२५ लाख रुपैयाँ खल्तीमा हाल्ने ३ जनाविरूद्ध अख्तियारले चलायो मुद्दा
सारांश
- अख्तियारले सुर्खेत प्रदेश अस्पतालमा २५ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ।
- लेखा अधिकृत, कम्प्युटर अपरेटर र बैंक काउन्टर प्रमुखले मिलेमतोमा रकम हिनामिना गरेको आरोप लागेको छ।
- २०८० साउनदेखि २०८१ जेठसम्म संकलित ३४ लाखमध्ये ८ लाख मात्र जम्मा भएको र २५ लाख हिनामिना भएको अख्तियारको दाबी छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतको २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाही र कुमारी बैङ्कको एक्स्टेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार, अस्पतालको सामाजिक सेवा एकाइमा कार्यरत कम्प्युटर अपरेटर शाहीले स्वास्थ्य बिमाका बिमितहरूको नाम दर्ता गर्ने क्रममा अनाधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी रकम सङ्कलन गरेकी थिइन् । तर, त्यसरी उठाएको रकम बैङ्कमा दाखिला नगरी हिनामिना गरेको उजुरीपछि आयोगले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा मिति २०८० साउन १ गतेदेखि २०८१ जेठ मसान्तसम्मको अवधिमा सङ्कलन भएको कुल रु. ३४ लाख ३ हजार ८५६ मध्ये केवल रु. ८ लाख ३६ हजार ३३० मात्र अस्पतालको खातामा जम्मा भएको देखिएको अख्तियारले जनाएको छ । बाँकी रु. २५ लाख ६७ हजार ५२६ हिनामिना भएको अख्तियारको दाबी छ ।
आयोगले लेखा अधिकृत सुवेदी, अपरेटर शाही र बैङ्ककी काउन्टर प्रमुख सिंजाली मगरको मिलेमतोमा सार्वजनिक सम्पत्ति हिनामिना गर्ने बदनियत देखिएको जनाएको छ ।
उनीहरू तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण