खेलाडीले सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्छन् : मन्त्री पौडेल

समाचार सारांश
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले खेलाडीहरू नेपालीका लागि गौरव भएको बताए।
- मन्त्रीले खेलाडीहरूले देशलाई एकताबद्ध बनाउन सक्ने र नागरिकको इज्जत बढाउने बताए।
- मन्त्री पौडेलले खेलाडीको स्वास्थ्य राम्रो बनाउन राज्यले सुविधा दिनुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले खेलाडीहरू सम्पूर्ण नेपालीहरूलाई गौरव दिने पात्र भएको बताएका छन् । काठमाडौँस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा आइतबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरूको स्वास्थ्य परीक्षणका क्रममा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले खेलाडीले गौरव गर्ने गरी सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्ने बताए । उनले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडीहरू खेलेको खेल नेपालीहरूले आँखा नझिम्काई हेर्ने गरेको जिकिर गरे । मन्त्री पौडेलले खेलाडीहरूसँग कुनै नाता तथा निजी सम्बन्ध केही नभए पनि देशको सम्बन्ध रहेको बताउँदै नेपाली खेलाडीहरूले जित्दा आफ्नो इज्जत बढ्छ भन्ने लाग्ने बताए ।
उनले विधिको शासन भएको देशमा मात्रै नागरिकहरू सम्मानित हुने बताउँदै युवालाई विधिवत् ढङ्गबाट प्रतिष्पर्धाको पद्धति अभ्यास गर्न खेलकुदले सिकाउने धारणा राखे । उनले खेलकुदले समाज जोड्ने काम गर्ने बताउँदै राष्ट्रिय एकता समेत प्रस्तुत गर्ने बताए ।
उनले भने, ‘विधिको शासन भएको देशमा मात्रै नागरिकहरू सम्मानित हुन्छन् । आम युवालाई प्रतिस्पर्धाको पद्धति विधिवत् ढङ्गबाट अभ्यास गर्न खेलकुदले सिकाउँछ । समाज जोड्ने काम खेलकुदले गर्छ । राष्ट्रिय एकता प्रस्तुत गर्ने काम खेलकुदले गर्छ । नागरिकलाई एकै ठाउँमा गौरव गर्ने गरी खेलाडीले नागरिकलाई जोड्न सक्नुहुन्छ ।’
उनले भने, ‘नेपालको खेलाडी कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जानुभएको छ र खेलिरहनुभएको छ भने त्या लाइभ अवधि भरी आँखा नझिम्काई हामी नेपालीले हेरिरहेका हुन्छौँ । तपाईंहरूले गोल हान्न लाग्नुभयो भने हामी यहाँ उफ्रिरहेका हुन्छौँ । तपाईंसँग कुनै नाता त पर्दैन, निजी सम्बन्ध त केही छैन तर देशको सम्बन्ध छ । तपाईंले जित्दा मेरो इज्जत बढ्छ भन्ने मलाई लाग्छ । त्यसैले तपाईं त्यो गौरव दिने पात्र हुनुहुन्छ ।’
उनले खेल खेल्नको लागि खेलाडीहरूको स्वास्थ्य राम्रो हुनुपर्ने बताउँदै खेलाडीको स्वास्थ्य राम्रो बनाउन राज्यले सुविधा दिन जरुरी रहेको बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु
-
तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते
-
समर्थन मूल्यमा चैते धान बिक्री नहुँदा किसान निराश
-
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता
-
सी जिनपिङको उदाहरण दिँदै ओलीले भने– ७० वर्ष उमेरहद फेल खाइसक्यो
-
कोलम्बियाली राष्ट्रपति पदका उम्मेदवारमाथि गोली प्रहार