बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
सम्पत्ति विवरण सार्वजनिक

गभर्नर पौडेलले सार्वजनिक गरे सम्पत्ति विवरण, कति छ सम्पत्ति ?

बुधबार, ११ असार २०८२, १५ : १५
बुधबार, ११ असार २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनको परिवारको सम्पत्ति झन्डै १८ करोड रहेको विवरणमा उल्लेख छ।
  • विवरणअनुसार, गभर्नर पौडेलको श्रीमतीको नाममा ललितपुर र नवलपरासीमा जग्गा तथा घरहरू छन्। सुन र हिराका गहना पनि परिवारसँग रहेको देखिन्छ।
  • गभर्नर पौडेलसँग सेयर लगानी पनि रहेको छ, जसमा अधिकांश प्रोमोटर शेयरहरू छन्। उनीसँग नगद र सुजुकी ब्रान्डको कार पनि रहेको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर बनेको एक महिनापछि उनले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा गभर्नर पौडेलको परिवारसँग झन्डै १८ करोड बराबरको सम्पत्ति रहेको देखिएको छ ।यसमध्ये धेरैजसो सम्पत्ति श्रीमती प्रतिभा शर्माको नाममा रहेको विवरणमा उल्लेख छ । 

विवरण अनुसार शर्माको नाममा ललितपुरको सैँबुमा ५ आना २ दाम क्षेत्रफलमा फैलिएको जमिन छ । यसको मूल्य १ करोड ५५ लाख रहेको विवरणमा उल्लेख छ । सोही जग्गामा बनेको घर समेत रहेको देखिन्छ । घरको भने मूल्याङ्कन गरिएको छैन । 

त्यस्तै, नवलपरासीको गैँडाकोटमा शर्माकै नाममा ५ कट्ठा भन्दा बढी जमिन छ, यसको मूल्य करिब ६० लाख रहेको विवरणमा उल्लेख छ । सो स्थानमा घर समेत भए पनि यसको मूल्याङ्कन गरिएको छैन । 

त्यस्तै, गभर्नर पौडेल उनको परिवारसँग कुल ४५ तोला सुन छ । यो सुन पैतृक सम्पत्तिबाट आएको विवरणमा उल्लेख छ ।१५ लाख रुपैयाँ बराबरको हिराको गहना भने आफ्नै कमाइबाट प्राप्त भएको जनाइएको छ । 

गभर्नरसँग नगद सम्पत्तितर्फ करिब २१ लाख रुपैयाँ बराबरको नगद  छ । यसमध्ये करिब १५ लाख रुपैयाँ आफ्नो र करिब ६ लाख रुपैयाँ श्रीमतीको नाममा रहेको पौडेलले उल्लेख गरेका छन् । 

पौडेल सेयर लगानीमा भने अगाडि देखिएका छन्, तर उनको सबै लगानी प्रोमोटर शेयरमा मात्रै भएको पाइएको छ । हाल उनीसँग करिब १४ करोड रुपैयाँ बराबरको शेयर छ । यसमध्ये करिब ९२ लाखको सेयर साधारण र बाँकी प्रोमोटर शेयर रहेको छ । 

साधारण शेयरको रूपमा रहेको सानिमा माई हाइड्रोपावरको उक्त शेयर समेत प्रोमोटर शेयरबाटै रूपान्तरित भएर आएको विवरणमा उल्लेख छ । प्रोमोटर शेयरमध्ये राष्ट्र बैंकले नै नियमन गर्ने सानिमा बैंकको शेयर समेत उनीसँग छ । यसले उनी दोस्रो बजारमार्फत शेयर किन्ने वा आईपीओ भर्ने काममा सहभागी नै नहुने गरेको देखिन्छ । 

यसबाहेक सवारी साधनतर्फ समेत गभर्नर पौडेलकी श्रीमती शर्माको नाममा सुजुकी ब्रान्डको कार रहेको उल्लेख गरिएको छ । यो कार २०७७ सालमा किनेकाे र यसको मूल्य हाल करिब ४४ लाख रहेको विवरणमा उल्लेख छ । 

उनीसँग हाल कुनै पनि बैंक वित्तीय संस्था वा व्यक्तिलाई तिर्नुपर्ने कुनै रकम नरहेको उल्लेख गरिएको छ ।

Governor-Dr-Biswo-Nath-Poudel-Sampati-Bibaran-1_page-0001Governor-Dr-Biswo-Nath-Poudel-Sampati-Bibaran-1_page-0002Governor-Dr-Biswo-Nath-Poudel-Sampati-Bibaran-1_page-0003

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप