शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गाजामा भइरहेको नरसंहार र इरानमाथिको हमला तत्काल रोक्न माग (संयुक्त वक्तव्य)

सोमबार, ०९ असार २०८२, १४ : १९
सोमबार, ०९ असार २०८२

सारांश

  • प्राध्यापक कृष्ण पोखरेलसहित १९ जनाले गाजामा भइरहेको नरसंहार र इरानमाथिको हमला रोक्न माग गरेका छन्।
  • विज्ञप्तिमा इजरायली-अमेरिकी आक्रमणको निन्दा गर्दै यसले पश्चिम एसियामा द्वन्द्व बढाउने र आर्थिक अनिश्चितता निम्त्याउने चेतावनी दिइएको छ।
  • विज्ञप्तिमा साना तथा ठुला देशलाई सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने अधिकार रहेको कुरामा जोड दिइएको छ।

काठमाडौँ । प्राध्यापक कृष्ण पोखरेलसहित १९ जनाले गाजामा भइरहेको नरसंहार र इरानमाथिको हमला तत्काल रोक्न माग गरेका छन् ।

सोमबार एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले इरानमाथि इजरायली–अमेरिकी आक्रमणले पश्चिम एसियालाई थप द्वन्द्वमा धकेल्ने निश्चित रहेको उल्लेख छ । यसले खाडी क्षेत्रका देशहरूबाट हुने खनिज तेल र ग्यासको निर्यातमा अवरोध पुर्‍याउने र विश्वभर आर्थिक अनिश्चितता सिर्जना गर्ने सम्भावना बढाइदिएको उल्लेखसहित विज्ञप्तिमा भनिएको छ, ‘हामी बेन्ज्यामिन नेतान्याहु नेतृत्वको मानवताविरोधी इजरायली सत्ता र उसको अमेरिकी संरक्षकहरूका सम्पूर्ण युद्ध उन्मादी गतिविधिको हामी घोर भर्त्सना र निन्दा गर्छौँ ।’

आफूहरू सबै साना तथा ठुला देशलाई आफ्नो सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने अधिकार छ भन्ने पक्षमा रहेको पनि विज्ञप्तिमा स्पष्ट गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘गाजामा भइरहेको नरसंहार र इरानमाथिको हमला तत्काल रोक्न माग गर्दर्छौँ ।’

संयुक्त वक्तव्य

२१ जुनको राती अमेरिकी युद्धक विमानहरुले इरानको तीन ठाउँमा भयानक बमवर्षा गरेका छन् । आईएईएको प्रत्यक्ष निगरानीमा शान्तिपूर्ण उपयोगका लागि अघि बढाइएको आणविक कार्यक्रमलाई लक्षित गरी गरिएको यो आक्रमणले इरानको सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारमाथि धावा बोलेका छ ।

यो १९औँ शताव्दीको आखिरीबाटै अमेरिकाले लिएको साम्राज्यवादी हस्तक्षेपको नीतिको निरन्तरता हो । ऊ संसारलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ, आफ्ना राजनीतिक आर्थिक तथा साम्राज्यवादी आकांक्षाप्रति असहमत हुने कुनै देशमाथि बर्बर आक्रमण गर्ने, नरसंहार मच्चाउने, सत्ता परिवर्तन गराउने र उक्त देशको स्रोत साधनमाथि नियन्त्रण गर्ने अमेरिकीहरुको परम्परा नै रहि आएको छ ।

यसअघि इराक, सिरिया, लिविया, अफगानिस्तान, प्यालेष्टाइन र लेवनानमा अमेरिका र उसको सैन्य आकाँक्षाका सहयात्रीहरु तथा इजरायलले गरेका बर्बर आक्रमणले ती देशमा निम्त्याएको सर्वनाश र गाजाको नरसंहार मानव सभ्यताकै कलंकका रुपमा दर्ज छन् ।

यतिवेला इजरायल आफूले गाजामा गरिरहेको महिला तथा बालबालिकको नरशंहारबाट ध्यान हटाउन इरानमा आक्रमण गरिरहेको छ र अमेरिका उसलाई सहयोग गर्दै आफ्नो खस्कदों विश्व प्रभुत्वलाई टिकाउने प्रयासमा लागेको छ । हामी अमेरिका–इजराय–नेटो गठबन्धनको यो मानवताविरोधी, साना र कमजोर देशको आत्मनिर्णय र सावैभौमसत्ता निषेध गर्ने हरकतको घोर निन्दा र भर्त्सना गर्दछौैँं ।

इजरायली–अमेरिकी आक्रमणको यो शिलशिलाले पश्चिम एसियालाई थप द्वन्द्वमा धकेल्ने निश्चित छ । खाडी क्षेत्रका देशहरूबाट हुने खनिज तेल र ग्याँसको निर्यातमा अवरोध पुर्‍याउने र विश्वभर आर्थिक अनिश्चितता सिर्जना गर्ने सम्भावना बढाइदिएको छ ।

 हामी बेन्ज्यामिन नेतान्याहु नेतृत्वको मानवताविरोधी इजरायली सत्ता र उसको अमेरिकी संरक्षकहरूका सम्पूर्ण युद्ध उन्मादी गतिविधिको हामी घोर भर्त्सना र निन्दा गर्छौँ ।

हामी सबै साना ठुला देशलाई आफ्नो सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने अधिकार छ भन्ने पक्षमा छौँ । 

गाजामा भइरहेको नरसंहार र इरानमाथिको हमला तत्काल रोक्न माग गर्दर्छौँ ।

प्राध्यापक कृष्ण पोखरेल
राम कार्की
रामराज रेग्मी
कोमल भट्टराई
नरेन्द्रजंग पिटर
अशेष घिमिरे
कृष्ण सुनवार
प्रकाश अजात
खगेन्द्र संग्रौला
हरि रोका
झलक सुवेदी
युग पाठक
सोमत घिमिरे
राजेन्द्र महर्जन
उषा तिम्सिना
शिव कुमार पौडेल
गोपिरमण उपाध्याय
कुमार पौडेल
अरविन्द सिंह

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप