‘कुलिङ पिरियड’ प्रकरणमा माओवादीको ढुलमुल, कांग्रेसले नै सरकार ढाल्ने विश्वास
सारांश
- माओवादीले 'कुलिङ पिरियड' मा भएको चलखेलबारे गोलमटोल जवाफ दिँदै छानबिनको माग गरेको छ।
- माओवादीले 'भिजिट भिसा' प्रकरणमा सरकारको राजीनामा मागेको र संसद अवरोध गरेको थियो, तर पछि पछि हटेको थियो।
- माओवादीले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने आत्मविश्वास व्यक्त गरेको छ, र यसको लागि जागरण अभियान चलाएको जनाएको छ।
काठमाडौँ । ‘भिजिट भिसा’ प्रकरणमा सत्तापक्षसँग गरिएको दुई बुँदे सहमति ‘ब्याक फायर’ भएपछि चौतर्फी आलोचना खेपेको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले ‘कुलिङ पिरियड’ मा भएको चलखेल सम्बन्धमा गोलमोटल जबाफ दिएको छ ।
समसामयिक राजनीतिक घटनाबारे जानकारी दिन केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले गोलमटोल जबाफ दिएका हुन् ।
असार १६ गते प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती सेवा विधेयक–२०८० मा व्यवस्था भएको ‘कुलिङ पिरियड’लाई निष्प्रभावी पार्न चलखेल भएको विषयले राजनीतिमा निकै हलचल ल्याएको छ । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि गरमागरम बहस भयो ।
सरकारको नेतृत्व गरेको दल नेकपा एमालेकै सांसदले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा मागे । तर यस प्रकरणमा प्रमुख प्रतिपक्ष माओवादी रहस्यमय मौन देखिएको छ ।
कुलिङ पिरियडको सम्बन्धमा भएको गडबडबारे सत्यतथ्य छानबिन गर्न प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारसमक्ष माग गरे पनि समितिका सभापतिको राजीनामा माग गर्ने सम्बन्धमा उनी पनि तटस्थ देखिए । सञ्चारकर्मीको ‘कुलिङ पिरियड’मा माओवादीले जिब्रो चपाएको हो भन्ने प्रश्नमा उनले चित्तबुझ्दो जबाफ दिन सकेनन् ।
‘यसमा हामी प्रस्ट छौँ । कुनै जिब्रो चपाएका छैनौँ । यो राष्ट्रिय लज्जाको विषय हो । यसको नेतृत्व संघीय संसदको नेतृत्वले लिनुपर्छ । प्रमुख प्रतिपक्ष दल भएको हुनाले गम्भीर रूपमा अध्ययन र अनुसन्धान गरिरहेका छौँ । यसलाई सामान्य रूपमा लिएका छैनौँ । सरकारले छानबिन गरी सत्यतथ्य सार्वजनिक गरोस् । यदि भएन भने अर्कोपटक धारणा सार्वजनिक गर्छौं’, उनले भने ।
समितिबाट सर्वसम्मत् पास भएको विधेयकमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने स्पष्ट व्यवस्था भए पनि त्यसलाई उल्ट्याएर जालसाजी ढंगले कुलिङ पिरियड नराख्ने चलेखल भएको सापकोटाले आरोप लगाए । यसको सम्पूर्ण जिम्मेवारी प्रतिनिधि सभाका नेतृत्वले लिनुपर्ने उनले बताए ।
यसअघि ‘भिजिट भिसा’ प्रकरणमा सरकारका गृहमन्त्री रमेश लेखकसमेत जोडिएपछि माओवादीले पदाधिकारी बैठक बसेर गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको थियो । माओवादीले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने निर्णयसमेत गरेको थियो ।
विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका दलहरूसँग मिलेर १८ दिनसम्म माओवादीले संसद् अवरोध गरेको थियो । पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डबिच बुढानीलकण्ठमा भेटवार्ता भएपछि पूर्वनिर्णयबाट माओवादी केन्द्र एकाएक पछि हट्यो ।
सत्तापक्षसँग दुई बुँदे सहमति गरी माओवादीले संसदको अवरोध खुलाएसँगै पार्टीभित्र नेतृत्वको कमजोर निर्णयका कारण सदन र सडकमा रक्षात्मक बन्नुपरेको माओवादीकै नेताहरूले बताएका थिए । दुई बुँदे सहमतिले चौतर्फी आलोचना भएको घटनाबाट योपटक माओवादीका नेताहरू सचेत रहेको देखिन्छ । बरु निजामती विधेयकका कारण विद्यालय शिक्षा विधेयक प्रभावित भएको भन्दै तत्काल उक्त विधेयक अगाडि बढाउन माओवादीले आग्रह गरेको छ ।
- कांग्रेस–एमालेभित्र देखिएको अन्तरविरोधले सरकार ढल्ने निष्कर्ष
असार १६ गतेदेखि सानेपामा जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूले एमालेसँग गठबन्धन गर्नुको औचित्यबारे नेतृत्वमाथि प्रश्नैप्रश्न उठाएका थिए । सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२÷८३ को बजेटलाई लिएर सत्ताधारीकै सांसदहरू असन्तुष्ट देखिएका छन् ।
सोही बहसलाई लक्षित गरी सापकोटाले केपी ओली नेतृत्वको सरकार धेरै दिन नटिक्ने प्रवक्ता सापकोटाले दाबी गरे । यद्यपि सरकार ढाल्ने प्रमुख प्रतिपक्ष दलको कुनै योजना नरहेको उनको भनाइ छ ।
‘सानेपामा गरमागरम बहस भइरहेको छ । उकुसमुकुसको वातावरण छ । रोष्टमबाटै सत्ता पक्षका सांसदले सरकारको कामबारे जेहाद छेडिरहेका छन् । सबैभन्दा ठुलो दल नेपाली कांग्रेसमा सबैभन्दा ठुलो अन्तरविरोध पैदा भइराखेको छ । मलाई लाग्छ अन्तरविरोध, असन्तुष्टि र आक्रोशलाई कांग्रेस नेतृत्वले थाम्न सक्दैन । सरकारको कार्यशैलीलाई लिएर एमालेभित्र पनि त्यस्तै असन्तुष्टि छ । त्यसकारण सरकार धेरै दिन टिक्दैन’, उनले भने ।
सापकोटाले दुई ठुला दलको गठबन्धन सरकार निरंकुश तथा तानाशाही बाटोमा अगाडि बढेको आरोपसमेत लगाए । ओली सरकार बनेदेखि नै बिचौलियाको पक्षपोषण गर्ने काम गरेको, विपक्षी नेताहरूमाथि छानीछानी मुद्दा लगाएको, सत्ताको संरक्षणमा रहेका भ्रष्ट र माफियालाई जोगाउने काम गरेको उनले जिकिर गरे ।
यस्तै पूर्वराष्ट्रपति विद्या भण्डारीको एमाले राजनीतिमा पुनरागमनको विषयलाई आफूहरूले खास रूपले नहेरेको सापकोटाले जिकिर गरे । भण्डारीलाई माओवादीले उचालेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले माओवादीको कुनै हात नरहेको स्पष्ट पारे ।
- जागरण अभियानबाट निर्वाचनमा एक्लै लड्ने आत्मविश्वास प्राप्त
गत वर्ष सत्ताबाट हटेपछि पार्टीको आन्तरिक बैठक, छलफल र बहसका आधारमा पूर्व–पश्चिम दुई ठुला राजमार्ग केन्द्रित अभियान थालेको माओवादीले २०८४ को निर्वाचनमा एक्लै चुनाव लड्ने आत्मविश्वास पैदा भएको माओवादीले दाबी गरेको छ । आगामी दिनमा बस्ने केन्द्रीय समिति बैठकमा अभियानबाट आएका सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने र त्यसकै आधारमा समाजवादी क्रान्तिको रुपरेखा तयार पार्ने सापकोटाले बताए ।
‘हामी सत्ताबाट हटेपछि आफ्नै वर्ग, समुदायमा फर्केका छौँ । २०८४ यता हाम्रो सत्तामा कुनै इन्ट्रेस्ट छैन । पूर्व–पश्चिम राजमार्ग केन्द्रित ठुल्ठुला जागरण अभियानमा लाखौँ मानिस जोडिएका छन् । कांग्रेस, एमाले लगायत दलहरूबाट हजारौँ मानिस माओवादीमा प्रवेश गरेका छौँ’, सापकोटाले भने, ‘म दाबाका साथ के भन्छु भने माओवादीप्रति जनआकर्षण ह्वात्तै बढेको छ । यी सबै मूल्याङ्कनका आधारमा आगामी निर्वाचनमा माओवादीले एक्लै चुनाव लड्ने हैसियत बनाएको छ । त्यसको मापन २०८४ को निर्वाचनले गर्नेछ । वास्तवमै माओवादी ठुलो दल हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण