के विद्या भण्डारी केपी ओलीको विकल्प हुन् त ?
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणाले नेपाली राजनीतिमा तरङ्ग पैदा गरेको छ।
- यो कदमले एमाले र वामपन्थी आन्दोलनमा ऊर्जा थप्ने र विभाजित कम्युनिस्ट शक्तिहरूलाई एक बनाउन सक्ने सम्भावना छ।
- भण्डारीको पुनः प्रवेशलाई राष्ट्रिय आवश्यकताको रूपमा हेर्दै, यसले कम्युनिस्ट एकता र समाजवाद उन्मुख लोकतन्त्र निर्माणमा सहयोग पुर्याउन सक्नेछ।
७४औँ मदन भण्डारी जन्म जयन्तीका अवसर पारेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेको सक्रिय राजनीतिमा फर्किने घोषणाले नेपाली राजनीतिमा व्यापक तरङ्ग पैदा गरेको छ। यो कदम केवल व्यक्तिको निर्णय नभएर एक ऐतिहासिक चेतनाको पुनरागमन पनि हो।
यो घोषणालाई लिएर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र विद्या भण्डारीबिचको दूरीको बहस सुरु भएको छ। तथापि, म यस विश्लेषणसँग सहमत छैन । किनभने ओलीको विकल्प विद्या होइनन् र विद्या पनि ओलीको विकल्प होइनन्। यी दुवै नेता मदन भण्डारीका अंश हुन्।
‘अंश’ र ‘मूल’को सम्बन्ध दार्शनिक र ऐतिहासिक सन्दर्भमा विश्लेषण गर्नुपर्दछ। अंश मूलको विस्तार हो, विकल्प होइन। अंश विकल्प बन्न खोजे विनाश अनिवार्य हुन्छ—जसरी जालन्धर भगवान् शिवको विकल्प बन्न खोज्दा विनाश भएको थियो । तर हनुमानले शिवको अंश स्विकारेर चिरञ्जीवी बने, पूज्य बने।
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) नेपालको लोकतान्त्रिक कम्युनिस्ट आन्दोलनको आधारशिला हो। ओली र विद्या दुवै यो सिद्धान्तका वाहक हुन्। ओलीले व्यवस्थागत स्थायित्वको पक्षमा अग्रसर भूमिका खेलेका छन्। यस कुराको प्रमाण स्वयं ओलीले असार १३ गते मदन भण्डारीको ७४ औँ जन्मोत्सवको सम्बोधनमा उद्घोष गरे । मदनको विचार र व्यक्तित्वलाई जिम्मेवार र जिम्मेवारीमा रूपान्तरण गर्ने काममा आफ्नो भूमिका रहेको उल्लेख गरे। यता विद्याले जबजको सैद्धान्तिक र सांस्कृतिक पक्षमा जोड दिँदै आएकी छिन्।
राजनीतिमा विद्याको पुनः प्रवेशले एमाले मात्र होइन, समग्र वामपन्थी आन्दोलनमा ऊर्जा ल्याउन सक्छ। खासगरी विभाजित कम्युनिस्ट शक्तिहरूलाई एक सूत्रमा बाँध्ने सामर्थ्य विद्यामा देखिन्छ।
एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अन्य वाम घटकहरूबिच वैचारिक तथा साङ्गठनिक समन्वय गर्न विद्या जस्तो सैद्धान्तिक अनुशासन भएको नेतृत्वको आवश्यकता छ। वर्तमान अवस्थामा विद्या उन्माद र अहङ्कार वा महत्वकांक्षाको प्रतीक होइनन् अपितु सापेक्ष अनुभव र आवश्यकताको प्रतीक हुन्।
समाजवाद उन्मुख राज्य निर्माणको सन्दर्भमा जबजको प्रासङ्गिकता अझ गहिरो भएको छ। जबजले लोकतन्त्र र समाजवादबिचको सन्तुलन कायम गर्न सक्षम वैचारिक आधार प्रदान गर्छ। जुन बिपीको प्रजातान्त्रिक समाजवादसँग खासै भिन्न छैन। विगत दशकमा व्यवसायीकरण र सत्ता केन्द्रित राजनीतिले जनतासँगको सम्बन्ध कमजोर बनाएको सन्दर्भमा जबज र प्रजातान्त्रिक समाजवाद आधारित राजनीति एक विकल्प मात्र नभएर आवश्यकता बनेको छ।
एकातिर निरङ्कुशताका पक्षपोषण सल्वलाइरहेको वेला र अर्कोतिर अन्तर्राष्ट्रिय चरम अवसरवादले नेपालको स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि गिद्धेदृष्टि परिरहेको बेला विद्याको जबजको नेतृत्वको आकांक्षा सान्दर्भिक र परिणाममुखी हुनसक्छ।
विद्याको राजनीतिक पुनःसक्रियता केवल व्यक्तिगत आकांक्षा होइन । यो आन्दोलन, अनुशासन र विचारको निरन्तरतासँग सम्बन्धित छ। उनले राष्ट्रपतिका रूपमा संविधानको संरक्षण, लैङ्गिक समानता र राष्ट्रियताका मुद्दामा स्पष्ट अडान लिएकी थिइन्। यस्ता अनुभवसहित राजनीतिमा पुनः फर्किनु देशका लागि उपयोगी हुन सक्छ।
यदि एमाले नेतृत्वले विद्या भण्डारीलाई सैद्धान्तिक वैचारिक अभ्यासको थालनी गर्ने अवसर दिन सक्यो भने आजको राजनीतिक नैराश्य, अव्यवस्था र भ्रमको स्थितिबाट देशलाई निकास दिन सकिन्छ। जबजका मूल्यमा आधारित साझा राष्ट्रिय एजेन्डा तय गरेर कम्युनिस्ट एकता र समाजवाद उन्मुख स्थायी लोकतान्त्रिक गणतन्त्रको राजनीतिक परियोजना अगाडि बढाउन सकिन्छ।
यस अर्थमा, विद्या भण्डारीको राजनीतिमा पुनः प्रवेश स्वागतयोग्य छ। यो कुनै व्यक्तिको पुनरागमन नभएर विचार, अनुशासन र राष्ट्रिय आवश्यकताको समावेशी प्रयास हो। राष्ट्र, संविधान र समाजवाद उन्मुख राजनीति निर्माणका लागि यो निर्णय महत्त्वपूर्ण मोड बन्न सक्छ।
- अन्तर्राष्ट्रिय अभ्यासहरू
विद्या भण्डारीको राजनीतिक पुनः सक्रियतालाई ऐतिहासिक र अन्तर्राष्ट्रिय सन्दर्भमा हेर्ने हो भने, यस प्रकारको पुनरागमन कुनै नौलो घटना होइन। राष्ट्रपतिको जस्तो सम्मानित र औपचारिक पद सम्हालेपछि पनि केही व्यक्तित्वहरू विभिन्न देशमा सक्रिय राजनीतिमा फर्केका उदाहरण प्रशस्त छन्।
नेपालकै उदाहरण लिनुपर्दा मातृका प्रसाद कोइराला कार्यकारी प्रधानमन्त्री पद सम्हालिसकेपछि राजदूतका रूपमा पनि कार्यरत रहनुभयो। उहाँपछि पनि धेरै पूर्वराष्ट्रपति, प्रधानमन्त्री तथा उच्च पदस्थहरूले कूटनीतिक वा राजनीतिक भूमिकामा सक्रियता देखाएका छन्।
अन्तर्राष्ट्रिय सन्दर्भमा हेर्दा भारतमा ए.पी.जे. अब्दुल कलाम जस्तो व्यक्तित्व राष्ट्रपति भएपछि पनि शैक्षिक र वैज्ञानिक क्षेत्रमा अग्रसर भई नीति निर्माणमा सक्रिय रहे। यस्तै, प्रणव मुखर्जी राष्ट्रपति भएपछि पनि भारतीय राजनीति र शिक्षामा आफ्नो प्रभाव कायम राख्न सफल भए।
अमेरिकामा पनि राष्ट्रपति पद सम्हालेपछि बिल क्लिन्टन, बराक ओबामा लगायतका नेताहरूले ‘फाउन्डेसन’ मार्फत समाजमा योगदान पुर्याउँदै नीति निर्माण र नेतृत्व प्रशिक्षणमा सक्रियता देखाएका छन्। जर्मनीकी पूर्वचान्सलर एन्जेला मर्केलको भूमिकालाई पनि यसको सन्दर्भमा हेर्न सकिन्छ। सत्ता छोडेपनि उनी अन्तर्राष्ट्रिय राजनीतिक विमर्शमा प्रभावशाली रहेकी छन्।
यी दृष्टान्तहरूले देखाउँछन् कि राष्ट्रप्रमुख पदमा रहेपछि पनि राजनीतिमा सक्रियता वा पुनः प्रवेश कुनै अस्वाभाविक कार्य होइन। बरु अनुभव, ज्ञान र दृष्टिकोणका कारण यस्ता व्यक्तित्वहरूको पुनः सहभागिता बहुआयामिक लाभदायी हुन्छ।
विद्या भण्डारीले विगतमा देखाएको सैद्धान्तिक प्रतिबद्धता, संस्थागत स्थायित्वप्रतिको जोड, र राष्ट्रहितका मुद्दामा अडान आजको अस्थिरता र वैचारिक संकटको सन्दर्भमा अत्यन्त सान्दर्भिक छ। उनीजस्ता नेताको पुनः राजनीतिक नेतृत्वले वैचारिक अनुशासन, सशक्त साङ्गठनिक पुनःनिर्माण, र जबजको सिद्धान्तको सुदृढीकरणमा योगदान पुर्याउन सक्छ। किनकि उनले राजनीतिमा पुन सक्रियताको उद्देश्य कुनै महत्वाकांक्षासँग जोडेकी छैनन् मात्र देश र नागरीकलाई सेवा दिने अठोटमात्र छ ।
- विद्याको राजनीतिमा केपी ओलीको (अ)सहयोग
नेपालको समकालीन राजनीतिमा विद्या भण्डारी एक दृढ, आत्मविश्वासी र संघर्षशील पात्रको रूपमा चिनिन्छिन्। विद्यार्थी आन्दोलनदेखि महिलावादी राजनीतिक पहिचानसम्मको उनको यात्रा सजिलो थिएन। तर उनको राष्ट्रपतित्वको यात्रामा विशिष्ट मोडहरू छन्, जुन प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोग र समर्थनबाट सम्भव भयो।
श्रीमानको राजनीतिक यात्रालाई सफल बनाउन, देशमा स्वतन्त्रता र समानताको समाज निर्माण गर्ने अभियानमा लागेका आफ्ना श्रीमानको यात्रालाई ठेस लाग्न नदिन आफ्नो राजनीतिक चेत र संघर्षको इतिहासलाई सामान्य गृहिणीमा सीमित राखेकी विद्या आफ्नो श्रीमानको मृत्युपछि सक्रिय राजनीतिमा आइन् ।
उनी तत्कालीन नेकपा (एमाले) बाट सांसद बनिन् र पछि महिला नेतृका रूपमा स्थापित भइन्। उनको पहिचान स्वर्गीय मदन भण्डारीकी पत्नीका रूपमा मात्र होइन, आफूभित्रको राजनीतिक योग्यता र सङ्गठनात्मक क्षमताबाट निर्माण भएको हो।
तर उनको राष्ट्रिय राजनीति र उच्च पदमा उठ्नको लागि एक जना सशक्त पुरुष नेतृत्वको समर्थन निर्णायक बन्यो – केपी शर्मा ओली। एमालेभित्र महिला नेतृहरू सशक्त थिए, तर राष्ट्रपतिका रूपमा विद्या भण्डारीको नाम अघि सार्नु ओलीको रणनीतिक निर्णय थियो।
२०७२ सालमा संविधान जारी भएपछि राष्ट्रपतिका लागि नयाँ उम्मेदवार चयन गर्ने जिम्मा एमाले र माओवादी केन्द्र नेतृत्वको साझा निर्णयमा थियो। सोही क्रममा ओलीले बाम गठबन्धनको शक्ति उपयोग गरेर विद्यालाई राष्ट्रपति बनाउने राजनीतिक चातुर्यता देखाए।
विद्याको पहिलो कार्यकाल तुलनात्मक रूपमा औपचारिक भूमिकामा सीमित जस्तो देखिए पनि दोस्रो कार्यकाल (२०७५–२०७९) अत्यन्त राजनीतिक रूपमा सक्रिय भयो। संविधान कार्यान्वयनदेखि प्रधानमन्त्रीको नियुक्ति, संसद विघटनको संवैधानिक व्याख्या र सरकारको सिफारिसमा हस्ताक्षर नगरेका केही प्रसङ्गहरूले उनको भूमिका विवादास्पद देखिए।
यद्यपि, यी सबैमा पनि ओलीकै समीकरण थियो। दोस्रो कार्यकालमा विद्याको ‘संवैधानिक राष्ट्रपतित्व’ भन्दा ‘राजनीतिक राष्ट्रपतित्व’ बढी चर्चामा आयो। ती सबै चरणमा ओली–विद्या सम्बन्ध एक किसिमको आपसी विश्वास, गठबन्धन र ‘राजनीतिक आवश्यकताका रूपमा व्याख्या गर्न सकिन्छ।
हाल ओली प्रधानमन्त्री छन् र विद्या भण्डारी पूर्व राष्ट्रपति। तर दुबैका बिचको सम्बन्ध टुटेको छैन, केवल भूमिकाहरू फेरिएका छन्। विद्या भण्डारी संविधानको रक्षा र सामाजिक न्यायको प्रवक्ता बनेर पुनः सक्रिय राजनीतिमा देखा पर्दैछिन्।
अर्कोतर्फ, केपी ओली अझै पनि देशको कार्यकारी प्रमुख छन्। नेकपा एमालेको अध्यक्ष पनि । उनी स्वयं महिला सशक्तीकरणको वकालत गर्ने नेतामा गनिन्छन् र विद्या भण्डारीलाई राष्ट्रपति बनाउनु यसैको प्रमाण हो।
नेपालको आगामी राजनीतिक परिदृश्यमा विद्या भण्डारीको उपस्थिति अझ सशक्त हुँदै गएको देखिन्छ। यदि उनी फेरि राजनीति प्रवेश गर्दैछिन भने उनले आफ्नो बाटो कोर्न पूर्व सहकर्मी ओलीसँगको सम्बन्धलाई उपयोग गर्नेछिन्।
विगतमा जसरी ओलीले विद्याको राजनीतिक उदयको ढोका खोले, आगामी दिनमा पनि त्यो सम्बन्ध विघटन होइन, सहकार्यकै ढङ्गमा अघि बढ्न सक्छ। त्यसैले ओली विद्याका वाधक होइनन्, सम्भावित साधक हुन्। नकि विकल्प ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण