बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
किन कविता

‘कविता मेरा लागि एक आन्दोलन हो’

शनिबार, ०७ असार २०८२, १८ : ५३
शनिबार, ०७ असार २०८२

काठमाडौँ । हल्यान्डबाट आएका कलाकार आरी पिटरको वर्कसपमा सहभागी हुँदा भूमिका थारुले ‘म एक कमलरी’ शीर्षकको कविता सुनाएकी थिइन् । त्यो कविता सुनेपछि उनका गुरु अशेष मल्ललाई खै के लागेछ, उनले भूमिकालाई उपहारस्वरूप कवितासंग्रह दिए— ‘एउटा बस्तीको कथा’ । जसमा मल्लसहित दिनेश अधिकारी, गगन विरही र विष्णुविभु घिमिरेका कविता समावेश छन् ।

यो आठ वर्षअघिको कुरा हो, जतिबेला उनी सर्वनाम थियटरमा नाटक सिक्थिन् । उसो त कक्षा ४ मा पढ्दा नै उनले लेखेको थारु भाषाको कविता गोरखापत्रमा छापिएको थियो । आफ्नो भाषाको कविता मधेसी भाषामा समेटिएर छापिँदा भने उनलाई त्यति चित्त बुझेन । यद्यपि स्कुलका शिक्षकहरूबाट स्याबासी पाइन् र लेखनलाई निरन्तरता दिइन्, बालपत्रिका मुनामा कविता पठाउन थालिन् ।

दाङ पुख्र्यौली घर भएकी भूमिकाले सानैदेखि पाठ्यक्रमबाहेकका कविता पनि पढ्थिन् । उनलाई बुवा कृष्णराज सर्वहारीले खेलौनाका साटो बालकथा, मुना लगायत पुस्तक ल्याइदिन्थे । बुवाको हौसलाले पनि उनले लेखन जारी राखिन् । उनको स्कुलमा वादविवाद, वक्तृत्वकला, हाजिरीजवाफ लगायत कार्यक्रम आयोजना भए पनि कविता प्रतियोगिता भने त्यति हुँदैनथ्यो । उनी चाहन्थिन्, कविताको पनि कार्यक्रम आयोजना होस् । 

नभन्दै एकपटक विद्यालयमा कविता प्रतियोगिता हुने भयो । प्रतियोगिता हुने जानकारी पाएलगत्तै उनले कापीमा केर्न सुरु गरिहालिन् र तयार भयो, ‘मेरो गाउँ’ शीर्षकको कविता । त्यस कविताबाट उनले प्रतियोगितामा तृतीय स्थान हासिल गरिन् । त्यसबेला आफूभन्दा ठुलो कक्षाका दाइदिदीसँग भिडेर पनि सो स्थान हासिल गर्न सफल भएको उनी बताउँछिन् ।

‘कविताको उद्देश्य हुनुपर्छ । केवल लयात्मक र गद्यात्मक अनुच्छेद मात्रै होइन मेरा लागि कविता, एक आन्दोलन पनि हो । म अन्तर्मुखी स्वभावकी भएकीले आफूलाई अभिव्यक्त गर्ने माध्यम पनि हो कविता ।’

उसो त उनलाई त्यसबेला कविताभन्दा मुक्तक लेख्न खुब मन पथ्र्यो । पछिपछि भने कविता नै विशेष लाग्न थाल्यो । त्यसैको परिणाम हो, यतिखेर उनका डायरीमा पाँच दर्जनभन्दा बढी कविता छन् ।

कविताले केवल भावना होइन समाज, इतिहास र पहिचान बोक्ने उनको बुझाइ छ । समाजलाई नियाल्नका लागि पनि कविता पढ्नुपर्ने उनी बताउँछिन् । उनका लागि समाज चिन्ने सजिलो विधा हो कविता । ‘कविताको उद्देश्य हुनुपर्छ । केवल लयात्मक र गद्यात्मक अनुच्छेद मात्रै होइन मेरा लागि कविता, एक आन्दोलन पनि हो । म अन्तर्मुखी स्वभावकी भएकीले आफूलाई अभिव्यक्त गर्ने माध्यम पनि हो कविता,’ उनी भन्छिन्, ‘यसै पनि आदिवासी, दलित, मुस्लिम, सीमान्तकृत वर्गका आवाज सामान्यतः सुन्नमा आउँदैन । ती आवाज कवितामार्फत ल्याउन पनि मैले कविता रोजेकी हुँ ।’

कवितामा उनले सबैभन्दा लेख्न रुचाउने विषय थारू समुदायको मुद्दा हो । अझै पनि राज्यमा तमाम आदिवासीका मुद्दाहरू ओझेल पारिएको र दबाइएको उनको बुझाइ छ । ‘ती आवाज नयाँ पुस्ताले नउठाए कसले उठाउने ?’ उनी प्रश्न गर्छिन् । त्यसैले होला उनका कवितामा प्रायः थारु समुदायकै कथा–व्यथाको विद्रोह झल्किन्छ ।

पछिल्लो समय कविताप्रति युवाहरुको रुचि बढेको उनले पाएकी छन् । प्रायः कविहरुलाई सोधिने ‘कविता लेखेर के पायौ?’ भन्ने प्रश्न उनलाई पनि नसोधिने होइन । कविता लेखेर परिवर्तनको आवाज उठाएकामा उनलाई गर्व छ । उनी भन्छिन्, ‘कवितामा न्यायको आवाज र संघर्षको यात्रा सदैव जारी रहनेछ ।’

आफूलाई मन परेका पाँच कविता झट्ट सम्झनुपर्दा उनी कविको नाम र कविताको शीर्षक भन्छिन्— कुमार नगरकोटीको ‘हेलो प्राइम मिनिस्टर’, अशेष मल्लको ‘मुक्तिको कल्पना’, इन्दु थारुको ‘मेरो पसिनाको मोल छैन’, एलिसा एकलासको ‘अनागरिकको बयान’ र कृष्णराज सर्वहारीको ‘फल्काहान छोट्का’ । 

  • प्रस्तुत छन् कवि भूमिका थारूका तीन कविता : 

कविको नाम र कविताको शीर्षक भन्छिन्— कुमार नगरकोटीको ‘हेलो प्राइम मिनिस्टर’, अशेष मल्लको ‘मुक्तिको कल्पना’, इन्दु थारुको ‘मेरो पसिनाको मोल छैन’, एलिसा एकलासको ‘अनागरिकको बयान’ र कृष्णराज सर्वहारीको ‘फल्काहान छोट्का’ । 
प्रस्तुत छन् कवि भूमिका थारूका तीन कविता : 

१) हजुरआमा र देश 

अचेल हजुरआमा र देश
मलाई उस्तै उस्तै लाग्छ ।

हजुरआमाको नजर
धुमिल भएजस्तै 
देश साँच्चै
धुमिल हुँदै गइरहेको देख्छु
हजुरआमाको मुजा परेको मुहारझैँ 
युवाहरूको संख्या
देशमा खुम्चिँदै गइरहेको देख्छु 
हजुरआमाको श्यामश्वेत कपालझैँ   
अचेल युवाहरूले रङ्गीन सपना
देख्नै छोडेको देख्छु ।

इँ गर्दा पनि 
हजुरआमाको थोते दाँतमा देखिने
‘ग्याप’ भन्दा पनि सीमित ठाउँमा 
आफ्नै मान्छेलाई 
खाली ठाउँ भर्नकै तछाडमछाड देख्छु
अचेल हजुरआमा र देश मलाई उस्तै उस्तै लाग्छ
हजुरआमाको कुप्रो परेको ढाडझैँ 
देशको प्रणाली खस्किँदै गइरहेको 
र, कुप्रिएको देख्छु ।

हो, हजुरआमाले अब
जाँतो चलाउन सक्दिनन् 
जसरी नेताले सही ढङ्गले 
देश चलाउन सकेनन् 
हजुरआमाले अब ढकिया बुन्न सक्दिनन् 
हजुरआमाले श्रवण शक्ति गुमाएर 
अब सुन्न सक्तिनन्
तर नेताहरू श्रवण शक्ति गुमाएझैँ
जनताका कुरा सुनेको नसुन्यै गर्छन् ।

जवानीमा ‘सखिया’ नाच्दै 
लहँगा फर्फराएकी मेरी हजुरआमा
अब बिर्सिसकिन्  
लहँगा फर्फराउन 
देशले झन्डा  
फर्फराउन बिर्सेजस्तो
गुन्जिनै छाडे अब त देशमा 
पहिलेजस्तो देशभक्ति गीत
सधैँ ‘सजना, मैना, धमार 
संस्कृति हो हमार’
भन्ने मेरी हजुरआमा
प्रश्न गर्छिन् 
अब गीत गाउँ पो म कोसँग ?

म कहिलेकाहीँ
सोच्ने गर्छु
देश हजुरआमाको चर्किएको 
पैतालाझैँ भएपछि
खै कसरी पो गति लिन्छ देशले
र छाला कम,
हड्डी ज्यादा भएको 
मेरी हजुरआमाको
खोक्रो शरीरजस्तै
गिज्याइरहेछ देशलाई यतिखेर 
एक आत्मविहीन बुख्याचाले झैँ ।
००

२) एक बुढो रुख

ऊ अर्थात् बुढो रुख 
अचेल एकतमासले
एक्लै बर्बराइरहन्छ ।

ऊ बौलायो भनेर
यत्रतत्र सर्वत्र 
फैलिएको छ हल्ला
तर उभिएको छ ऊ
पिरैपिरको डल्ला 
टाउकोभरि बोकी
एक दिन एकाबिहानै
फेसबुकको भित्तामा 
ह्यासट्याग सहित 
कसैले पोस्टायो
‘अ सेल्फी विथ अ लेजेन्ड बुढो रुख’ ।

सधैँ हँसिलो देखिने
बुढो रुख
उसको अनुहारमा
चिन्ताको रेखा कोरिएको
स्पष्ट देखिन्थ्यो
अहो, ऊ त्यही 
बुढो रुख थियो
जोसँग मैले
केही वर्षअघि
भेटेकी थिएँ
उसले बिसाएको थियो
आफ्नो मनको भारी
फुकाएको थियो 
पीडाको पोको 
सुनाएको थियो 
विरहको भाका ।

वर्षौंसम्म यो फल
जिउज्यान दिएर
जोगाएर राखेकी छु ।

कसैले कहिल्यै चाख्दैनन् 
मेरा फलहरू
यसै कुहिएर 
जाने हो कि भनी
मन अनायासै
भतभती पोलिरहन्छ
अहँ चाख्दैनन् कोही
मेरो फल
चाख्दै चाख्दैनन् ।

किन बुढो रुख ?
मैले सोधेकी थिएँ
मेरो फल उनीहरूलाई
कहाँ मिठो लाग्छ र ?
मेरो फलमा 
ढकिया र डेहरीभरि अटाउने
सजना, मैना, धमार 
सखिया अनि झुम्रा छन्
इतिहास बोकेको 
बर्किमार छन्
अस्टिम्कि चित्र छन् ।

कसैले नचाखेपछि
आज उसले पहिरिएको छ
सेतो ढिकरीको माला 
झुन्ड्याएको छ कानमा
मँजिराको इयररिङ 
सिउरिएको छ बौँर्रीको मङ्गिया
लगाएको छ गोन्डरीको चोलिया ।

गोँरी बुन्न भनेर
मुँज कसुङ्गा 
रङ्गाउन राखिएको रङले
रङ्गाउँछ सिउँदो
लगाउँछ टीका
सोही रङले 
पोत्छ ओठमा लिपिस्टिक
जाल बुन्न भनी
राखिएको धागोले 
बनाउँछ झोबन्ना
बाँध्छ हेल्का र डिलियाको
पेटी कम्मरमा
लगाउँछ नाडीमा 
पर्खाइको घडी
अनि सिउरिन्छ
टापीको ताज
अनि लगाउँछ पौवाको हिल ।

एक राउन्ड मार्छ
मादलको तालमा क्याटवाक
त्यसपछि मादलका विभिन्न
खोटहरू बजाउँदै
नाच्न थाल्छ
भुइँ छाडेर ।

लहङ्गा फर्फराउँदै
सखियै हो...
ऊ गाउँछ रातभरि
अरि मैना...
छरिदेऊ सबै
मेरो फल
उडी सबैतिर हो मैना...
म बुढो रुख कति सकुँला र
भार थेग्न ए हो मैना ।

आँसुले धोएको उसको मुहार 
साँच्चै कमजोर देखिन्थ्यो
र पनि आफ्नो छेउमा 
पलाएको झार
सकी नसकी उखेल्ने 
प्रयास गरिरहन्छ
र त्यही बेहोस हुन पुग्छ
म झल्यास्स ब्युँझिन्छु
यसरी कसैको पर्खाइमा
झिनो आशा बोकी
उभिएको ऊ
कतै आशाको त्यान्द्रो नै
चुँडिगयो भने ?
०००

३) म एक कमलरी

पिँजडाकी चरीझैँ
बिल्कुल बाँधिएकी छु म
जहाँ मेरो पीडा 
मबाहेक कसैलाई थाहा छैन ।

सामानझैँ  बिकेकी छु
तर पनि यहाँ मेरो 
कुनै मूल्य छैन ।

उही तिखो बोली 
जुन मेरो कानमा आएर
झापट हान्छ
‘चाँडै उठ्,
सित्तैमा घिच्न पाउँछेस् ?’
दुई–चार अक्षर पढ्न 
मिल्छ भन्ने लालसाले
एउटा आशा बोकेर
पठाउनुभएको थियो बाबाले
मलिकको घर
मैले प्रस्ताव नराखेकी 
पनि होइन 
बाँडझैँ उत्तर आएको थियो
‘कमैयाकी छोरी भएर पनि
पढ्ने सपना देख्छेस् ?
तेरो बाउको ऋण कल्ले तिर्छ ?’

म निःशब्द भएँ
मनमनै भने 
हाम्रै सम्पत्ति हडपेर
हामीलाई गरिब बनाएर
सामन्तीहरूले गरिबीको
फाइदा उठाए
मेरो बोली सुन्ने को ?
जसलाई पशु सरह पनि
व्यवहार गरिँदैन

बस् ! अब चल्दैन
तिमीहरूको ज्यादती
आज दिन फेरिएको छ
मेरा पखेटाहरू फर्फराउन 
थालेका छन् 
म आजाद भएकी छु
बिल्कुल आजाद ।
०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीराम बजगाई
काशीराम बजगाई
लेखकबाट थप