स्थानीय तहका पदाधिकारीहरूले गरेको वैदेशिक भ्रमणको विवरण माग

समाचार सारांश
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई दोस्रो निर्वाचनपछिको विदेश भ्रमणको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
- मन्त्रालयले पदाधिकारी र कर्मचारीहरूको विदेश भ्रमणको विवरण १० दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ।
- पत्रमा विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ अनुसार भ्रमणको विवरण पठाउन भनिएको छ।
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई स्थानीय तहको दोस्रो निर्वाचन पश्चात् पदाधिकारीले गरेको विदेश भ्रमणको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयको विकास सहायता समन्वय शाखाले बुधबारको सचिव स्तरीय निर्णयअनुसार वैदेशिक भ्रमणको विवरण माग गरेको हो ।
‘स्थानीय तहको दोस्रो निर्वाचन भई पदाधिकारीहरूले पदभार सम्हालेको मितिदेखि हालसम्म त्यहाँका पदाधिकारी तथा कर्मचारीहरूको विदेश भ्रमणको विवरण तपसिल बमोजिमको ढाँचामा १० (दश) दिनभित्र उपलब्ध गराइदिनुहुन मिति २०८१/०२को निर्णय (सचिवस्तरीय) अनुसार अनुरोध छ,’ शाखा अधिकृत सञ्जय अधिकारीले ‘वैदेशिक भ्रमणको विवरण उपलब्ध गराइदिने सम्बन्धमा शीर्षकमा लेखेको पत्रमा उल्लेख छ ।
पत्रमा स्थानीय तहका पदाधिकारीहरूको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ तथा स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका २०७५ मा विदेश भ्रमण मनोनयनका आधार, मनोनयन गर्ने अधिकारलगायत विषय उल्लेख रहेकाले त्यसबारेमा पनि ध्यान दिन पत्रमा उल्लेख गरिएको छ ।