शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
शुकदेव उपाध्यायलाई नौ प्रश्न

*‘आख्यान विधाले घरघरको कथा बोलिरहेको हुन्छ’

शनिबार, १४ असार २०८२, १३ : ०८
शनिबार, १४ असार २०८२

सारांश

  • शुकदेव उपाध्यायका दुई उपन्यास प्रकाशित छन्, र हाल उनी संस्मरण संग्रह निकाल्ने तयारीमा छन्।
  • उपाध्यायले पछिल्लो समय इन्दिरा प्रसाईंको 'बघेनी' र मदनमणि दीक्षितको 'ऋग्वैदिक नारी चरित्र' लगायतका कृतिहरू पढिरहेका छन्।
  • उपन्यासकार उपाध्यायका अनुसार, उपन्यास भनेको ठूलो कथा हो जसले विशाल संसारको दर्शन गराउँछ र उनी आत्मसन्तुष्टिका लागि लेख्छन्।

शुकदेव उपाध्याय (जन्म : २०१२ जेठ ३) का दुई उपन्यास प्रकाशित छन्— ‘भर्चुअल लभ’ (२०८१), ऐँजेरु (२०८२) । साढे दुई दशकदेखि पत्रपत्रिकामा निबन्ध, लघुकथा, हास्यव्यङ्ग्य, संस्मरणलगायत लेख्दै आएका उपाध्याय अवकाशप्राप्त उपप्राध्यापक हुन् ।

उनै उपाध्यायलाई हामीले रातोपाटीको नियमित स्तम्भ ‘नौ प्रश्न’मा निम्त्याएका छौँ । 

१) हिजोआज केमा व्यस्त हुनहुन्छ ? पछिल्लोपटक कुन कृति पढ्नुभयो ?

अहिले म एउटा ‘संस्मरण संग्रह’ निकाल्ने जमर्को गर्दै छु । पहिले पहिले विभिन्न पत्रपत्रिकामा छापिएका र छरिएर बसेका केही संस्मरणको सङ्कलन गर्दै छु । साथै त्यसमा चार–पाँचवटा रचना अझै थप्नु पनि छ । मस्तिष्कमा घटनाहरू, प्लटहरू आइरहेका छन् तिनलाई अक्षरमा उतार्न बाँकी छ, अहिले त्यसैमा लाग्या छु । 

मैले अन्तिमपटक पढेको कृति रोचक घिमिरेको ‘अनुहार र अनुभूति’ (संस्मरण) थियो । यतिबेला भने म  मदनमणि दीक्षितको ‘ऋग्वैदिक नारी चरित्र’ र साथसाथै इन्दिरा प्रसाईंको ‘बघेनी’ (कथासङ्ग्रह) पनि सँगसँगै जसो पढिरहेको छु । 

२) भर्खरै तपाईंको दोस्रो उपन्यास बजारमा आएको छ । साहित्यसँग यहाँको नाता पुरानै हो, यो नाता पछिल्लो समय अझ प्रगाढ हुन पुगेको छ । वास्तवमा किन लेख्नुहुन्छ ? 

मेरा विद्या व्यसनी पिताजीको छत्रछाया र साहित्यमै समर्पित मेरा सहोदर दाजु (निर्मोही व्यास)को सान्निध्यमा म हुर्कें । अर्थात् सानैदेखि घरमा साहित्यिक वातावरण थियो । आफू सक्रिय भएर साहित्य साधनामा लाग्न थालेको वि.सं. २०५५ सालदेखि अर्थात् २७ वर्षदेखि मात्र हो । त्यतिखेरदेखि फुट्कर रचनाहरू लेख्न/छापिन थाले पनि पोहोर साल प्रकाशित मेरो पहिलो उपन्यास ‘भर्चुअल लभ’ले पाठकको निकै माया पाएकोले पनि म बढी उत्साहित हुन पुगेको हुँ ।

अन्य क्षेत्रमा झैँ साहित्यिक बजारमा पनि अचेल ठुलै भिड छ, भिड भएपछि बहस पनि हुने नै भयो, त्यो स्वाभाविकै हो । मलाई लाग्छ, उपन्यास विधा भिडमा मात्र सीमित नभई यसले सिङ्गो बजारलाई तताएको पनि छ ।

फलस्वरूप यसपालिको मेरो दोस्रो कृति पनि ‘ऐँजेरु’का नामले उपन्यासकै रूपमा प्रकाशित हुने अवसर पनि पायो । साहित्यसँगको मेरो नाता पहिले अलि छिपछिपे नै थियो भने अब चाहिँ साँच्चै नै प्रगाढ बन्न पुगेको छ । किन लेख्नुहुन्छ भन्ने तपाईंको सोधाइमा अहिलेलाई यति मात्र भनुँ कि ‘म स्वान्तः सुखाय अर्थात् आत्मसन्तुष्टिका लागि लेख्ने गर्छु ।

३) पछिल्लो समयको साहित्यिक बजार र बहस कस्तो पाउनुभएको छ ? यसबारे यहाँको धारणा के छ ? 

अन्य क्षेत्रमा झैँ साहित्यिक बजारमा पनि अचेल ठुलै भिड छ, भिड भएपछि बहस पनि हुने नै भयो, त्यो स्वाभाविकै हो । मलाई लाग्छ, उपन्यास विधा भिडमा मात्र सीमित नभई यसले सिङ्गो बजारलाई तताएको पनि छ र नयाँ पुस्तादेखि पुराना पुस्तासम्मका पाठकलाई सन्तुष्टिको खुराक राम्रैसँग पस्किएको छ । आफूले बढी रुचाएको विधा भएर पनि हुन सक्छ, आख्यानभित्रको यो उपन्यास विधाले बजार राम्रै लिएको छ जस्तो लाग्छ मलाई ।

४) यहाँको बुझाइमा उपन्यास के हो ? यहाँ उपन्यासप्रति नै किन र कसरी आकर्षित हुनुभयो ?

मेरो बुझाइमा ‘उपन्यास’ भनेको उपकथाहरू पनि समेटिएको एउटा ठुलो आकारको मूल कथा हो अर्थात् यो आख्यान विधाको ठुलो संरचना हो । यसले पद्य विधाको महाकाव्यजस्तो गुण पनि बोकेको हुन्छ । कथाका सन्दर्भमा देवकोटाको यो भनाइ ‘छोटो किस्सा भनेको आँखी झ्याल हो जहाँबाट एउटा सानु संसार च्याइन्छ’बाट पुष्टि हुन्छ कि पक्कै पनि ‘ठुलाकथा वा उपन्यास भनेका ठुलै झ्याल हुन् जसबाट विशाल संसारको दर्शन गर्न सकिन्छ ।’ 

आख्यान पुरुष भनेर चिनिएका र उपन्यासका धुरन्धर मानिएका ध्रुवचन्द्र गौतमको पनि उपन्यासबारे मान्यता यही छ । भन्नुको तात्पर्य आख्यानको बृहत् रूप नै उपन्यास हो ।

तपाईंको पूरक प्रश्नको जवाफमा भने म आफूलाई यसरी प्रस्ट्याउँछु : साहित्यका अनेक विधामध्ये ‘आख्यान’मा मलाई स्कुल र कलेज जीवनदेखि नै रस बस्दै गएको हो । त्यसताका अर्थात् नयाँ शिक्षा लागु हुनु अघिसम्म हाम्रा तराईका विद्यालयहरूमा ६–७ कक्षासम्म हिन्दी अनिवार्य पढाइ हुन्थ्यो । मेरो स्कुलिङ  त्यसरी नै भएको हो । मैले ८–९ कक्षा पढ्दादेखि नै हिन्दी/नेपाली उपन्यास पढ्न सुरु गरेको हुँ । यो विधामा रस बस्नुको सायद यो पनि एउटा कारण हुन  सक्छ ।

५) समकालीन नेपाली उपन्यासको अवस्था कस्तो देख्नुभएको छ ?

सबै विधाको आफ्नो ठाउँमा आ–आफ्नै महत्त्व त छँदै छन् तर आख्यान विधाले घरघरको कथा बोलिरहेको हुन्छ । उपन्यास पढ्न वा सुन्नलाई चाखलाग्दो र रोचक हुन्छ । त्यसैले होला बाल, युवा, प्रौढ वा वृद्ध सबै समूहका पाठकले यसलाई अत्यधिक रुचाउने गर्छन् । उपन्यासको भविष्य म त राम्रै देखिरहेको छु ।

मेरो यो उपन्यास एउटा खलपात्रलाई मुख्य भूमिकामा राखेर बुनिएको जीवनकथा हो । एक खलपात्रको मात्र नभई प्रतीकात्मक रूपमा समाजमा व्याप्त दुष्प्रवृत्तिहरूको कथा हो । यसमा मुख्यतः दुर्योधन नामक खलपात्रका माध्यमबाट समाजमा उम्रिएका ‘ऐँजेरु’जस्ता सबैजसो प्रवृत्तिलाई उजागर गर्ने प्रयास गरिएको छ ।

६) लेखेर के कति कमाउनुभयो वा गुमाउनुभयो ? 

बडो रोचक र रमाइलो प्रश्न सोध्नुभयो । कमाउने र गुमाउने कुरा यदि तपाईंले ‘अर्थ’सँग जोडेर सोध्नुभएको हो भने यसबाट अर्थोपार्जन गरौँला भनेर म यस क्षेत्रमा लागेकै होइन । म अर्थको मामलामा आफूलाई फकिर भनाउन मन पराउने मान्छे हुँ । तसर्थ म जस्ताले कमाउने वा गुमाउने भन्ने कुरै आउँदैन । हो, जहाँसम्म प्रतिष्ठा कमाउने र इष्टमित्र कमाउने कुरो छ, त्यसमा भने म धनी र भाग्यशाली छु है । साहित्यमा लागेको मेरो यो छोटो अवधिमै मैले थोरबहुत प्रतिष्ठा र निकै इष्टमित्रहरू कमााइसकेछु । अझ खुसीको कुरा, मैले गुमाएको भने केही पनि छैन ।

७) तपाईंको पछिल्लो कृति (ऐँजेरु उपन्यास) पाठकले किन पढ्ने ? 

मेरो यो उपन्यास एउटा खलपात्रलाई मुख्य भूमिकामा राखेर बुनिएको जीवनकथा हो । अझ भनौँ, एक खलपात्रको मात्र नभई प्रतीकात्मक रूपमा समाजमा व्याप्त दुष्प्रवृत्तिहरूको कथा हो । यसमा मुख्यतः दुर्योधन नामक खलपात्रका माध्यमबाट समाजमा उम्रिएका ‘एैँजेरु’जस्ता सबैजसो प्रवृत्तिलाई उजागर गर्ने प्रयास गरिएको छ । तसर्थ त्यस्ता प्रवृत्तिलाई बुझ्न पनि यो उपन्यास सबै पाठकले पढ्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । 

८) पछिल्लोपटक तपाईंलाई झकझकाएको कुनै एउटा उपन्यास सम्झनुपर्‍यो भने कुन सम्झनुहुन्छ र सम्झनुको कारण ! 

"उपन्यास भन्दा पनि आख्यान विधाकै 'कथा'मा चाहिँ पछिल्लोपटक पढेको इन्दिरा प्रसाईंको ‘बघेनी’ कथासंग्रह हो । यसले मलाई साह्रै झकझक्याएको छ । उनको यो कृति प्रयोगवादी धारमा बगेर रचिएको छ । म मात्र होइन म जस्ता अन्य पाठकलाई पनि यसले नझकझक्याइ छाड्नेछैन । वास्तवमै इन्दिराजीको यो ‘कथा संग्रह’ नमूना साबित भएको छ।"

९) आखिर जिन्दगी के रहेछ ? 

मेरो विचारमा जिन्दगी मात्र ‘पानीको फोका’ हो । फोका बनुन्जेल र फुटुन्जेल भित्रैमा हामीले जे गर्ने हो त्यो गरिसक्नुपर्छ, भोलिलाई साँच्नै हुन्न । कतै मैले पढेको थिएँ, ‘जन्मँदा सास हुन्छ तर नाम हँुदैन, अनि मर्दा नाम मात्र हुन्छ सास हुँदैन, त्यही सास र नामका बिचको यात्रा नै जिन्दगी हो ।’ पानीको फोका पनि बन्न र फुट्न आखिर कति नै बेर लाग्छ र ?   

(*८ नम्बरको प्रश्नमा कथासंग्रह हुनुपर्नेमा उपन्यास भएकोले सच्याइएको छ । –सम्पादक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप