बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एनपीएल

अझै सार्वजनिक भएन एनपीएलको खर्च विवरण, क्यानलाई ४ टोलीले मात्र बुझाए पैसा

मङ्गलबार, १० असार २०८२, १९ : ००
मङ्गलबार, १० असार २०८२

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको तयारी सुरु भइसकेको छ र खेलाडी 'रिटेन' पनि भइसकेका छन्।
  • पहिलो संस्करण सम्पन्न भएको ६ महिना बितिसक्दा पनि आम्दानी र खर्च विवरण सार्वजनिक हुन सकेको छैन। क्यानले टिम खरिदबापतको पैसा दिन बाँकी छ।
  • क्यानले जनाए अनुसार, टिम खरिद रकम बुझाउने र पुरस्कार रकम लिने टोलीहरू नयाँ सिजनको तयारीमा लागेका छन्।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको तयारी सुरु भइसकेको छ । जसअनुसार चितवन राइनोज र सुदूरपश्चिम रोयल्सले खेलाडी 'रिटेन' पनि गरिसकेका छन् । 

तर, पहिलो संस्करण सम्पन्न भएको करिब ६ महिना पुगिसक्दा हालसम्म आम्दानी र खर्च विवरण सार्वजनिक हुन सकेको छैन ।  गत वर्षको पुस ६ गते सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेको थियो ।

त्यसपछि अहिलेसम्म नेपाल क्रिकेट संघ (क्यान)ले टिम खरिदबापतको पैसा दिन सकेको छैन । क्यानले विजेता भएको टोली जनकपुर बोल्ट्सलाई १ करोड दश लाख, उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई ५१ लाख, तेस्रो भएको टोली कर्णाली याक्सलाई २५ लाख र चौथो भएको टोली चितवन राइनोजलाई १५ लाख रुपैयाँ दिनु पर्ने थियो ।

क्यानबाट जनकपुर आफ्नो टिम २ करोड ५ लाखमा खरिद गरेको थियो । त्यस्तै सुदूरपश्चिम १ करोड ६८ लाख ८८ हजार, कर्णाली क्याक्स १ करोड ११ लाख र चितवन १ करोड ७६ लाखमा खरिद गरेको थियो । 

जसमा जनकपुर, सुदूरपश्चिम, कर्णालीले आफ्नो हिसाब क्यानसँग बराबरी गरेका छन् । त्यसमा कान्तिपुर पब्लिकेसनले ३ करोड ३३ लाखमा किनेको काठमाडौँ गुर्खाजले पनि क्यानसँगको हिसाब बराबर गरेको छ । 

क्यानका प्रवक्ता छुम्बी लामाले प्रतियोगितामा विजेता टोली र शीर्ष तीन टोलीको सबै आर्थिक पाटो पूरा भइसकेको उनले बताए । 

‘जनकपुर र सुदूरपश्चिमको हकमा उहाँहरूलाई क्यानले दिने पुरस्कारको विषयमा छलफल गर्दा टिमले खरिद मार्फत क्यानलाई दिने पैसाको हिसाबमा मिलाएका छौँ । अन्य टिमहरूको सवालमा पनि टिमहरूले क्यानलाई ८० प्रतिशत खरिद रकम दिइसकेको अवस्था छ,’ लामाले रातोपाटीसँगको कुराकानीमा भने । 

क्यान स्रोतका अनुसार प्रतियोगितामा सहभागिता जनाएका ४ टोलीले मात्र क्यानसँग टिम खरिद गरेको पैसा बुझाएको देखिन्छ । जसमा काठमाडौँ, जनकपुर, सुदूरपश्चिम र कर्णालीको टोली हो । तर, प्रवक्ता लामाले भने चार टोलीबाहेकका थप चार टिमले पनि बाँकी पैसा पनि एक साता भित्र भुक्तानी गर्ने बताए । 

उनले टिम र क्लबको आन्तरिक कुरा भएका कारण सबै विषय बाहिर खोल्न नसकिने बताए । एनपीएलको खर्च विवरणको विषयमा भने क्यानले छिट्टै सार्वजनिक गर्ने बताएका छन् । 

‘टिम र क्यानबिच केही आर्थिक विषय मिलाउन बाँकी थियो । यो आर्थिक विषय चाडै सुल्झिनेछ । छिट्टै नै क्यानले एनपीएलको खर्च विवरण सार्वजनिक गर्ने योजना बनाएको छ । हामी आर्थिक पारदर्शिताको विषयमा सजक छौँ,’ लामाले भने ।  

  • सकिन लाग्यो टिम खरिद रकमको डेडलाइन 

टिम खरिद गर्दा एनपीएलका सबै टिमले पहिलो चरणमा २५ प्रतिशत रकम बुझाइसकेका छन् । त्यसपछि प्रतियोगिता दौरान र प्रतियोगिता सकिएपछि सबै रकम बुझाउने आन्तरिक टिमहरूले गरेका थिए ।

जसअन्तर्गत हालसम्म प्रतियोगितामा सहभागी आठ टोली मध्य ४ टोलीले टिमहरूले ८० प्रतिशत रकम बुझाइ सकेका छन् ।  जसमा प्रतियोगिताकै महँगो टोली ३ करोड ५७ लाखमा खरिद भएको पोखरा एभेन्जर्स, १ करोड ८६ करोडमा खरिद भएको लुम्बिनी लायन्स, १ करोड ५१ लाखमा खरिद भएको विराटनगर किङ्स र १ करोड ७६ लाखमा खरिद भएको चितवन रहेका छन् । 

क्यानले नयाँ सिजनका लागि तयारी गरिरहेका सबै टोलीले अबको केही दिनमा आर्थिक पाटो सुल्झाउने योजना बनाएको जानकारी प्राप्त भएको बताएको छ ।  

क्यानसँग टिम खरिद गरेको पैसा बुझाएका र पुरस्कार रकम लिएका टोलीहरूले नयाँ सिजनको तयारीमा लागि सकेका छन् ।  क्यानसँगको आर्थिक पाटो सुल्झाएर साबिकको विजेता टोली जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरज खतिवडाले आफूहरु नयाँ सिजनको तयारीमा लागेको जानकारी दिए । 

‘जनकुर र क्यानबिचको आर्थिक पाटो सबै समाप्त भएको छ । हामीले टिम खरिद गरेको रकम दिएका छौँ । क्यानले सोही रकममा पुरस्कार रकमलाई मिलाएको छ । योसँगै हामी नयाँ सिजनको तयारीमा जुटेका छौँ,’ खतिवडाले रातोपाटीसँग भने । 

यता सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले पनि आफूहरूले क्यानसँगको सबै आर्थिक पाटो पूरा गरेको बताए । सबै विषय पूरा गरेर नयाँ सिजनको लागि तयारी थालिसकिएको उनको भनाइ छ । 

‘हामीले क्यानलाई दिनुपर्ने खरिद रकम र क्यानले दिनुपर्ने रकमको विषयमा सबै विषय पूरा भएको छ । अब हामी नयाँ सिजनको तयारीमा जुटिसकेका छौँ,’ खड्काले रातोपाटीसँग भने । 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप