको उद्देश्य ‘मेहनत गरे के हुँदैन’ भन्ने सन्देश दिन खोजिएको भ्रमण टोलीका एक सदस्यले बताए ।

६० को दशकमा कान्सु क्षेत्रमा रहेको चिनियाँहरूले भोगेका दुःख र अहिले त्यसक्षेत्रमा गरिएको विकास विश्वकै लागि उदाहरणीय बनेको छ । त्यसैले पूर्वराष्ट्रपति भण्डारी र चीनसँग सीमा छोडिएका छिमेक देशका नेताहरूलाई कान्सुको भ्रमण गराएर त्यस क्षेत्रको नमूना विकास देखाइएको हो ।

पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोली आइतबार साँझ कान्सुबाट सिचुवान प्रान्तको राजधानी छेङतु फर्कने कार्यकतालिका छ । सोमबार बिहान सिचुवान एअरको विमानबाट नेपाली टोली स्वदेश फर्कने छ ।

भण्डारीको टोलीमा चीनस्थित नेपाल राजदूत कृष्णप्रसाद ओली बेइजिङस्थित विमानस्थलमा स्वागत गर्ने, बेइजिङमा भएको एउटामात्र सार्वजनिक कार्यक्रमबाहेक अन्य कार्यक्रममा सहभागी भएका छैनन् ।

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षगाँठ मनाइरहेको वेला पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणले चीन नेपालसँगको छिमेकी सम्बन्धलाई सरकार, पार्टी र विकासमा सहकार्य गर्न चाहन्छ भन्ने सन्देश दिन खोजेको छ ।

‘पूर्वराष्ट्रपति भण्डारीको टोलीमा सहभागी नेपाल सरकारका मन्त्री, एमाले पार्टीका विदेश विभाग प्रमुख र पूर्वराष्ट्रपतिलाई चीन भ्रमण गराएर नेपालसँग थप विकास, सहकार्यको चासो देखाएको छ,’ भ्रमण दलका एक सदस्यले भने ।

  • बीआरआई सम्झौता र काममा चासो

चिनियाँहरूको विकासको आधार परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)मा नेपालले सम्झौता गरे पनि कार्यान्वयनमा चासो नदिएको, कार्य सम्पादनमा विलम्ब गरेकोमा चिनियाँहरू असन्तुष्ट देखिन्छन् । पूर्वराष्ट्रपति भण्डारीको भ्रमणमा पनि यस विषयले प्रवेश पाएको छ ।

भण्डारीले कान्सुमा आयोजित समारोहमा भनिन्, ‘बीरआरआई परियोजना नेपालले अघि बढाउनु पर्छ ।’ तर नेपाल सरकार र नेपाली राजनीतिज्ञहरूले चीनमा आउँदा बीरआरआई आवश्यक छ भन्ने सम्बोधन गरे पनि नेपालको त्रिभुवन विमानस्थलपुगेपछि त्यो कुरा बिर्सने गरेको चिनियाँहरूको बुझाइ छ ।

छेन्दुस्थित दक्षिण एसियाली अध्येता मा स्यावले भने, ‘नेपाली नेताहरू चीन भ्रमण आउँदा सम्झौता अनुसार काम गर्नुपर्छ, हुन्छ, गर्नेछौँ भन्छन् तर नेपाल पुगेपछि बिर्सने बानी छ ।’

  • चिनियाँ कम्पनीको गुनासो

नेपालमा काम गरिरहेका चिनियाँ कम्पनीका अधिकारीहरूले नेपालमा विकासका क्षेत्रमा काम गर्न अप्ठ्यारो परेको प्रतिवेदन चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेता र सरकारलाई समेत दिएका छन् ।

पछिल्लो समय नेपालमा चिनियाँ लगानीको वातावरण नभएको गुनासोसहितको प्रतिवेदन बुझाइएको छ । त्यसबारे पनि भण्डारीको भ्रमणका क्रममा चिनियाँहरूले चासो राखेका छन् । चिनियाँहरूले लगानी गरेका ठाउँमा सरकार, स्थानीय सरकार, सरकारी कर्मचारी र नेपाली राजनीतिक दलहरूले असहयोग भएको गुनासो चिनियाँ उच्च तहसम्म पुगेको छ ।

  • चिनियाँ सुरक्षा चासो

पछिल्लो समय नेपालमा चीनका विरुद्ध हुनसक्ने गतिविधिमा चीनले उच्चस्तरमा चासो राख्न थालेको छ । नेपालले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको आश्वासन दिने गरे पनि तिब्बती शरणार्थी मामिलाका गतिविधि नेपालमा बढ्दै गएको, यस वर्ष तिब्बतबाट निर्वासित भएका तिब्बती शरणार्थी गुरु दलाई लामाको ९० जन्मजयन्तीको अवसरमा नेपालमा हुने गतिविधिलाई नेपाल सरकारले चासो दिनुपर्नेबारे सीपीसीका नेताहरूले नेपाली नेताहरूसँग कुरा राखेका छन् ।

  • कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव 

सन् २०२५ नेपाल–चीनबिच कूटनीतिक सम्बन्धको ७० वर्षको अवसरमा चीनले नेपालसँगको भ्रमण आदानप्रदान, नेपाली राजनीतिक दलहरूसँगको सहकार्य र विकास परियोजनामा हातेमाले गर्ने नीति अगाडि सारेको छ । वामपन्थी पार्टीलाई मात्र होइन, सबै दलको प्रतिनिधि, सरकारी कर्मचारी, नागरिक समाज, पत्रकार र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूलाई चीनले अध्ययन भ्रमणका क्रममा निम्तो दिएको छ ।

गत हप्तामात्र सिंहदरबारभित्र रहेका सबै मन्त्रालयका प्रतिनिधित्व हुने गरी ३२ जना सरकारी कर्मचारीलाई चीनको प्रशासनिक कार्यसम्पादनबारे अध्ययन अवलोकन गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप