बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सवारी निर्देशिका यथार्थ र व्यावहारिक बनाउन माग

मङ्गलबार, १७ असार २०८२, १७ : २१
मङ्गलबार, १७ असार २०८२

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिकाका विषयमा छलफल गरेको छ । 

मंगलबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग विभागले ल्याउन लागेको निर्देशिकाको विषयमा छलफल गरेको हो ।

नाडाका अनुसार विभागसँगको छलफलमा अध्यक्ष चौधरीले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञासा राख्दै विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गरे ।

उनले प्रस्तावित निर्देशिकामा भएका बुँदाहरूबारे नाडा र विभागबिच विस्तृत छलफल गरी अघि बढ्नुपर्ने बताए ।त्यस्तै नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले उक्त प्रस्तावित निर्देशिकामा केही बुँदाहरूको विषयमा थप छलफल गरिनुपर्ने आवश्यकता रहेको बताए । 

उनले निर्देशिकामा रहेका केही बुँदाहरूका सम्बन्धमा निरन्तर छलफल गरी निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनुपर्ने बताए । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरूलाई दण्डित गर्नुपर्ने र सही कार्य गर्नेहरूलाई पुरस्कृत गर्नुपर्नेमा जोड दिए । 

छलफलमा विभागका महानिर्देशक पोखरेलले थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए । उनले नेपालमा अहिलेसम्म सवारी साधन आयात सम्बन्धी कुनै स्पष्ट नियम नभएकोले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भइरहेको बताए ।

महानिर्देशक पोखरेलले यस विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्ने समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप