राजतन्त्रको पक्षमा आन्दोलन गर्दा घाइते भएकाहरूको उपचार सरकारले गरोस् : सांसद तामाङ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राजतन्त्र पक्षधरहरूको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आन्दोलनका घाइतेहरूको उपचार सरकारले गर्नुपर्ने बताएका छन् ।
राजतन्त्र पुनः स्थापनका लागि आन्दोलन गर्दा सरकारले दमन गरेर घाइते बनाएको भन्दै उनले आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्योपचार सरकारले गर्नुपर्ने माग गरे । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राजतन्त्रको पुनः स्थापनाका लागि आन्दोलन गर्ने अघिल्लो दिनबाट दिँदै आएको सुरक्षा हटाइएको भन्दै सरकारसँग जवाफ माग गरे ।
सांसद तामाङले भने, ‘हामी यो आन्दोलन गर्नुअघि नेपाल सरकारले सुरक्षाका लागि सुरक्षाकर्मी खटाएको थियो । त्यसलाई पूरै फिर्ता लिएको छ । नियमित सुविधा पनि खोसिएको छ । आन्दोलनका क्रममा घाइते भएका छन् । कसैको हात भाँचिएको छ । टाउको फुटेको छ । उनीहरूको सरकारबाट स्वास्थ्योपचारको व्यवस्था हुनुपर्छ ।’
सांसद तामाङले राजतन्त्र पक्षधर आन्दोलनका क्रममा नेताहरूमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाए ।