सभामुख घिमिरे र राजदूत अब्देलघानीबीच भेटवार्ता
काठमाडौँ। सभामुख देवराज घिमिरेसँग नेपालका लागि जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानीले भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटमा आर्थिक तथा श्रम सम्बन्ध र संसदीय आदानप्रदानबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
भेटमा सभामुख घिमिरेले नेपाल र जोर्डन प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक भएकाले दुवैतर्फबाट पर्यटन विकासको क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको बताए। “नेपाल सगरमाथाको देश भएकाले जोर्डनी नागरिकलाई हिमाल आरोहणका लागि हामी प्रोत्साहित गर्दछौँ”, उनले भने।
सभामुख घिमिरेले सन् २०१७ मा दुई देशबिच द्विपक्षीय श्रम सम्झौता भएपछि जोर्डनमा करिब तीन हजार नेपाली कामदार विशेष गरी महिला कामदार घरेलु काम तथा गार्मेन्ट सेक्टरमा कार्यरत रहेको बताए । “ठुलो सङ्ख्यामा नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकामा जोर्डनी जनता तथा सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु । श्रम आप्रवासनका क्षेत्रमा थप सहकार्य गर्ने सम्भावनाको खोजी गरिनुपर्छ भन्ने मलाई लागेको छ”, उनले भने।
सभामुखले नेपालमा हुने रासायनिक मल अभावका लागि जोर्डनसँग सहकार्य गर्न सकिने उल्लेख गर्दै नेपालको कृषिजन्य उत्पादनलाई आफ्नो मुलुकमा लैजानका लागि सहयोग गर्न राजदूतको ध्यानाकर्षण गराए। उनले हाल नेपाल आर्थिक वृद्धिलाई तीव्र पार्न, दिगो विकास लक्ष्य हासिल गर्दै अल्पविकसित राष्ट्रबाट यथा समयमै स्तरोन्नति सुनिश्चित गर्न क्रियाशील रहेको बताए ।
जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानीले दुई मुलुकबिच अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध वृद्धि गर्ने प्रचुर सम्भावना रहेको बताउँदै त्यसबाट दुवै मुलुकले फाइदा लिन सक्ने बताए । उनले जोर्डनमा नेपाली कामदारलाई आफ्नो मुलुकले पारिश्रमिक र सामाजिक सुरक्षा सम्झौताबमोजिम प्रदान गरिरहेको जानकारी दिए । नेपाल र जोर्डनबिच १९६५ अगस्ट २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकबिचको सम्बन्ध प्रगाढ र सुदृढ रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण