चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने
सारांश
- चितवनमा परियार समुदायको ज्ञान, सीप र क्षमता संरक्षण गर्न सङ्ग्रहालय निर्माण हुने भएको छ।
- सङ्ग्रहालय निर्माणका लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएको छ र दुई करोडको लागत अनुमान गरिएको छ।
- सङ्ग्रहालयले परियार समुदायको जातीय पहिचान, ज्ञान र सीपको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग गर्नेछ।
भरतपुर। चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने भएको छ । परियार एकता समाज चितवनको अगुवाइमा भरतपुर महानगरपालिका–२२ पटिहानीमा परियार समुदायको नेपालकै पहिलो सङ्ग्रहालय बनाउन लागिएको हो ।
परियार समुदायको ज्ञान, सीप र क्षमता संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न सङ्ग्रहालय निर्माण गर्न लागिएको परियार एकता समाज चितवनका अध्यक्ष सुरज परियारले जानकारी दिए। उनका अनुसार करिब रु दुई करोडको लागतमा सङ्ग्रहालय बनाउन लागिएको हो ।
अहिले भरतपुर महानगरपालिकाको सहयोगमा भवनको डिपीसीसम्मको काम सम्पन्न भएको छ । सभा हलसहित चार तलासम्मको भवन निर्माण गर्न लागिएको छ । “नयाँ पुस्तालाई आफ्नो परम्परागत पेसाबारे ज्ञान छैन”, उनले भने, “हाम्रो संस्कृतिको विषयमा अध्ययन गर्न मिल्ने गरी सङ्ग्रहालय बनाउन लागेका हौँ ।”
परियारको समुदायको दर्जी, सूचीकार, नगर्ची, ढोली, हुडकेलगायतका थर हुन्छन् । यो समुदायको मुख्य पेसा विवाह, जात्रा र पूजा जस्ता अवसरमा पञ्चेबाजा बजाएर कार्यक्रम आरम्भ गर्ने, सिलाइ र पोसाक बनाउने हो । आजभोलि परियार समुदायले अपनाउँदै आएको पेसा अन्य समुदायले अवलम्ब गर्न थालेको समाजका अगुवा शेरबहादुर परियारले बताए ।
“हामीले बाजा बजाउन, सिलाउन अन्य समुदायलाई सिकायौँ । तर हाम्रा छोराछोरी नातिनातिनाले सिकेनन्”, उनले भने, “अब संरक्षण गरिएन भने केही वर्षमा हाम्रो पेसाको इतिहाससमेत मेटिन सक्छ ।” उनले संस्कृति लोप हुन लागेकाले संरक्षणका लागि सङ्ग्रहालय बनाउन लागिएको बताए ।
सङ्ग्रहालय निर्माणका लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएको छ । यहाँबाट पञ्चेबाजा बजाउन सिकाउने र पुराना बाजाहरुको संरक्षणसमेत गरिने छ । परियार समुदायको पोसाकको संरक्षणसँगै विगतमा सिलाइकटाइ गर्दा प्रयोग गरिने सामग्रीको संरक्षणसमेत गरिने उनले जानकारी दिए ।
विगतमा जन्मदेखि मृत्युसम्म परियार समुदायले सिलाएको कपडा लगाउनेदेखि शुभ साइतका लागि बाजा बजाउने प्रचलन थियो । सङ्ग्रहालयले परियार समुदायको जातीय पहिचानसहित ज्ञान र सीपको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमानसमेत टेवा पुर्याउने विश्वास लिइएको छ ।
तीन वर्षमा निर्माण गरिसक्ने लक्ष्य राखेर थालिएको सङ्ग्रहालय निर्माणका लागि रु दुई करोडमध्ये हालसम्म भरतपुर महानगरपालिकाले रु १० लाख उपलब्ध गराएको छ भने बाँकी रकम जुटाउने क्रममा रहेको कोषाध्यक्ष डिल्लीबहादुर परियारले बताए ।
“भरतपुर महानगरपालिका, प्रदेश सरकार तथा विभिन्न सङ्घसंस्था र व्यक्तिहरूको सहयोग जुटाएर भवन निर्माण गर्न लागेका हौँ”, डिल्लीबहादुरले भने, “सबैको सहयोग भएमा परियार समाजको संस्कृतिलाई अध्ययन केन्द्रको रूपमा विकास गर्दैछौँ ।” नेपालमा परियार समुदायको जनसङ्ख्या छ लाखको हाराहारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण