नक्कली ओम शर्मा बनेर ओम उपाध्यायको ठगी धन्दा, प्रहरीलाई ध्यानाकर्षण
सारांश
- रातोपाटीका संस्थापक ओम शर्माको नाममा ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। उनले आफू ओम शर्मा भएको र राजनीतिक सम्बन्ध रहेको दाबी गर्दै रकम असुलेका थिए।
- उपाध्यायले सरकारी काम, जग्गा दिलाउने, र ठेक्का मिलाइदिने प्रलोभन देखाएर पीडितहरूबाट रकम लिएका थिए, तर सम्पर्कविहीन भए।
- पीडितहरूले नक्कली ओम शर्मा बनेर ठगी गर्नेहरूलाई कारबाहीको माग गरेका छन् भने शर्माले प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेका छन्।
काठमाडौँ । रातोपाटी डटकमका संस्थापक ओम शर्माको नाम लिएर एक व्यक्तिले ठगी धन्दा चलाएको जानकारी आएको छ । आफू रातोपाटीको सञ्चालक ओम शर्मा भएको र उच्चस्तरीय राजनीतिक व्यक्तित्वसँग सम्बन्ध समेत रहेको दाबी गर्दै ओम उपाध्याय नाम गरेका व्यक्तिले ठगी धन्दा चलाएको जानकारी आएको हो ।
गुल्मी स्थायी ठेगाना भई बालाजुमा बस्ने उपाध्यायमाथि सरकारी काम गराइदिने, सुकुम्वासीको नाममा भूमि आयोगबाट जग्गा दिलाइने, गुठी जग्गा दिलाइदिने र सडक निर्माणको ठेक्का मिलाइदिनेजस्ता प्रलोभन देखाएर पीडितबाट नगद असुलेको आरोप छ । यस्तै आफू भूमि आयोगको अध्यक्ष बन्न लागेको भनेर समेत उपाध्यायले रकम उठाएको पीडितको भनाइ छ ।
ओम शर्माको परिचयको दुरुपयोग गर्दै उनले बनेपास्थित पेट्रोल पम्पबाट डिजेल उधारोमा लिने र त्यसको भुक्तानी नदिनेजस्ता कार्यसमेत गरेको खुलासा भएको छ।
उपाध्यायले पीडितसँग अनेक बहानामा रकम उठाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेको पाइएको छ । विशेषगरी उनले जोरपाटी र गागलफेदी क्षेत्रमा यसरी आफ्नो ठगी धन्दा चलाएको पीडितहरूको भनाइ छ । रातोपाटीलाई उनको ठगीबारे जानकारी गराएका एक पीडितले उनको समूहमा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएको बताए ।
पीडितहरूले नक्कली ओम शर्मा बनेर ठगी गरिरहेकाहरूमाथि कारबाहीको माग गरेका छन् । एक पीडितले भने, ‘हामीलाई ओम शर्मा भन्थे । अरूलाई पनि त्यसै भन्दै हिँड्ने रहेछन् । बुझ्दै जाँदा त मान्छे नै नक्कली रहेछ ।’ आफूहरू पनि समस्यामा परेको र काम गरिदिने विश्वास दिलाएर रकम दिएको तर फिर्ता पाउन नसकेको ती पीडितको भनाइ छ । बरु पैसा फिर्ता माग्दा उपाध्यायले उल्टै धम्क्याउने गरेको अर्का एक पीडितको भनाइ छ।
यस विषयमा उपाध्यायलाई रातोपाटीले सम्पर्क गरेको थियो । मंगलबार रातोपाटीले 'तपाईं ओम शर्मा बोल्नु भएको हो' भनेर उनको मोबाइलमा फोन गरेर सोध्दा ‘हो’ भन्ने जवाफ दिए । थप सोधिखोजी गर्न थालेपछि चाहिँ उनले आफू ओम उपाध्याय भएको स्वीकारे ।
त्यसपछि उनले आफूले कसैसँग एक रुपैयाँ पनि नखाएको दाबी गरे । उनले भने, ‘कतै कसैसँग एक रुपैयाँ पनि भेटाउनुहोस्, मैले बल्ल भन्छु के हो भन्ने।’
राजनीतिक रूपमा आफू ‘राष्ट्रिय अभियान’ नामक पार्टीमा आबद्ध रहेको बताउने उपाध्यायले आफूविरुद्ध नियोजित रूपमा बदनाम गराउने प्रयत्न भइरहेको दाबी समेत गरे । तर कसले षड्यन्त्र गर्यो भन्नेबारे चाहिँ उनले खुलाउन सकेनन् ।
यस्तै रातोपाटीका संस्थापक शर्माले आफ्नो नाम लिएर ठगी भइरहेको बारे आफूलाई केही व्यक्तिले सूचना दिएको उल्लेख गर्दै यसरी नाम दुरुपयोग गर्नेमाथि प्रहरीले छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।
‘नाम दुरुपयोग गरेको सूचना छ । कति ठगे मलाई थाहा हुने कुरा भएन । नक्कली ओम शर्मा बनेर ठगी गर्नु भनेको गम्भीर विषय हो । यसबारे प्रहरीलाई आवश्यक अनुसन्धान गर्न ध्यानाकर्षण गराउँछु’, शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण