आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
किताबका कुरा

‘किताबकै कारण म डेरा सर्न डराउँछु’

शनिबार, ३१ जेठ २०८२, १८ : ३०
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • लेखक सुशान्तले आफ्नो नयाँ पुस्तक 'इतर समीक्षा'बारे प्रतिक्रिया दिँदै, यसले नेपाली बौद्धिक क्षेत्रका कामहरूलाई बुझ्न सघाउने बताए।
  • उनले पढ्ने बानीको विकास र पुस्तकप्रतिको मोहबारे चर्चा गरे, साथै हालै पढेको पुस्तक 'मुन्दुम'को महत्वबारे जानकारी दिए।
  • लेखकले आफ्नो पुस्तक संग्रह, पुस्तकप्रतिको सम्बन्ध, र पाठकलाई के पढ्ने भन्ने बारेमा सुझाव दिए।

उपप्राध्यापक, समीक्षक तथा निबन्धकार गुरुङ सुशान्तको भर्खरै नयाँ किताब बजारमा आएको छ, ‘इतर समीक्षा’ । यस किताबबारे उनी भन्छन्, ‘विगत डेढ–दुई दशकमा नेपाली बौद्धिक जगत्मा भएका मुख्य प्रतिनिधि कामलाई सरसर्ती हेर्न यस पुस्तकले सघाउनेछ भन्ने प्रतिक्रिया समीक्षकहरूले दिनुभएको छ ।’ 

उनै गुरुङ सुशान्तलाई यसपालि हामीले रातोपाटीको ‘किताबका कुरा’ स्तम्भमा निम्त्याएका छौँ । 

१) दिनमा कति समय पढ्नुहुुन्छ ? पढ्नका लागि समयको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

उहिले–उहिले म सानो छँदा घरबारीको काम गर्नुको अल्छीले निरन्तर किताबमा घोप्टिरहन्थेँ र रेडियो सुनिरहन्थेँ । मेरो त्यस्तो पारादेखेपछि आमाबाले पनि ‘पढ्ने हो भने घरको काम गर्नुपर्दैन’ भन्नुभयो । गाउँमा बिजुली नहुँदा पनि रेडियो बजिरहने र किताब पढिरहने जोहो बाले गरिरहनुभयो । लामो समयको उस्तै क्रम र त्यसको निरन्तरतापछि पढ्नु मेरा लागि लतकै रूपमा गढेर बस्यो । 

यसो कहिलेकाहीँ सोचिबस्छु— मैले आजसम्म जानेको काम नै लेखपढ हो । मेरो दैनिकी नै पढ्ने, लेख्ने, पुस्तक सम्पादन गर्ने, अनुसन्धान गर्ने, संगीत सुन्ने र कहिलेकाहीँ सिनेमा हेर्ने हो । बिहान उठेर मोबाइल हेरे पनि लेखहरू नै पढ्छु । दिउँसो कतै जाँदा या कुनै यात्रामा निस्कँदा पनि झोलामा किताब नै राख्छु । मध्यरात सुत्ने बेलामा पनि मोबाइलको ‘बत्ती’ बाल्दै पढेर मात्र सुत्छु । घडी हेरेर पढ्दिनँ । ठुलै काम या अकल्पनीय घटनाको सन्दर्भ परेर पढ्न सकिनँ भने त्यो बेग्लै कुरा भयो । कहिलेकाहीँ काम विशेषले रातदिन पनि पढ्नुपर्छ । कारणवश कुनै दिन एउटा लेख पनि पढ्न पाइनँ भने बिरामी हुन लागेजस्तो अप्ठेरो उदासीले छोप्छ । जसरी कुनै अम्मलीले आफ्नो अम्मल हरहालतमा पूरा गर्छ, त्यसरी नै म पढ्ने मेसो मिलाइहाल्छु । पढ्दाखेरि मलाई आनन्द त आउँछ, त्यसको मूल्यचाहिँ हिजो पनि घरका सदस्यले चुकाउनुपरेको थियो, आज पनि उस्तै हालत छ । लाग्छ, आदत भन्ने कुरा कहिलेकाहीँ घातक पनि हुँदोरहेछ । 

२) हालैका दिनमा पढेको पुस्तक कुन थियो ? कस्तो छ, त्यो पुस्तक ?

दुई वर्षअघि किनेर सरसर्ती हेरेर राखे पनि हालै मात्रै पढेको पुस्तक हो, ‘मुन्दुम’ । अध्येता भोगीराज चाम्लिङद्वारा संकलन, अनुवाद र सम्पादन गरिएको यस पुस्तकका तीन भागमा क्रमशः छन्— सृष्टिकथा, संस्कृति र संस्कार । हजारौँ वर्षदेखि सभ्यता जोगाउँदै ज्ञान हस्तान्तरण गर्दै आएको जीवन्त सांस्कृतिक सम्पदा हो, ‘मुन्दुम’ । किराती समाजले आज पनि श्रद्धा र अभ्यास गर्ने महागाथा ‘मुन्दुम’मा पुर्खाको विराट अनुभव र बौद्धिकताको सघन अभिव्यक्ति पाइन्छ । किरात राईहरूको जीवन पद्धति, संस्कार र संस्कृतिलाई मौखिक परम्परामा आधारित भएर लेखिएको यस किताबले किरात राईको परम्परा मात्रै बोल्दैन, समग्र आदिवासी जनजातिको जीवन दर्शनको एउटा झलक प्रस्तुत गर्छ । इमानसिंह चेम्जोङपछि वैरागी काइँलाले लिम्बु ‘मुन्धुम’ माथि बृहत् कार्य गरेका छन् । पछिल्लो समय अध्येता डीबी आङबुङले पनि लिम्बु ‘मुन्धुम’मा गहन काम गरिरहेका छन् । किरात ‘मुन्दुम’माथि चाहिँ प्राज्ञिक काम गर्ने अगुवामा भोगीराज चाम्लिङ पर्छन् । उनको प्राज्ञिक अगुवाइमा प्रकाशित ११५० पृष्ठको यस किताबले खासगरी लिखित इतिहास नभएका आदिवासीहरूलाई आफ्नो मौखिक इतिहास लेख्न उत्प्रेरित गर्ने विश्वास गरेको छु । यस पुस्तकमा ‘मुन्दुम’लाई चाम्लिङ–नेपाली, खस–नेपाली र अंग्रेजी भाषामा दिइएको छ । किरात राई चाम्लिङ समुदायले पृथ्वी, जीवन र समग्र समाजलाई कसरी हेर्छ, कसरी व्यवहार गर्छ र भावी पुस्तालाई के सन्देश दिन्छ भन्ने ज्ञान परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनको क्षितिजसम्म फैलाउन यस पुस्तकले मद्दत पुग्छ । 

एकपटक मेरा पुस्तकप्रेमी साथीसँग एउटा पुस्तक पसल छिरेको बेला दुर्लभ पुस्तक भेटियो । किताबको मोल देखेपछि जिब्रो निकालियो अनि पीडीएफ पढ्ने संयुक्त निर्णय गरी फर्कियो । त्यसको तीन–चार रातसम्म सपनामा मैले त्यही किताब लगातार देखिरहेपछि ऋण गरेर त्यो किताब किनियो ।

यस पुस्तकले किरात संस्कार र संस्कृति मात्रै नबुझाई हाम्रो इतिहास र बसाइँसराइका प्रक्रियालाई थप खोतल्न सहयोग गर्नेछ । पछिल्लो समय आदिवासी रैथाने ज्ञान परम्परा, मौखिक ज्ञानबारे धेरै अध्येता र सम्बन्धित समुदायका मानिसको पनि रुचि बढ्दो छ । कतिपय आदिवासी जनजाति संस्कृतिकर्मीहरू आफ्नो ज्ञानलाई अभिलेखीकरण गर्न अग्रसर देखिन्छन् । कतिपय सन्दर्भमा अध्ययनविधिको भेउ नपाएर ‘कुहिरोको काग’ भएका छन् । यस परिप्रेक्ष्यमा यो पुस्तक संस्कृति अध्ययन र मानवशास्त्रीय खोजमा गतिलो मार्गदर्शक र खुराक हुन सक्छ । यस अर्थमा पनि यो पुस्तकको महत्ता उच्च छ । 

३) तपाईंका लागि किताब के हो ? किताबसँग यहाँको साइनो कसरी जोडियो ?

मजस्तो अल्छी र अप्ठेरो मान्छेका लागि सुखदुःखको साथी पनि हो, किताब । दिमागमा गाँठो परेको बेला संवाद गर्ने साथी पनि हो, किताब । यथार्थसँग दिक्क लागेको बेला कल्पनाको विराटता दिने भरलाग्दो माध्यम हो, किताब । प्रेमपत्र लेख्न सिकाउनेदेखि राजनीति र समाजलाई ऐतिहासिक ढंगले बुझ्न मद्दत गर्ने हितैषी हो, पुस्तक । देशदेशावर डुल्ने हुत्ती नभएको मजस्तो मनुवालाई यात्रा–भ्रमण गराउने पथप्रदर्शक पनि हो, पुस्तक ।

भनिन्छ, अल्छीहरूले कम काम गर्ने जुक्तिहरू खोज्दाखोज्दै नयाँ–नयाँ आविष्कार गर्न सक्छन् रे । म पनि काम नगर्ने उपायहरू छामछुम गर्दै गर्दा अचानक हात परेको आविष्कार हो, पुस्तक । पुस्तक अब मेरो साथी हो, जोसँग कहिले वादमा हातेमालो गर्छु, कहिले विवाद गर्न रुचाउँछु र कहिले मिलनविन्दुको खोजीमा संवाद गर्छु । सँगै हाँस्छु, सँगै रुन्छु र सँगसँगै आनन्दित हुन्छु । किताबबाटै सुनिरहेको छु, अब किताबबाटै बिस्तारै भन्दै जानेछु भन्ने मनसुवा छ । 

४) तपाईंको व्यक्तिगत लाइब्रेरीमा कति किताब छन् ? कुन विधाका पुस्तक बढी छन् र किताब किन्नका लागि मासिक कति खर्च गर्नुहुन्छ ?

परिवारका सदस्यहरूको मेरो बारेमा एउटै भनाइ छ, ‘अरु कुरामा पैसा खर्च गर्न आनाकानी गर्ने तर किताबका लागि ऋणै गर्न पनि नडराउने ।’ यस टिप्पणीलाई खण्डन गर्ने मसँग बलियो आधार छैन । खास भन्ने हो भने घरका खर्च कटौती गरेर पनि म पुस्तकमै लगानी गर्छु । लत र कुलतमा सीमारेखा कति हुन्छ, यसै भन्न सक्दिनँ । मेरो पुस्तकमोह यति डरलाग्दो छ कि एकपटक मेरा पुस्तकप्रेमी साथीसँग एउटा पुस्तक पसल छिरेको बेला दुर्लभ पुस्तक भेटियो । किताबको मोल देखेपछि जिब्रो निकालियो अनि पीडीएफ पढ्ने संयुक्त निर्णय गरी फर्कियो । त्यसको तीन–चार रातसम्म सपनामा मैले त्यही किताब लगातार देखिरहेपछि ऋण गरेर त्यो किताब किनियो । सबै किताब किन्न सम्भवै हुँदैन । मसँग कतिपय उपहारमा आएका किताब छन्, कति मागेका पनि छन् । कति त समीक्षार्थ आएका छन् । खासगरी अंग्रेजी र हिन्दी किताबहरू महँगा हुन्छन् । दुर्लभ किताब त नेपालमै पनि डलरमा मोलमोलाइ हुन्छ ।

मसँग ठ्याक्कै यति किताब छ भनी बोल्न सक्दिनँ तर किताबकै कारण म डेरा सर्न डराउँछु । चौध दिनमै डेरा सर्ने साथीहरू चौध वर्षदेखि म एउटै डेरामा बसेको देखेर छक्क पर्छन् । म डेरा सरेँ भने मेरो एक महिना त किताब मिलाउँदा–मिलाउँदै बित्नेछ । जिस्केर भन्छु, घरबेटीले ननिकालेसम्म यहीँ बस्ने हो ।

स्वाभाविक रूपमा मसँग साहित्य र साहित्य सिद्धान्तका किताब धेरै छन् । पछिल्लो १२–१५ वर्षयता नेपालका जाति, इतिहास र संस्कृतिसम्बन्धी पुस्तक धेरै छन् । मसँग ठ्याक्कै यति किताब छ भनी बोल्न सक्दिनँ तर किताबकै कारण म डेरा सर्न डराउँछु । चौध दिनमै डेरा सर्ने साथीहरू चौध वर्षदेखि म एउटै डेरामा बसेको देखेर छक्क पर्छन् । म डेरा सरेँ भने मेरो एक महिना त किताब मिलाउँदा–मिलाउँदै बित्नेछ । जिस्केर भन्छु, घरबेटीले ननिकालेसम्म यहीँ बस्ने हो ।

किताबबारे राम्रो जानकार एक भाइले केही समयअघि भनेको थियो, ‘दाइ, तपाईंसँग ३५ देखि ४० लाख रुपैयाँ बराबरको किताब छन् ।’  मैले पत्याएको छैन उसको कुरा । 

५) तपाईंलाई मन परेको कुनै एक विदेशी पुस्तक कुन होला ? किन मन पर्‍यो ?

सिमोन स्ट्रिकल्यान्डकृत ‘मेटिरियल्स फर द स्टडी अफ गुरुङ प्ये’ मलाई मनपर्ने विदेशी पुस्तक हो । हार्वर्ड युनिभर्सिटीको साउथ एसियन स्टडिज विभागले छापेको १६७५ पृष्ठको यस मोटो पुस्तकमा गुरुङ समुदायको मौखिकशास्त्र ‘प्ये’ लाई अंग्रेजीमा अनुवाद गरिएको छ । तमु आदिवासीले आफ्नो जीवन पद्धति, दर्शन, सामाजिक मान्यता, सांस्कृतिक संस्कार र अभ्यासलाई ‘प्ये’मार्फत भन्दै आएको छ । लिखित इतिहासको वर्चस्वका कारण मौखिक ज्ञान परम्परा र मौखिक इतिहास सीमान्तकृत हुँदै गएको र गुरुङ ‘प्ये’ सम्बन्धी गहन काम नेपालभित्रै हुन नसकेको परिप्रेक्ष्यमा यस किताबले ठुलो रिक्ततालाई केही परिपूर्ति गरेको छ । यस किताबले नेपालभित्रै बृहत् फलकमा काम गर्न तमु मानवशास्त्रीहरूलाई प्रेरणा दिन्छ भन्ने अपेक्षा गर्न सकिन्छ । 

६) तपाईंलाई मन परेका कम्तीमा पाँच नेपाली किताब कुन कुन हुन् र मन पर्नुको कारण !

गुरुङहरूको प्राचीन इतिहास, विश्वासपद्धति र जीवनदर्शनलाई निकै सार्थक ढंगले आख्यानीकरण गरिएको कारण तीर्थ गुरुङकृत ‘हिउँको गीत’ उपन्यास; आफैँप्रति निर्मम हुँदै नयाँ भाषाशैली र शिल्पसहित लेखिएकाले कुमार नगरकोटीकृत ‘अक्षरगन्ज’ निबन्ध; विचार र भाषाको बेजोड संयोजनका कारण गोविन्द वर्तमानकृत ‘हरियो साइकल’; प्रस्ट आदिवासी सौन्दर्यलाई परिपाकपूर्ण भाषामा लेखिएकाले भूपाल राईकृत ‘शब्द सायारेम’; राणाकालीन समाजलाई आलोचनात्मक ढंगले बलियो चित्रण गरिएकाले नारायण ढकालकृत ‘प्रेतकल्प’; लिच्छविकालीन समाज बुझाउँदै इतिहासको क्षेत्रमा ‘मास्टरपिस’ काम गरिएको कारण धनवज्र वज्राचार्यकृत ‘लिच्छविकालका अभिलेख’ र नेपाली समाज, भूगोल र राजनीतिक विषयलाई वैचारिक कोणसहित तथ्यपरक र आकर्षक भाषामा लेखिएका कारण हर्क गुरुङकृत ‘विषय विविध’ गैरआख्यान मलाई मन पर्छन् । 

गाउँघरमा मानिसहरूले हजारौँ वर्षदेखि आ–आफ्नो सभ्यतालाई जोगाइल्याएको हुनाले उनीहरूसँग भएका ज्ञानलाई पुस्तकका अक्षरसँग जोडेर अवमूल्यन गर्न हुँदैन । गाउँघरमा त मजस्तो उछिट्टिएर आउने अल्छीहरूले झुक्किएर किताब पढ्ने हुन् ।

७) जीवनमा तपाईंले कुनै पुस्तक चोर्नुभएको छ कि ? तपाईंको जिन्दगीमा पुस्तक हराएका वा चोरी भएका घटना छन् कि ?

यादको झ्यालढोका नै ढकढकाउने गरी किताब चोरेका घटना छैनन् । उहिल्यै विद्यार्थीकालमा साथीहरूसँग मिलेर पुस्तकालयमा कुनै उटपट्याङ गरेको भए त्यसलाई प्रागैतिहासिक मानेर इतिहासकालमा बिर्सिदिनु श्रेयस्कर हुन्छ । नकारात्मक ‘प्रेरणा’ दिने कुरा उत्खनन गर्नु गतिलो कुरा होइन । रोचक कुरा के छ भने कुनै दुर्लभ तर महत्त्वपूर्ण किताब सापटी दिने व्यक्तिले त्यो किताब बिर्सिदिए हुन्थ्यो या फिर्ता चाहिँदैन भनिदिए हुन्थ्यो भन्ने अहिले पनि लागिरहन्छ । 

कोरेर पढ्ने बानी भएकाले सकेसम्म किनेरै पढ्न रुचाउँछु । किताब फिर्ता कमै आउने, आफ्नै किताबका लागि अनेकौँ अनुनय गर्दागर्दा आइहाले पनि सद्दे नआउने भएकाले हत्तपत्त किताब दिन मन लाग्दैन । कहिलेकाहीँ दिनैपर्ने खण्ड आइलाग्छ । 

मेरो संकलनबाट कसैले चोरेको पत्तो पाइएको छैन । कसैले खुसुक्क लगेको भए पनि ती साथीहरू नै हुन् । शंका लागे पनि साथित्वको मर्मलाई ख्याल गरेर नाम सार्वजनिक गर्न सक्दिनँ । किताब हराउने त भइरहन्छ । घरमा चारजना मिलेर एक हप्ता खोज्दा पनि नभेटेपछि पसलबाट अर्को प्रति पुस्तक किन्छु । समीक्षा–समालोचना लेख्दाको दुःख कस्तो हुन्छ भने कहिलेकाहीँ एक वाक्य उद्धरण गर्न समेत किताबका चाङचाङ भत्काउनुपर्छ । अर्को दुःखको कुरा— कहिलेकाहीँ साथीहरूले कुनै किताबलाई लाने नजरले हेर्छन् । समालोचनामा कहाँ, कतिखेर, कुन पृष्ठसंख्या र प्रकाशन मितिसहित उल्लेख गरेर लेख्नुपर्ने हुन्छ भन्ने थाहै हुन्न । त्यसैले सिर्जनाका अरु विधाका लेखकले जस्तो एउटा किताब एकपटक पढेर थन्काउने भन्ने हामीमा लागु हुँदैन । अझ विश्वविद्यालयीय अनुसन्धानवाला लेखमा त किताबहरू बारम्बार चाहिन्छन् तर मजस्तो अव्यवस्थित डेरावासीको दुःख यस्तो हुन्छ कि एउटै किताब एकै दिनमा पटकपटक हराउँछ । यस्तो दिनमा कोही साथी डेरामा आयो भने ऊ शंकाको घेरामा पर्न सक्छ । खोजिएको किताबको खास प्रयोजन पूरा भएपछि कुनै दिन त्यही किताब सजिलै भेटिने ठाउँमा देखा पर्न सक्छ । त्यसैले किताब हराइरहेको हो कि किताब र मेरो लुकामारी चलेको हो, यसै भन्न मुस्किल छ । 

८) आफूले खोजेको तर नभेटेको वा मुस्किलले भेटेको पुस्तक कुन थियो अनि कसरी प्राप्त गर्नुुभयो ?

काठमाडौँमा पाइने किताब त यसो किताब पसलमा फोन गरेरै पनि पत्ता लगाउँछु । यता नपाउने किताबचाहिँ विदेशमा रहनु हुने साथी, आफन्ती र शुभचिन्तकसँग हारगुहार गर्छु । हारगुहारबाट मेरो संकलनमा आएका पुस्तक थुप्रै छन् । केही प्रतिनिधिमूलक तथा महत्त्वपूर्ण किताब र पठाउने सहयोगीहरूको नाम लिनु सान्दर्भिक होला । अमेरिकाबाट मनु लोहोरुङ राईले ‘द गुरुङ अफ नेपाल’ र ‘इन्डिजिनियस एस्थेटिक्स’, अनु गुरुङले ‘नेप्लिज् सिजन्स रेन एन्ड रिचुअल’, विवश बेनामले ‘इथ्निसिटी’, कृष्ण कुसुमले ‘स्विटेब्ली मोडर्न’, बेलायतबाट काङमाङ नरेश राईले ‘ग्राउन्डिङ नलेज/वाकिङ ल्यान्ड’, ‘फ्रग हिम्स एन्ड रेन बेबिज’ र ‘मेटिरियल्स फर द स्टडी अफ गुरुङ प्ये’, दीपा लिम्बु राईले ‘द सोसल वर्ड अफ द गुरुङ्स’, क्यानडाबाट ईश्वरी रानाले ‘इथ्नोलिङ्ग्विस्टिक प्रिहिस्ट्री’ पठाउनुभएकैले मेरो अध्ययनमा धेरै सहजता भएको सम्झन्छु । उहाँहरू अधिकांश लेखन क्षेत्रकै हुनुहुन्छ र मेरो किताबी मोहबाट परिचित भएकै कारण उहाँहरूले आफ्नो महत्त्वपूर्ण समय, श्रम र डलर खर्चेर किताब पठाउनुभयो । विदेशदेखि नेपालसम्म किताब पढाउनुको हैरानी अर्कै हुँदोरहेछ भन्ने बुझ्दै छु । मैले लामो समयदेखि खोजिरहेको बनार्ड पिनेकृत ‘द गुरुङ्स’ नामक किताब काठमाडौँबाटै अध्येता डीबी कुलुङले मलाई जन्मदिनको उपहार दिनुभएको सम्झन्छु । यो दुर्लभ किताब देशविदेश हल्लै गरेर खोज्दा पनि हात पार्न सकेको थिइनँ । यो किताब हात पर्दाको क्षण मेरो खुसीको सीमा थिएन ।

यी किताबका नामले पनि मेरो पछिल्लो समयको अध्ययन–क्षेत्र बोल्छन् । 

तपाईं तास खेल्नुहुन्छ भने पनि तासको इतिहास र अर्थराजनीतिबारे पढ्नुस्, त्यसले तपाईं के गर्दै हुनुहुन्छ भन्ने बोध गराउँछ र सम्भवतः मज्जा पनि दिन्छ ।

९) यहाँले पहिलोपटक पढेको ठुलो आकारको पुस्तक कुन थियो ? त्यसबाट के पाउनुभयो ?

ठ्याक्कै याद नभए पनि पहिलोपटक पढेको ठुलो आकारको किताब सम्भवतः ‘महाभारत’ हुनुपर्छ । भागभागमा विभक्त भएका कारण पृष्ठसंख्या अहिले यादमा छैन । पछिल्लो समय पढेको ठुलो आकारको एउटै सिंगो किताब भने याद छ, ‘याक्थुङ साम्जिक मुन्धुम’ । डीबी आङबुङद्वारा सम्पादन र अनुवाद गरिएको २०७५ पृष्ठको यस ग्रन्थले लिम्बु जातिको जन्मदेखि मृत्युपर्यन्तका सांस्कृतिक, सामाजिक, धार्मिक संस्कार र अनुष्ठानको बारेमा बोल्छ । लिम्बु समाजको जीवनपद्धतिदेखि समग्र दर्शनशास्त्र समेटिएको यो ऐतिहासिक ग्रन्थ आदिवासी समाजलाई बुझ्ने एउटा गहकिलो माध्यम पनि हो । 

१०) तपाईंको सोचलाई नै बदल्न सफल कुनै पुस्तक छन् कि ?

मेरो सोच बदल्ने किताबहरूको नाम झट्ट सम्झँदा तीन किताब सम्झन्छु । पहिलो हो, चाल्र्स डार्विनको ‘द ओरिजिन अफ स्पिसिज’ । डार्विनले प्रजातिहरूको उद्भव र क्रमिक विकासलाई खोज गरेकै कारण विश्वभर उनको प्रशंसा र आलोचना दुवै हुने गरेका छन् । यो पृथ्वी र प्राणी जगत् ईश्वरीय रचना हो भन्ने पुरातन धारणालाई वैज्ञानिक अनुसन्धानका आधारमा खण्डन गर्दै संसारमा उद्विकासको नयाँ अवधारणा अघि सार्ने यस किताबले मेरो सोचलाई रहस्यवादको घेराबाट बाहिर निकाल्न मद्दत गर्‍यो जस्तो लाग्छ । दोस्रो किताब हो, कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सकृत ‘द कम्युनिस्ट मेनिफेस्टो’ । यस किताबको अध्ययनले हाम्रो वर्तमान र भविष्य कुनै ‘भगवान्’ को हातमा नभई राजनीतिक संरचनाका आधारमा तय हुने कुरालाई नजिकबाट बुझ्ने मौका पाएँ । खासगरी आजसम्मको मानव इतिहास वर्गसंघर्षबाट अघि बढेको बताउने यो सानो किताबले बुर्जुवा र सर्वहारा वर्गका साथै समाजवाद र साम्यवादका बारेमा विश्लेषण गरेकै कारण पनि समाजलाई बुझ्न मलाई ठुलो मद्दत पुग्यो । तेस्रो किताब हो, पाउलो फ्रेरेकृत ‘पेडागोजी अफ अप्रेस्ड’ । आफू पनि शिक्षण पेसामा आबद्ध भएको नाताले यो किताब पढेको थिएँ । यस किताबले शिक्षण र विचारप्रतिको मेरो पुरानो धारणा नै भत्काइदियो । समाज र राजनीति वर्गीय भएजस्तै शिक्षा पनि वर्गीय हुने र पाठ्यपुस्तककै माध्यमबाट शासकले तटस्थ शिक्षाको नाममा अर्को प्रकारको राजनीति गर्ने यथार्थलाई सैद्धान्तिक कोणबाट व्याख्या गरिएको छ । बैंक खातामा एकोहोरो रकम जम्मा गरेजस्तो विद्यार्थीको दिमागमा पनि सरकारी पाठ्यक्रम र पुरातन शिक्षण पद्धतिबाट एकतर्फी उस्तै खाले सूचना र धारणा जम्मा गर्ने जुन प्रणाली छ, त्यसका विपरीत विद्यार्थीलाई आलोचनात्मक र सिर्जनात्मक रूपमा सक्रिय बनाउँदै शिक्षा दिने पद्धतिको पक्षमा यस किताबले पैरवी गर्दछ । यस किताबले शिक्षालाई उत्पीडितको पक्षमा प्रयोग गर्न सकिने कुरालाई गम्भीर ढंगले मेरो सोचमा घुसाइदिएकै हो ।

११) तपाईंलाई सबैभन्दा बढी प्रभाव पारेका कुनै पाँच विदेशी लेखकका पुस्तकको नाम लिनुपर्दा !

चिनुवा अचिवे लिखित ‘थिङ्स फल अपार्ट’, गाब्रियल गार्सिया मार्खेजकृत ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’, आन्द्रे होफरकृत ‘द कास्ट हाइरार्की एन्ड द स्टेट इन नेपाल’, एडवर्ड सइदकृत ‘रिफ्लेक्सन्स अन एक्जाइल’ र अरुन्धती रोयकृत ‘द डक्टर एन्ड द सेन्ट’ ।

१२) आख्यान र गैरआख्यानमध्ये कुन विधाका पुस्तक बढी पढ्न रुचाउनुहुन्छ, किन ? 

स्वभावैले मान्छे आख्यानप्रेमी हुन्छ । हिजो अक्षरको विकास नहुँदा पनि मान्छेले कथा सुनेरै कल्पनाको विराटता र ज्ञानको गहिराइ हस्तान्तरण गथ्र्यो । मैले पनि पुस्तक पठनको सुरुआतमा उपन्यासबाटै बानी पारेको हुँ । त्यसैले आख्यानमा रुचि हुनु स्वाभाविक भइहाल्यो । आख्यानमा आनन्द छ तर जीवनमा आनन्दसँगैसँगै ज्ञानको जरुरी छ । अपवादबाहेक ज्ञानका स्रोतचाहिँ आख्यानमा भन्दा गैरआख्यानमा धेरै देख्छु । आख्यानमा समाजमा भएका यथार्थलाई सर्जकले कल्पनाको सहाराले अर्को दुनियाँ निर्माण गरेको हुन्छ । 

इतिहासजस्तो गैरआख्यानमा तथ्य र व्याख्या पाउन सक्छौँ भने संस्कृतिमा विश्वास प्रक्रिया र इतिहासको घुमाउरो अभिव्यक्तिका साथै समाज–दर्शन पाउँछौँ । त्यसैले साहित्यको अध्येता हुँदाहुँदै पनि पछिल्लो समय इतिहास र संस्कृतितिर मेरो अध्ययन मोडिएको छ । 

१३) यहाँलाई कुन कुराले लेख्नलाई बढी प्रेरित गर्छ ?

प्राविधिक बाध्यताबाहेक लेख्न प्रेरित गर्ने कुरा त विषय नै हो । कुनै विषयबारे पढ्दा वा घोत्लिँदा त्यसबारे अलि बृहत् विमर्श होस् भन्ने चाहनाले लेख्न प्रेरित गर्छ । सुरुसुरुमा सायद परिचयको भोकले लेख्न घचघच्यायो होला । लेखनमा समय बित्दै जाँदा अचेल कमसल लेखिएला भन्ने डरले मनमा डेरा जमाउँछ । त्यसैले विषय र कर्तव्यबोधले लेख्न उत्साहित हुन्छु ।

१४) नेपालको पठन संस्कृति कस्तो पाउनुहुन्छ ? आजका पाठकलाई के सुझाव दिन चाहनुहुन्छ ?

हाम्रै वरपर टोलछिमेकमा कतिवटा पुस्तक पसल र पुस्तकालय छन् ? यस प्रश्नको उत्तर हामीले नढाँटीकन दिने हो भने पठनले संस्कृतिकै रूप लिइसकेको हो वा होइन भन्नेबारे प्रस्ट भइहाल्छौँ । सहरी क्षेत्रमा केही मानिसले किताब पढ्नमा रुचि देखाउन थालेका छन् । यो मिठो कुरा हो । उनीहरूका घरमा गएर पुस्तकका लागि कति ‘स्पेस’ र बजेट छुट्याइएको छ भनेर हेर्ने भने उति उत्साजनक परिदृश्य पाउँदैनौँ । अधिकांश ग्रामीण भेगमा त साक्षरताको कमी र शारीरिक श्रमको चेपुवामा परेर पुस्तक पठन एकादेशको कथाजस्तै हुन्छ । 

गाउँघरमा मानिसहरूले हजारौँ वर्षदेखि आ–आफ्नो सभ्यतालाई जोगाइल्याएको हुनाले उनीहरूसँग भएका ज्ञानलाई पुस्तकका अक्षरसँग जोडेर अवमूल्यन गर्न हुँदैन । गाउँघरमा त मजस्तो उछिट्टिएर आउने अल्छीहरूले झुक्किएर किताब पढ्ने हुन् । त्यसैले साक्षरता दर, जनसांख्यिक अनुपातमा बर्सेनि हुने एसईई उत्तीर्णको संख्या, पुस्तक पसल, पुस्तकालय र हाम्रा घरहरूमा पुस्तकलाई गरिने व्यवहार हेरेर पठन संस्कृतिबारे आकलन गर्न सकिन्छ । यसबारे मैले थप बोल्नुनपर्ला ।

आजका पाठकलाई दिनुपर्ने सुझाव के छ भने आफूलाई रुचि भएको विषयमा मिहिनेतपूर्वक पढ्नुस् । जुनसुकै विषयमा पनि पढेर हात हाल्नु राम्रो । तपाईं तास खेल्नुहुन्छ भने पनि तासको इतिहास र अर्थराजनीतिबारे पढ्नुस्, त्यसले तपाईं के गर्दै हुनुहुन्छ भन्ने बोध गराउँछ र सम्भवतः मज्जा पनि दिन्छ ।

मुख्य कुरा, पढ्दाखेरि आफू बसेको समाज बुझ्ने गरी पढनुस् । त्यसका लागि इतिहास, संस्कृति, मानवशास्त्र, समाजशास्त्र, राजनीतिका भित्री कुरा बुझाउने किताब पढ्नुस्; चाहे त्यो जुनसकै विधा होस् । मेरो अनुभवले के भन्छ भने जस्तो पायो, त्यस्तै किताब पढेर समय खेर नफाल्नुस् । वैचारिक अन्धता र अहंकार बढाउने किताबबिच अल्झिनुभन्दा साना नानीहरूसँग अन्ताक्षरी खेल्नु बेस । दशवटा झुर किताब पढ्नुभन्दा दश दशकउन्मुख आमाहरूसँग ‘उहिलेका कुरा’ दश घण्टा सुन्नु कहाँ हो कहाँ बेस ।

त्यसैले पढ्ने भन्ने कुरा मात्रै मुख्य होइन, के पढ्ने भन्ने कुरा महत्त्वपूर्ण हो । 

१५) भर्खरै तपाईंको ‘इतर समीक्षा’ बजारमा आएको छ । पाठक र समीक्षकको प्रतिक्रिया कस्तो पाउनु हुँदै छ ?

‘इतर समीक्षा’ मेरा समीक्षाहरूको प्रतिनिधि सँगालो भएकाले मलाई प्रायः पढिरहनेहरूले नै फेरि एकमुष्ट पढेर प्रतिक्रिया दिइरहनुभएको छ । पाठकहरूले यस्तो पुस्तकको खाँचो थियो, यसले एक हदसम्म बहस उठाउन मद्दत गर्नेछ भन्ने प्रतिक्रिया दिइरहनुभएको छ । विगत डेढ–दुई दशकमा नेपाली बौद्धिक जगत्मा भएका मुख्य प्रतिनिधि कामलाई सरसर्ती हेर्न यस पुस्तकले सघाउनेछ भन्ने प्रतिक्रिया समीक्षकहरूले दिनुभएको छ । धेरै पाठकहरूले चाहिँ नजिकका पुस्तक पसलमा यो किताब पाइएन भन्ने गुनासोसहित म्यासेज र फोन गरिरहनुभएको छ । प्रकाशकलाई यसबारे खबर गरेको छु । भर्खरै सार्वजनिक भएका कारण खास प्रतिक्रिया बिस्तारै आउनेछन् भन्ने लाग्छ ।

मैले चाहिँ आफैँलाई समीक्षा गर्दै पढ्दै छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप