रुग्ण चार उद्योगको सम्पत्ति मूल्याङ्कन गर्न आशयपत्र माग, तीन उद्योगको एडिबीले गर्ने
सारांश
- सरकारले एसियाली विकास बैंकको सहयोगमा तीन सरकारी उद्योगको सम्पत्ति मूल्यांकन गर्ने भएको छ।
- अर्थ मन्त्रालयले सातवटा रुग्ण उद्योगको सम्पत्ति व्यवस्थापनका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको छ।
- जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट म्याग्नेसाइटलगायतका उद्योग नोक्सानीमा छन्।
काठमाडौँ । आंशिक रूपमा सञ्चालनमा रहेका तीन सरकारी उद्योगको सम्पत्ति मूल्याङ्कन (भ्यालुयसन) सरकारले एसियाली विकास बैंकको सहयोगमा गर्ने भएको छ । तीन महिना अघि गत वैशाख १५ गते बसेको मन्त्रीपरिषद्ले सात रुग्ण उद्योगको सम्पत्ति ‘व्यवस्थापन’ गर्ने निर्णय लिएको थियो ।
मन्त्रिपरिषद्ले जनकपुर चुरोट कारखाना लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियन्ड म्याग्नेसाइट प्रालि गरी सात प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार आंशिक रूपमा सञ्चालनमा रहेका उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको सम्पत्ति मूल्याङ्कन (डिडिए) एसियाली विकास बैंकको सहयोगमा गर्ने तयारी रहेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
उनका अनुसार सञ्चालनमा रहेका तीन सरकारी उद्योगको सम्पत्ति मूल्याङ्कनको लागि एडिबीको सहयोग गर्ने भए पनि बाँकी चार उद्योगको लागि परामर्शदाता नियुक्ति प्रक्रिया अघि बढेको बताए ।
उनले भने,‘ तीन उद्योगको परामर्शदाताको रूपमा एडिबीले सहयोग गर्ने भएको छ । तर बाँकी चार उद्योगको लागि बाँकी रहेकाले उनीहरूको सम्पत्ति मूल्याङ्कनको लागि परामर्शदाता छनोटको लागि सूचना जारी गरिएको छ ।’
अर्थ मन्त्रालयले रुग्ण उद्योगहरूको सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको छ । उक्त प्रक्रियाका लागि मन्त्रालयले यसका लागि आशयपत्र मागेको छ ।
मन्त्रालयले पहिलो चरणमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिन्ड एन्ड म्याग्नेसाइटको सम्पत्ति मूल्याङ्कन (भ्यालुयसन) का लागि परामर्शदाता नियुक्त गर्न प्रक्रिया थालनीको लागि आशयपत्र मागेको छ ।
यही असार २३ गतेसम्म जनकपुर चुरोटको सम्पत्ति मूल्याङ्कनको आशयपत्र पेस गर्ने भनिएको छ । यस्तै,असार २३ गते नै आशयपत्र खोल्ने मन्त्रालयले जनाएको छ । बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्टको सम्पत्ति मूल्याङ्कनका लागि असार २७ गतेलाई आशयपत्र पेस गर्ने मिति तोकिएको छ ।
उक्त निर्णयपछि अर्थ मन्त्रालयले सात उद्योगको अध्ययन अघि बढाएको छ । अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलको संयोजकत्वमा समिति गठन गरेर अध्ययनको काम गरिरहेको छ ।
सात वटै उद्योग नोक्सानीमा
सरकारले सम्पत्ति मूल्याङ्कनको लागि आशयपत्र माग गरेका चार वटा उद्योगहरू नोक्सानीमा रहेका छन् । त्यस्तै,सञ्चालनमा रहेका तीन उद्योग पनि नोक्सानीमा नै रहेका छन् ।
चार वटा उद्योगहरू लामो समय देखि बन्द अवस्थामा रहेका छन् । कुनै १४ वर्ष देखि बन्द छन् । वि.स.२०२१ सालमा स्थापित जनकपुर चुरोट १४ वर्षदेखि बन्द छ । आर्थिक वर्ष ०७९/०८० सम्म कारखाना दुई अर्ब ९२ करोड ९० लाख रुपैयाँ नोक्सानमा छ । उद्योगको खुद सम्पत्ति दुई अर्ब ८१ करोड ३९ लाख रुपैयाँ ऋणात्मक छ ।
त्यस्तै, स्वदेशमा धागो उत्पादन गर्ने गरी २०३९ सालमा स्थापना भएको बुटवल धागो कारखाना २०६६ असोजदेखि बन्द छ । उद्योगको सञ्चित नोक्सान दुई अर्ब रुपैयाँमाथि पुगेको छ । खुद सम्पत्ति एक अर्ब ६२ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
त्यस्तै, ओरियन्ट म्याग्नेसाइटको पनि करिब पाँच अर्ब माथि नोक्सानीमा रहेको छ । नेपालमा म्याग्नेसाइट उत्पादन तथा बिक्री वितरण गर्न वि.स. २०३५ सालमा नेपाल ओरियन्ट म्याग्नेसाइट स्थापना भएको थियो ।
आर्थिक वर्ष ०७८/०७९ सम्मको वित्तीय विवरण अनुसार हेटौँडा र उदयपुर सिमेन्ट उद्योगको सञ्चित नोक्सान बढेर ६ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ पुगेको छ । हेटौँडा सिमेन्टको नोक्सान एक अर्ब १५ करोड ६० लाख र उदयपुर सिमेन्टको पाँच अर्ब ७८ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
हाल उद्योगको सञ्चित नोक्सान बढेर एक अर्ब १५ करोड ६० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/ ०८० मा मात्र उद्योग २५ करोड ४८ लाख रुपैयाँ नोक्सानमा छ ।
२०३३ असोज १३ मा स्थापित हेटौँडा सिमेन्ट उद्योगबाट ०४२ सालदेखि व्यावसायिक उत्पादन थालिएको थियो । यो उद्योगको वार्षिक सिमेन्ट उत्पादन क्षमता दुई लाख २५ हजार टन छ । उदयपुर सिमेन्ट ०४४ सालमा स्थापना भएको हो । उद्योगको चुक्ता पुँजी तीन अर्ब ६४ करोड रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण