शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : पाण्डेको निलम्बनदेखि हडताल फिर्तासम्म

मङ्गलबार, २० जेठ २०८२, २२ : ००
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • यस वर्ष गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको भन्दै विपद्को जोखिम बढ्ने चेतावनी दिइएको छ।
  • काठमाडौँ र ललितपुरबाट अनलाइन सट्टेबाजीमा संलग्न १७ जना पक्राउ परेका छन्, जसमा अधिकांश भिजिट भिसामा दुबई गएर फर्किएका व्यक्तिहरू छन्।
  • काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् भने यातायात व्यवसायीले हडताल फिर्ता लिएका छन्।

आज २०८२ जेठ २० गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • वर्षा

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष तीन प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने भएकाले विपद् बढ्ने जोखिम रहेको बताएका छन् । उनले प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको छलफलमा गण्डकी लुम्बिनी र कर्णाली प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने जानकारी दिँदै पूर्वतयारीमा जुट्नुपर्ने बताएका हुन् । 

  • अपराध

काठमाडौँको धापासी र ललितपुरको सनराइज अपार्टमेन्टबाट अनलाइन सट्टेबाजी खेलाएको आरोपमा पक्राउ परेकाहरू अधिकांश भिजिट भिसामा दुबई गएर फर्केकाहरू पाइएको छ । पक्राउ परेका १७ जना मध्ये ११ जना दुबईमा भिजिट भिसामा गएर बेटिङको काम सिकेपछि नेपाल फर्केको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

  • निलम्बन

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । 

  • राइड सेयरिङ नियमावली प्रकरण

यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता लिएका छन् । मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेको हो। 

 

 

  • बजेट

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विदेशमा नेपाली लगानीकर्तालाई लगानी गर्न सशर्त रूपमा खुला गरेको छ । बजेट वक्तव्यको बुँदा नम्बर ८० मा सरकारले वार्षिक निर्यातको एक चौथाइ रकमसम्म विदेशमा लगानी गर्न पाउने कानुनी व्यवस्था गरिने उल्लेख गरेको हो ।

  • भिजिट भिसा प्रकरण

जिल्ला अदालत काठमाडौँले सेटिङमा भिजिट भिसामा विदेश पठाएको आरोपमा मुद्दा दायर भएका अध्यागमन कार्यालयका ९ अधिकृतसहित १९ जनालाई सफाइ दिएको छ । 

  • आयात शुल्क 

 तेल र बोसोजस्ता वस्तुहरूको मुद्रास्फीति नियन्त्रण गर्न भारतले कच्चा तथा प्रशोधित खाने तेलको आयात शुल्क घटाएको छ  । २०२५ अप्रिलमा उपभोक्ता मूल्य सूचकाङ्कअनुसार खाद्यान्न मुद्रास्फीति घटेर १.७८ प्रतिशतमा पुगेकोमा मार्चमा २.६९ प्रतिशत पुग्यो । तर अप्रिल २०२५ मा ‘तेल तथा बोसो’ मा दोहोरो अंकको मुद्रास्फीति देखिएको थियो । 

  • त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले फास्ट ट्र्याकमार्फत उपप्राध्यापक नियुक्तिका लागि कार्यविधि बनाउने गृहकार्य थालेको छ । लिखित परीक्षाविनै पीएचडी गरेको र अन्तर्राष्ट्रिय जनरलमा आर्टिकल प्रकाशित गरेको आधारमा त्रिविले १०० जना उपप्राध्यापक स्थायी नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।

  • बुटवल–गोरुसिङ्गे सडक विस्तार

 माघ ११ गते शिलान्यास भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तारमा ९ प्रतिशत भौतिक प्रगति भएको छ । बुटवल–गोरुसिङ्गे सडक परियोजनाका सूचना अधिकारी राजेन्द्र आचार्यका अनुसार कपिलवस्तु र रुपन्देही गरी दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ ।

  • झोले अभियान

 प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन दिन अगाडि एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘झोले हुनुमा गर्व छ ।’ सोमबार ओलीले आफ्नो फेसबुक पेजमा ‘म झोले हो’ लेखिएको एउटा पोष्टर नै सार्वजनिक गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप