बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रिटर्नी फेडेरेसनद्वारा पहिरो पीडितलाई राहत वितरण

आइतबार, १५ असार २०८२, १० : ४२
आइतबार, १५ असार २०८२

सारांश

  • रिटर्नी फेडेरेसन नेपालले ललितपुरको लेलेमा पहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ।
  • पहिरोमा परि एक महिलाको मृत्यु भएको थियो भने उनको परिवारलाई फेडेरेसनले सहयोग गरेको छ।
  • रिटर्नी फेडेरेसनले राहत वितरणको साथै सरकारसँग पीडितहरूको पुनर्निर्माणमा सहयोगको माग गरेको छ।

ललितपुर । रिटर्नी फेडेरेसन नेपालले गोदावरी नगरपालिकाको लेलेमा पहिरो पीडित ४ घरपरिवारमा राहत वितरण गरेको छ । फेडेरेसनको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठको अगुवाइमा डिही गाउँ क्षेत्रको प्रत्यक्ष भ्रमण गरेको केन्द्रीय टोलीले राहत वितरण गरेको हो । 

सो पहिरोमा परि गोदावरी नगरपालिका वडा नं. ५ मा घरबाट भाग्ने क्रममा २५ वर्षीय सबिता महतको ज्यान गएको थियो । मृतकको श्रीमान् हरि महत भने  घाइते भएका थिए । उनको १३ महिनाको शिशु र आमाको घटनाबाट मुस्किलले ज्यान बाचेको छ । घर पूर्ण क्षति भई आफन्तकोमा शरण लिएको अवस्थामा रिटर्नी फेडेरेसनका केन्द्रीय टोलीले उनीहरुलाई चामल, दाल, चिउरा, ब्लान्केन्ट, खाने तेल,  कपडा लगायतको सामाग्री हस्तान्तरण गरेको हो । 

रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय इन्चार्ज डा. कृष्ण केसीले  पहिरोले त्यहाँ अपूरणीय क्षति पुर्‍याएको बताएका छन् । रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष उत्तम अधिकारीले दुःखको बेला घटनास्थलको अवलोकनको लागि स्थानीय रिटर्नीहरुसँग आएको बेला केही सामाग्री वितरण गरेको बताएका छन् । हृदयविदारक अवस्थामा अप्ठ्यारो अवस्थाको साथीको रूपमा  संगठनका सदस्यहरूसँग  सङ्कलन गरिएको रकमबाट खाद्यान्न र लत्ताकपडासहित सो क्षेत्रको अवलोकन समेत गरेको उनले बताए । 

घटनास्थलको अवलोकन र केही राहत समेत वितरण गर्न केन्द्रीय पदाधिकारी, बाग्मती प्रदेश र ललितपुर जिल्लाको समन्वयमा रिटर्नी फेडेरेसनबाट स्वयंसेवकको रूपमा केन्द्र र प्रदेशका पदाधिकारीहरू सो क्षेत्रमा पुगी घरबार विहीन भइ अरूको सहारामा बाच्नुपर्ने अवस्थामा पुगेकालाई सहयोग प्रदान गरिएको  फेडेरेसनका बाग्मती प्रदेश अध्यक्ष हेम राईले जानकारी दिए । 

राहत वितरणका लागि उक्त स्थान  जाने क्रममा धेरै स्थानमा ठुलो क्षति भएको पाइएको छ । यसै गरी पहिरोले क्षति पुर्‍याएको रुपेश सिलवाल र दीपेश सिलवालको २ परिवार र सन्तोष सिलवालको परिवारलाई फेडेरेसनको तर्फबाट राहत सामाग्री हस्तान्तरण गरिएको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठले बताए । 

यस अघि असोज १५ गते बसेको रिटर्नी फेडेरेसन नेपालको सचिवालय बैठकले प्रकोपले क्षति पुर्‍याएका हरेक प्रदेशमा आवश्यकता अनुसार अप्ठ्यारोमा  परेकाको उद्धारमा जुट्न आग्रह गरेको थियो । रिटर्नी फेडेरेशन नेपालले प्राकृतिक प्रकोपबाट  पीडितहरूको यथाशीघ्र राहत र पुनर्निर्माणमा सहयोग गर्न सरकारसँग माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप