शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

संस्कृत विश्वकै सम्पत्ति बनेकाे छ : राष्ट्रपति

बिहीबार, १२ असार २०८२, १८ : ४७
बिहीबार, १२ असार २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताएका छन् । विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको  दक्षिण एसियामा नै गहिरो प्रभाव पर्दै आइरहेकोमा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको बताए ।

उनले भने–‘कम्प्युटर र ए.आईको प्रयोगमा आएको संस्कृतको भविष्य सुन्दर रहेको देखिन्छ । आजको अशान्त विश्व समाजले संस्कृत वाङ्मयबाट आशा र भरोसा खोजेको छ ।’ 

उपनिशषदको ‘यो चराचर चेतनाले भरिपूर्ण छ, यसको त्यागपूर्ण भोग गर, धनसम्पति दौलतमाथि आशक्ति र लोभ नगर’ भन्ने संस्कृत श्लोक उद्धरण गर्दै उहाँले यो संस्कृत सम्मेलनले युद्धको विभीषिका र सन्त्रासमा उल्झिएको वर्तमान संसारलाई शान्ति, सहयोग र सहअस्तित्वको सन्देश फैलाउँदै धर्ती, मानव र मानव सभ्यताको संरक्षण र विकास, सुख र सन्तोष युद्धबाट होइन शान्ति, करुणा र मैत्रीबाट मात्र सम्भव छ भन्ने सन्देश दिनुपर्ने बताए । 

राष्ट्रपति पौडेलले नेपालले पनि संस्कृतको संरक्षण र विकासका लागि काम गर्दै आइरहेको बताउँदै भने–‘तर त्यो अपर्याप्त छ, र अझ धेरै काम गर्न बाँकी छ, त्यसमा सहकार्य पनि आवश्यक छ ।’

राष्ट्रपति पौडेलले विकास चरम अवस्थामा पुगेपछि एकाधिकारले ठाउँ लिन्छ भन्ने अर्थशास्त्रको कुरा जस्तै संस्कृत भाषाको चरम विकास भएको वेला ठालुहरूले दलित वा अन्य जो कोहीले बोल्न र पढ्न हुन्न भनेर सिमाकरण गरेकाले जनबोलीको भाषा हुन नसकेको उल्लेख गर्दै संस्कृतलाई जनबोलीको भाषा बनाउन आवश्यक भएको बताए ।

उनले नेपाल प्राचीन कालदेखि नै ऋषि महर्षिहरूको जन्मभूमि, तपोभूमि, यज्ञभूमि, साधना भूमि रहँदै आएको बताउँदै महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्ल यजुर्वेदका मन्त्रहरूको दर्शन पाएका थिए भने वाल्मीकिको पूर्वजीवन र वेदव्यासको जन्म पनि यसै भूमिमा भएको स्पष्ट पारे । 

राष्ट्रपति पौडेलले राजर्षि जनक, शान्ति सन्देशका नायक बुद्ध, पाणिनि र बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध भएको उल्लेख गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप