आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीको सुझाव– गल्ती नगर्नु, बिचौलियाबाट बच्नु

आइतबार, २५ जेठ २०८२, १२ : ४०
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डका अध्यक्षलाई बिचौलियाबाट जोगिन, इन्साइडर ट्रेडिङ रोक्न र नियामक भूमिका सशक्त बनाउन सुझाव दिए।
  • बोर्डभित्रको अनियमितता र अध्यक्षमाथि लागेका आरोपबारे टिप्पणी गर्दै, अर्थमन्त्रीले अवाञ्छित गतिविधि रोक्न निर्देशन दिए।
  • अर्थमन्त्रीले पूँजीबजारको विकास र साना लगानीकर्ताको हितलाई ध्यानमा राख्दै नयाँ वित्तीय उपकरण ल्याउन बोर्डलाई आग्रह गरे।

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई बिचौलियाको फन्दामा नपर्न, इन्साइडर ट्रेडिङ रोक्न, नियामकको भूमिका सशक्त बनाउन र नयाँ वित्तीय उपकरणहरू ल्याउन सुझाव दिएका छन् । आइतबार नेपाल धितोपत्र बोर्डको ३३औँ वार्षिकोत्सवमा अर्थमन्त्री पौडेलले पूँजीबजार अर्थतन्त्रको ऐना भएको बताउँदै लगानीकर्ताका लागि ढुक्कले लगानी गर्न सक्ने वातावरण सिर्जना गर्न बोर्डलाई आग्रह गरेका  हुन् ।

हालैका दिनमा बोर्डभित्र अनियमित गतिविधि र अध्यक्ष श्रेष्ठमाथि नै जलविद्युत कम्पनीको आईपीओ स्वीकृतमा पैसा मागेको लगायतका आरोपहरू सार्वजनिक भइरहेका बेला अर्थमन्त्री पौडेलको यो भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनले सार्वजनिक कार्यक्रममै अध्यक्ष श्रेष्ठलाई स्पष्ट शब्दमा ‘बोर्डमा हुने गरेको अवाञ्छित गतिविधि रोक्न’ निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले अध्यक्ष श्रेष्ठलाई बिचौलियाको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न सुझाव दिए । बोर्डलाई प्रभाव र दबाबमा पार्ने धेरै हुने भएकाले त्यसबाट माथि उठेर काम गर्नुपर्ने उनको भनाई थियो । पूँजीबजारमा हुने विभिन्न टीकाटिप्पणी, इन्साइडर ट्रेडिङ र अपारदर्शी कामहरूलाई रोक्न विशेष ध्यान दिन उनले आग्रह गरे । नीतिगत प्रक्रियामा पनि पारदर्शिता अपनाउनुपर्नेमा अर्थमन्त्री पौडेलको जोड थियो।

समय व्यतीत मात्रै नगरी धितोपत्र बोर्डको नियामकिय भूमिका बलियो बनाउनुपर्नेमा अर्थमन्त्रीले जोड दिनुभयो । अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट पूँजीबजारका नियामकसरह सेबोनले पनि आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने उनको धारणा थियो । उनले अध्यक्ष श्रेष्ठलाई ‘हात बाँधेर नबस्न’ र केही काम गरेर देखाउन आग्रह गरे ।

अर्थमन्त्री पौडेलले गल्ती नगर्न र गल्ती गर्नेलाई कारबाही गर्न पछि नहट्न सुझाव दिए । उनले भने, ‘धितोपत्रको भूमिकालाई गुणात्मक रूपमा बढाउन खोजिएको छ, गल्ती गर्न दिनु हुँदैन, गल्ती गर्नेलाई कारबाही गर्न पनि पछाडि हट्नु हुँदैन, राम्रो काम गर्नेलाई प्रोत्साहन पनि गर्नुपर्छ ।’ सबै लगानीकर्ताले ढुक्क भएर काम गर्ने वातावरण बनाउन र पूँजीबजारमा नयाँ उपकरणहरू भित्र्याउन बोर्डले काम गर्नुपर्नेमा उनले जोड दिए ।

अर्थमन्त्री पौडेलले पूँजीबजार अर्थतन्त्रको ऐना भएको बताउँदै यसको माध्यमबाट देशको अर्थतन्त्र सुधार गर्न सकिने बताए । आगामी आर्थिक वर्षको बजेट वक्तव्यबाट पूँजीबजारप्रति सरकारको धारणा स्पष्ट पारिएको र पूँजीबजारको पुनर्संरचनाका लागि विशेष कार्ययोजना सार्वजनिक गरिएको उनको भनाइ छ । नेप्सेको पुनर्संरचना पनि हुने र पूँजीबजारको दिगो विकास सरकारको प्राथमिकता रहेको उनले स्पष्ट पारे । साना लगानीकर्ताको हितलाई विशेष ध्यान दिन पनि उनले बोर्डलाई निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप