रास्वपाको विरोध जारी, गृहमन्त्रीलाई तीन प्रश्न
सारांश
- रास्वपाले भिजिट भिसा प्रकरणमा न्यायिक छानबिनको माग गर्दै प्रतिनिधिसभामा विरोध प्रदर्शन गरेको छ।
- रास्वपा सांसद गणेश पराजुलीले सरकारले मानव तस्करलाई संरक्षण गरेको आरोप लगाए, जसले नेपाली जनतालाई अपमानित गरेको बताए।
- पराजुलीले गृहमन्त्रीलाई प्रश्न गर्दै मानव तस्करीको अनुसन्धानमा बाधा पुर्याएको आरोप लगाए र उच्चस्तरीय न्यायिक छानबिनको माग गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा न्यायिक छानबिनको माग गर्दै प्रतिनिधिसभामा विरोध प्रदर्शन शनिबार पनि जारी राखेको छ । सरकारले छानबिन समितिको नाममा मानव तस्करीमा संलग्नहरूलाई जोगाउन लागेको रास्वपाले आरोप लगाएको हो ।
शनिबार बैठकमा आफ्नो धारणा राख्दै रास्वपा सांसद गणेश पराजुलीले भने, ‘हाम्रो आन्दोलन जारी छ । नक्कली भुटानी शरणार्थी बनाएर आफ्नै देशको जनतालाई बेच्ने राष्ट्रघाती अपराधपछि अहिले भिजिट भिसाको आवरणमा मानव तस्करीको जालोमा जनतालाई जबरजस्ती पस्न बाध्य पार्ने र त्यही अपराधमा संलग्न तस्कर र दलालहरूलाई संरक्षण गर्ने काम राज्य र सरकार सञ्चालन गर्ने दलहरूकै नेताहरूको संलग्नतामा भइरहेको तथ्यहरू एकपछि अर्को गर्दै बाहिरिइरहेका छन् । यसले अन्तर्राष्ट्रिय जगतमा नेपाली जनतालाई लाज र अपमानको बोझ बोकी हिँड्न बाध्य बनाएको छ ।’
उनले यो केवल कानुनी अपराध मात्र नभएर राष्ट्र र जनताको इज्जत र आत्मसम्मान माथि गरिएको चीरहरण भएको जिकिर गरे । यसलाई कुनै हालतमा क्षमा गर्न नसकिने उनको जिकिर थियो ।
‘आज हाम्रो देशलाई मानव तस्करीको ट्रान्जिट हब भनेर चिनिन थालिएको छ । श्रमको खोजीमा विदेशमा पुगेका हजारौँ नेपाली चेलीहरू शोषण र पशुसरह बेचिनु पर्दाका अवस्था अन्तर्राष्ट्रिय रूपमा उजागर भइरहँदा राज्य बेखबर जस्तो अभिनय गरिरहेको छ,’ उनले भने ।
त्यसैले गत जेठ १३ गतेदेखि हामीले निरन्तर रूपमा उठाएको मुद्दा भिजिट भिसा प्रकरण हुँदै होइन । हामीले उठाएको मुद्दा भिजिट भिसाको आवरणमा गरिएको मानव तस्करीको मुद्दा हो ।
उनले गृहमन्त्री रमेश लेखकसामु तीन प्रश्न पनि तेर्स्याए । उनले भने, ‘गृहमन्त्रीलाई मेरो प्रश्न छ, जेठ ७ गते अख्तियारले कारबाही गर्दा अध्यागमन प्रमुखलाई बचाउने र अनुसन्धान गर्ने डीआईजीको सरुवा गर्ने तपाईँले गरेको व्यवहार गर्ने शङ्काको घरेभित्र आउँदैन ? तपाईँकै सचिवालयभित्रको सदस्य यो अपराध कर्ममा जोडिँदै गरेको तथ्य बाहिर आउँदै गर्दा यो घटनामा राजनीतिक संरक्षण छ भनेर शङ्का गर्न सकिँदैन ?’
उनले थपे, ‘मानव तस्करीको विषयमा अनुसन्धान नै गर्न नपाउने गरी ९ बुँदै कार्यादेश बनाएर बाँदरको पुच्छर लौरो न हतियार जस्तो बनाउने र आफ्नो कर्मचारी राखेर समिति बनाउँदै गर्दा यो मानव तस्करीमा जोडिएको जालो बचाउने कि आफूलाई अनुसन्धानको घेराबाट बचाउन गरिएको हो गृहमन्त्रीज्यू ?’ उनले उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने पार्टीको माग दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण