नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’

समाचार सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी जनतालाई सम्बोधन गर्दै भिडियो सार्वजनिक गरे।
- भिडियोमा उनले अमेरिकाको समर्थनको अपिल गर्दै, इजरायली सेनाको मध्यपूर्वमा स्वतन्त्रता रक्षाको कुरा गरे।
- नेतन्याहूले इरानलाई 'तानासाही' शासनको रूपमा चित्रण गर्दै, इजरायलले कारबाही नगरेको भए इरानले आणविक हतियार बनाउने दाबी गरे।
काठमाडौँ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक नयाँ भिडियो सार्वजनिक गर्दै ‘अमेरिकी जनतालाई सम्बोधन’ गरेका छन्। भिडियोमा उनले अङ्ग्रेजी भाषामा बोल्दै अमेरिकाको समर्थनको अपिल गरेका छन्।
भिडियोको सुरुमा उनले डोनाल्ड ट्रम्पलाई जन्मदिनको शुभकामना दिँदै, २५० वर्षदेखि स्वतन्त्रताको रक्षा गर्दै आएका अमेरिकी सैनिकहरू प्रति सम्मान व्यक्त गरे।
नेतन्याहूले भने, “इजरायली सेनाले पनि मध्यपूर्वमा स्वतन्त्रताको रक्षा गर्दै आएको छ, जुन एउटा ‘तानासाही’ इरानी शासनसँगको लडाइँ हो।”
उनले थपे, “हाम्रो दुस्मन तपाईँहरूको पनि दुस्मन हो। हामीले अहिले जे गर्दैछौं, त्यो सबै हामी सबैलाई चाँडै वा ढिलो खतरा पुर्याउने कुराको सामना गर्दै हो।”
उनले कुनै प्रमाण नदिई यस्तो दाबी पनि गरे कि, “यदि इजरायलले कारबाही नगरेको भए, इरानले हिजबुल्ला र हमास जस्ता आफ्ना प्रतिनिधि समूहहरूलाई न्यूक्लियर हतियारले सुसज्जित बनाइसकेको हुने थियो।”
नेतन्याहूले जोड दिए, “यो सबै हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी जनता र विश्वका धेरैको स्पष्ट समर्थनका साथ गर्दैछौं।”