कांग्रेस नेताले ठगेको भन्दै वडाध्यक्षको उजुरी
सारांश
- मोरङको कटहरीका वडाध्यक्ष जदुलाल कामत मिटरब्याजको जालोमा परे, जग्गा फिर्ता नपाएपछि घरबारविहीन बने।
- उनले जग्गा पास गर्न तत्कालीन पालिका अध्यक्ष रामकुमार कामतसँग सहयोग माग्दा उनले २१ लाख रुपैयाँ दिएर श्रीमतीको नाममा जग्गा पास गरे।
- जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजसम्बन्धी ६७८ उजुरी दर्ता भएका छन्, जसमध्ये ८ मुद्दा फर्छ्योट हुँदा १ करोड ८३ लाख रुपैयाँ लेनदेनमा मिलापत्र भयो।
विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जदुलाल कामत नै मिटरब्याजको जालोमा परेका छन् । २०७४ सालमा उनले ६८ लाख रुपैयाँमा रहमान मियाँसँग कटहरी–३ कै एक जग्गा किन्ने निधो गरे ।
तर, उनीसँग ४८ लाख रुपैयाँ मात्र थियो । उनले आफ्नो चिनजानका विराटनगर–८ निवासी बद्री चौधरीसँग २० लाख रुपैयाँ लिएर उनकै नाममा जग्गा पास गरिदिए । २० लाख रुपैयाँ लिएको केही महिनामै चौधरीले आफूलाई पैसा आवश्यक परेको भन्दै कि पैसा फिर्ता गर्न कि जग्गा बिक्री गरिदिने धम्की दिन थाले ।
त्यसपछि उनले तत्कालीन कटहरी गाउँपालिकाका अध्यक्षसमेत रहेका हालका कांग्रेस सभापति रामकुमार कामतसँग सहयोग मागे र आफूलाई परेको अप्ठ्यारो सुनाए ।
वडाध्यक्ष जदुलालले भनेपछि पालिका अध्यक्षले पनि जग्गा आफ्नो नाममा पास गरिदिएमा धितो सकारिदिने बताए । त्यसपछि पालिका अध्यक्ष रामकुमार कामतले २१ लाख रुपैयाँ दिएर जग्गा आफ्नी श्रीमती रुणादेवी कामतको नाममा ल्याए । त्यसपछि सुरु भयो जग्गा कब्जाको खेल ।
वडाध्यक्ष जदुलाल कामतको दाबीअनुसार जग्गा पास गरेको एक महिनाभित्रै धितो ऋण सकार्न उनले पालिका अध्यक्ष कामतलाई साढे ७ लाख रुपैयाँ दिए । त्योसहित हालसम्म पटक–पटक गरेर ३५ लाख रुपैयाँ दिइसकेको जदुलालको दाबी छ, तर जग्गा फिर्ता आएन । अहिले थप २३ लाख रुपैयाँ दिए मात्र जग्गा फिर्ता दिने भनिएको छ ।
त्यसवेला प्रतिकट्ठा १२ लाख रुपैयाँसम्म पर्ने उक्त जग्गाको मूल्य अहिले २० लाख रुपैयाँ पर्छ । यही कारण अहिले जदुलाल घरबारविहीन हुने अवस्थामा पुगेका छन् ।
‘घरजग्गा बैंकमा राखेर रामकुमारसँग लिएको कर्जा तिरेँ । अहिले म सडकमा आएको छु,’ जदुलालले भने, ‘बैंकमा राखेको घरजग्गा बेचेर ऋण तिरेँ, तर अझै पनि भुक्तान गर्न बाँकी रहेको भन्दै शोषण जारी छ ।’
वडाध्यक्ष जदुलाल कामत आफैँ कांग्रेसबाट दोस्रो पटक वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् । मिटरब्याजबाट गाउँमा आतङ्क सिर्जना गरेको आरोप लाग्दै आएका रामकुमार कामत पनि कांग्रेसकै कटहरी गाउँपालिका सभापति हुन् । त्यसैले जदुलाल पार्टी एउटै भएकाले समस्याको समाधान हुन्छ कि भन्दै सबै तहका नेताहरू—सांसद, सभापति, मन्त्रीसम्म पुगेर न्यायको गुहार मागे । तर, कामतको राजनीतिक पहुँचअगाडि सबै मौन छन् ।
‘कांग्रेसका नेता विनोद बस्नेतको घरमै मिटिङ बस्यौँ, तर रामकुमारले कसैको कुरा मानेनन्,’ कामतको भनाइ छ । अन्ततः उनले आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा रामकुमार कामतले अनुचित लाभ लिएको भन्दै कारबाही गरिपाऊँ भनी लिखित उजुरी दिएका छन्।
यसरी कांग्रेस नेता कामतको शोषणको सिकार वडाध्यक्ष मात्र होइनन्, यहाँका अन्य थुप्रै सर्वसाधारण पनि कामतबाट पीडित बनेको गुनासो छ। गाउँमा अवैध मानिएको मिटरब्याजमा ऋण लगाउने र जग्गा कब्जा गर्ने घटना बाहिर आउन थालेका छन्। जदुलालजस्तै पीडित छिन्, कटहरी–२ की ५५ वर्षीया रामवती राजवंशी। उनको कथा झनै पीडादायी छ, जसको विषयमा यसअघि नै समाचार प्रकाशित भइसकेको छ ।
उता, पूर्वपालिका अध्यक्ष रामकुमार कामतले भने वडाध्यक्ष कामत र राजवंशीसँग आफूले कुनै कारोबार नगरेको दाबी गरेका छन्। ‘उहाँहरूसँग मैले कुनै कारोबार नै गरेको छैन । मेरो इज्जत–प्रतिष्ठामाथि विनाकारण आरोप लगाइएको छ,’ उनले भने ।
- ८ वटा उजुरीबाट १ करोड ८३ लाख फिर्ता
जिल्ला प्रशासन कार्यालय मोरङमा हालसम्म ६ सय ७८ वटा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी दर्ता भएका छन् । जसमध्ये ६ सय २२ वटा जिल्ला प्रहरी कार्यालय मोरङ हुँदै आएका हुन् भने ५६ वटा निवेदन जिल्ला प्रशासन कार्यालयमा सोझै दर्ता भएका छन् ।
प्रशासन कार्यालयका अनुसार २०८२ वैशाख २० गतेयता ८ वटा मुद्दा फर्छ्योट भएका छन् । फर्छ्योट भएका ती उजुरीअनुसार १ करोड ८३ लाख ४२ हजार रुपैयाँ लेनदेनमा मिलापत्र भएको छ भने १ बिघा १ कट्ठा १२ धुर जग्गा फिर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण