देवता–देवताबिच यौनिकता दर्शाइ पनौतीमा हिलेजात्रा सम्पन्न

समाचार सारांश
- काभ्रेपलाञ्चोकको पनौतीमा तीन दिनसम्म मनाइएको हिलेजात्रा (ज्याःपुन्ही) सम्पन्न भएको छ, जसमा देवताबिच यौनिकता प्रदर्शन गरिएको थियो।
- जात्रामा भद्रकाली, महादेव र इन्द्रेश्वरका रथलाई जुधाएर यौन क्रियाकलाप प्रदर्शन गरिन्छ, जसलाई जात्राको मुख्य आकर्षण मानिन्छ।
- यो जात्रा विशेष गरी यौनिकता प्रदर्शन, रथ जुधाइ र विभिन्न धार्मिक अनुष्ठानका साथ मनाइन्छ, जसमा स्थानीयको ठूलो सहभागिता रहन्छ।
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पनौतीमा देवताबिच यौनिकता प्रदर्शन गरी तीन दिनदेखि मनाइएको हिलेजात्रा (ज्याःपुन्ही) बुधबार राति सम्पन्न भएको छ । जात्राको अन्तिम दिन अर्थात् आज (बुधबार) पूर्णिमामा दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथको भाग दौड गराउने र रथ भेटिँदा यौन क्रियाकलाप दर्शाउन दुई रथलाई एकापसमा जुधाइएको थियो । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रूपमा लिइन्छ । सम्पूर्ण पूजा–अर्चना गरी रथयात्रा सम्पन्न गरी आज राति अबेर चिराग पूजा गरेपछि जात्रा सम्पन्न भएको हो ।
किंवदन्तीअनुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई लखेट्दा एक हजार ४ सय २१ वर्षदेखि मनाइँदै आइएको यो जात्रा विशेष रूपमा सोमबार साँझदेखि करिब ५० मिटर चौडा पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा दुई वटा बाँस तेर्स्याइएको र देवगण (दुइचा न्याकेगू) हरूलाई सुस्तरी तारेपछि सुरु भएको थियो । किंवदन्तीअनुसार महादेव त्रिवेणीमा हामफालेर लुक्दा पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यमा अबिरजात्रा गरी रथ जुधाइने गरिँदै आइएको हो ।
जात्राको अन्तिम दिन आज लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रह्मायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् भन्ने मान्यता रहँदै आएको स्थानीय वृद्ध विकुनारायण ताम्राकारले बताए । उनका अनुसार धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनिकसम्बन्ध प्रस्तुतिका रूपमा लिइएको हो । रथ जुधाउँदा जोस झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गर्ने गर्छन् ।
इन्द्रेश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिले पहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो । विशेषतः कामक्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो, तर पछिल्ला केही वर्षदेखि देवतारूपी रथलाई ठुलो सहभागितामा दिउँसो जुधाउने गरिँदै आइएको हो ।
पनौती जात्रा मूल व्यवस्थापन समितिका अनुसार जात्रा सुरुआतको दिन सोमबार राति १० बजे भद्रकालीको रथ तानेर रातभरि गैँडू पूजा (होम गर्ने) गरिएको थियो । दोस्रो दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामहित पूजाअर्चना गरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबिरजात्रा गरी नगर परिक्रमा गराई साँझ भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिएको थियो ।
स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारका साथ भोज गरेका छन् । भोजका लागि प्रत्येक घरमा बलिदिने प्रथा अझै कायम छ । त्रयोदशीदेखि पूर्णिमासम्म जात्रा मनाएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिन्छ । जात्रा सकिएको दिन र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुने मान्यता रहँदै आएको छ ।
किंवदन्तीअनुसार परापूर्व कालमा यसै समयमा पनौती पारिपट्टिका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकार बताउँछन् । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको ठुलो जात्राका रूपमा लिने गरिएको छ । सोहीअनुसार पनौती नगरपालिकाले मङ्गलबार र बुधबार जात्रा मनाउन सार्वजनिक बिदा दिएको थियो ।
यसैगरी, जात्राको परम्पराअनुसार जात्राका क्रममा विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर स्थानीय कर्माचार्य समुदायका (आचाजु) हरू सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा ‘न्ह्यायकेगू’ भनिन्छ । कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास पनि गरिन्छ ।
धार्मिक आधारमा रथ जुधाउने परम्परालाई यौनिकता प्रस्तुतिका रूपमा लिइने गरिन्छ । रथ जुधाउँदा जोस झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गरेको देख्न पाइन्छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठुलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्ने भएकाले जात्रालाई निरन्तरता दिएको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित
-
तीनकुने घटना: प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश
-
तीनकुने घटना: बीस हजार धरौटीमा छुटे पुष्कर खतिवडा, अन्य काे–काे छुटे ?
-
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश (सूची सहित)
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी