मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा

सोमबार, ०२ असार २०८२, १६ : ४७
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि 'सिड्नी आध्यात्मिक महोत्सव २०२५' आयोजना हुने। यसको उद्देश्य जनचेतना जगाउनु र आर्थिक सहयोग जुटाउनु हो।
  • महोत्सव आगामी अगस्ट २९ देखि ३१ तारिखसम्म हुनेछ, जसमा नेपालबाट वाचन प्रविण दीनबन्धु पोखरेल र स्थानीय लामा गुरुहरूको उपस्थिति रहनेछ।
  • महोत्सवको पहिलो दिन १००८ कलशसहितको भव्य कलश यात्रा हुनेछ, जसको संयोजन मीना शर्माले गर्नेछिन्। महिला सहभागितालाई प्राथमिकता दिइनेछ।

सिड्नी । ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि आवश्यक जनचेतना र आर्थिक सहयोग जुटाउने उद्देश्यले ‘सिड्नी आध्यात्मिक महोत्सव २०२५’ आयोजना गरिने भएको छ। महोत्सवको सन्दर्भमा आगामी योजनाहरु र उद्देश्यबारे जानकारी दिन केन्द्रले आइतबार सिड्नी गरेको पत्रकार भेटघाट तथा सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष बिष्णु हमालले बहुसांस्कृतिक केन्द्र निर्माण सिड्नीस्थित सम्पूर्ण नेपालीको साझा सपना भएको उल्लेख गर्दै त्यसको प्रारम्भिक चरणमा यो आध्यात्मिक महोत्सवले सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे। महोत्सव आगामी अगस्ट २९ देखि ३१ तारिखसम्म हुने जानकारी दिइएको छ।

महोत्सवमा नेपालबाट विशेष अतिथि वाचन प्रविण दीनबन्धु पोखरेल तथा सिड्नीस्थित बौद्ध लामा गुरुहरुको उपस्थिति रहनेछ। उपाध्यक्ष उमेश पन्तले महोत्सवलाई सफल बनाउन सिड्नीका व्यवसायी तथा समुदायका सबै सदस्यलाई क्षमता अनुसार सहयोग गर्न र आजीवन सदस्यता लिन आह्वान गरे।

महोत्सवको पहिलो दिन १००८ कलशसहितको भव्य कलश यात्राले सुरु हुनेछ। महिला सहभागितालाई प्राथमिकतामा राखेर उक्त यात्राको संयोजन सचिव मीना शर्माले गर्नेछिन्। उनले सिड्नी र वरपर रहेका सम्पूर्ण महिला दिदीबहिनीलाई यात्रामा सहभागी हुन आग्रह गरिन्।

ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्रले सिड्नीमा नेपाली समुदायको पहिचान झल्कने साझा बहुसांस्कृतिक केन्द्र निर्माण गर्ने दीर्घकालीन उद्देश्य लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप