बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युवाहरूले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनुपर्छ : श्रममन्त्री

सोमबार, १६ असार २०८२, १५ : ०५
सोमबार, १६ असार २०८२

सारांश

  • श्रममन्त्री भण्डारीले युवाहरूलाई स्वदेशमै उद्यमशीलता गर्न र आत्मनिर्भर बन्न आग्रह गरे।
  • मन्त्रीले वैदेशिक रोजगारलाई आगामी १० वर्षभित्र अन्त्य गर्ने योजना रहेको बताए, जसका लागि आन्तरिक रोजगारी प्रवर्द्धन गरिनेछ।
  • उनले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिँदै, स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले युवाहरूले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनु पर्ने बताएका छन् । सोमवार राष्ट्रिय युवा परिषदद्वारा आयोजित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले ऊर्जावान् युवा देशको प्रमुख शक्ति श्रोतको रूपमा रहेको बताउँदै उनीहरूले स्वदेशमै उद्यमशीलता गर्नु पर्ने बताएका हुन । 

मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारलाई अगामी दश वर्षभित्र अन्त्य गर्नका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा कार्यक्रम घोषणा गरेको बताए । उनले भने, ‘वैदेशिक रोजगार स्वैच्छिक हुनुपर्छ, बाध्यात्मक हुनुहुँदैन । स्वेच्छाले जानेहरूलाई रोक्न सकिँदैन । तर, रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा जानेहरूलाई देश भित्रै रोजगारको अवसर सृजना गर्न श्रम मन्त्रालय संरचना र नीति निर्माण सहित कार्य गरिरहेको छ ।’

उनले रोजगारी सृजना गर्ने कार्य निजी क्षेत्रको भएको हुनाले उत्पादन र उत्पादकत्व बढे स्वतः रोजगारी सृजना हुने जिकिर गरे । संसारको जुनसुकै देशमा सरकारले सीमित सङ्ख्यामा मात्रै रोजगारी सृजना गर्ने गरेको बताउँदै निजी क्षेत्रसँगको समन्वय, सहकार्य गरी रोजगारीको विभिन्न अवसरहरू सृजना गर्न सरकारले आवश्यक नीति नियम सुधार गरेर जानुर्पेमा जोड दिए । 

मन्त्री भण्डारीले देशभित्रै रहेका रोजगारीका सम्भवानाहरुलाई सही तरिकाले सदुपयोग गर्न नसकेको अवस्था गम्भीर चिन्ताको विषय भएको बताए । उनले नेपालीहरू थोरै पैसाका लागि बिदेसिनु भन्दा स्वदेश मै स्वरोजगार गरेर बस्न सुझाए । 

अगाडि उनले थपे– ‘नेपालीहरू केवल वैदेशिक रोजगारमा जाने मात्रैहरुको लर्को मात्रै छैन, वैदेशिक रोजगारमा गएकाहरू सीप, ज्ञान, थोरै भए पनि पुँजी लिएर फर्केर आउनेहरूको सङ्ख्यामा पनि उत्तिकै रहेको छ ।’ 

मन्त्री भण्डारीले नेपाली श्रम बजारमा प्रत्येक वर्ष पाँच लाख श्रम शक्ति आउने गरेको जिकिर गर्दै ती श्रम शक्तिहरुलाई सीप र क्षमता अभिवृद्धि विकास गर्न सके देश भित्रै रोजगारीको अवसरलाई सदुपयोग गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप