बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समाजवादको लक्ष्य र पुष्पलाल मार्क्सवादी विश्वविद्यालय

सहिदसँग प्रतिस्पर्धा गर्न सकेको भए त म पनि सहिद भइहाल्थेँ नि !
बिहीबार, १९ असार २०८२, १२ : २१
बिहीबार, १९ असार २०८२

सारांश

  • पुष्पलाल मार्क्सवादी विश्वविद्यालय स्थापनाको प्रस्ताव गरिएको छ, जसले मार्क्सवादी दर्शनलाई बुर्जुवाकरणबाट मुक्त गर्ने लक्ष्य राखेको छ।
  • लेखमा सहिदहरूको स्मरण गर्दै वर्गसङ्घर्ष र सर्वहारा वर्गको नेतृत्वमा जोड दिइएको छ, र नेताहरूलाई जनताको सेवा गर्न आह्वान गरिएको छ।
  • अन्त्यमा, लेखकले एकताको महत्वमा जोड दिँदै, गुटबन्दी त्याग्न र सशक्त कम्युनिस्ट पार्टी निर्माण गर्न आह्वान गरेका छन्।

पुष्पलाल जन्मशताब्दी–कृष्णलाल बलिदान शताब्दी समारोह समिति र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले पुष्पलाल मार्क्सवादी विश्वविद्यालय प्रस्ताव गरेका छन् । यसले नेपालको मात्र नभएर विश्व–मार्क्सवादी दर्शन, विचार र राजनीतिलाई बुर्जुवाकरण, पेटी बुर्जुवाकरणबाट मुक्त गराई सर्वहारा वर्गको नेतृत्वमा ल्याउन र मार्क्सवादी आन्दोलन सफल फार्न ठूलो योगदान पुर्‍याउनेछ । यो दूरदर्शी र ऐतिहासिक प्रस्ताव प्रस्तुत गरेर बृहत् छलफलमा ल्याई ११ भन्दा बढी वामपन्थी पार्टी र जनस्तरबाटै पारित गराउने कार्य आयोजक संस्था र यसका अध्यक्ष अशोक सुवेदीबाट भएको छ । यो छिटोभन्दा छिटो सुरु गरेर प्रभावकारी ढङ्गमा सञ्चालन गरियोस् । 

यसक्रममा नेपालको राजनीतिक, साहित्यक, सांस्कृतिक क्षेत्रमा ऐतिहासिक महत्व राख्ने व्यक्तित्वहरू ‘मकैको खेती’ पुस्तक लेखेर निरङ्कुश जहानिया राणा शासनका विरुद्ध ललकार गर्ने र निर्भीकताकतापूर्वक जेलमै बलिदान गर्ने कृष्णलाल अधिकारी, राणाशासनविरुद्ध सङ्गठित रूपमा विद्रोह बोलेर हाँसीहाँसी छातीमा गोली थापेर बहादुरी प्रदर्शन गर्दै सहादत प्राप्त गर्ने गङ्गालाल श्रेष्ठ र नेपालबाट सबै किसिमका असमानता, शोषण, विभेदका विरुद्ध बलपूर्वक वर्गसङ्घर्ष सञ्चालन गरेर नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद स्थापना गर्ने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने पुष्पलालको जन्म जिल्ला आएर यी तीनै लालको जन्मस्थल पुग्ने, उहाँहरूको सालिकमा माल्यार्पण गर्ने, कृष्णलाल अधिकारीलाई प्रथम साहित्यिक सहिद घोषणा गर्ने र पुष्पलाल मार्क्सवादी विश्वविद्यालय स्थापनाको बहसमा भाग लिने अवसरसमेत प्राप्त भयो । 

यो अत्यन्तै दीर्घकालीन र ऐतिहासिक महत्वको अभियानमा सहभागी हुन पाउँदा खुसी पनि लागेको छ र यसको दीर्घकालीन महत्वप्रति गर्वबोध पनि भएको छ । माक्र्सवादमाथि चौतर्फी आक्रमण भइरहेको र पुष्पलालका योगदानहरूको भ्रष्टीकरण गरिँदै गरेको समयमा पुष्पलालकै नाममा मार्क्सवादी विश्वविद्यालय स्थापनाको प्रस्ताव र छलफल गरिनु विश्वकै मानव जातिका लागि महत्व राख्ने विषय हो । यो व्यापक, दूरदर्शी र महत्वपूर्ण विराट विषयका प्रस्तावक धन्यवादका पात्र छन् र यस विषयलाई हृदयङ्गम गर्दै सहभागी भएर समर्थन गर्ने व्यक्तित्वहरू पनि धन्य छन् ।

सबैभन्दा पहिला त म वर्गसङ्घर्षमा ठूलो त्याग, शौर्य र बलिदान गर्ने सहिदहरूको स्मरण गर्दछु । यहाँ नेपालका विभिन्न सङ्घर्षमा बलिदान गर्ने सहिद परिवारलाई सम्मान गरिएको छ, यो महत्वपूर्ण काम हो । उहाँहरूले सहादत प्राप्त गरेर यो देशबाट राणा शासन फ्याल्नका लागि ठूलो त्याग गर्नुभयो । सहिदहरूले त्याग र वीरता प्राप्त गरेको देश हो यो । ब्रिटिस इन्डियामा हुँदाखेरि ब्रिटिस इन्डियाले हामीलाई थिचोमिचो गर्ने सिलसिलामा हाम्रा दिदीबहिनीहरू, दाजुभाइहरू एक भएर लड्नुभयो । उहाँहरूको त्याग, शौर्य र बहादुरीले ब्रिटिस इन्डियाले हाम्रो देश गाभ्न सकेन । तर यसलाई उपनिवेशका रूपमा, आर्थिक रूपबाट, साम्राज्यवादी रूपबाट र व्यापारिक रूपबाट तीन किसिमले हामीलाई, यो देशलाई प्रभावमा पार्‍यो । दबाबमा राख्यो । मुख्य कुरा के हो भने पुष्पलालजीको देन र पुष्पलालका योगदानका बारेमा हामीले यहाँ सुन्दै र भोग्दै पनि आयौँ । उहाँको विचार र त्यागको सम्मान गर्नुपर्छ । म के चाहन्छु भने हामी सबै पार्टीहरू, एघार मात्रै होइन, नेपालभरि धेरै पार्टीहरू छन्, क्रूर राणाशाही र पञ्चायती व्यवस्थामा पनि यस्तै अवस्था थियो । महेन्द्रको कु पछाडि क्रूर पञ्चायती राज्यव्यवस्थामा पनि यस्तै अवस्था थियो । त्यसकारण यसरी हामी लड्दैभिड्दै आयौँ तर मुख्य कुरा हामीले वर्गीय रूपबाट कम्युनिस्ट पार्टी बनाउनु पर्छ भन्ने कुराचाहिँ हामीले बिर्सेको जस्तो लाग्छ । 

130

म प्रस्ट र खस्रो मान्छे छु, कोही रिसाए पनि केही मतलब छैन । मलाई मेरो देशको साह्रै माया छ । वास्तवमा भन्ने हो भने हामी राजनीतिक रूपमा बुर्जुवाहरूका सन्तान हौँ । हामी पेटी बुर्जुवा भएर हिँडेका छौँ किनकि हामीले पढेलेखेका पनि छौँ । हामी केही सोच्न पनि सक्छौँ । हामी केही गर्न पनि सक्छौँ तर वास्तवमा कम्युनिस्ट पार्टी भनेको सर्वहारा वर्गको नेतृत्वमा चल्ने पार्टी मात्र हो । त्यसरी गैरकम्युनिस्टहरूलाई भेला गरेर कुनै काम छैन । मैले झापामा पनि सर्वहारा वर्गको नेतृत्वमा पार्टी चलाउन भनेर धेरै कोसिस गरेँ । तर पेटी बुर्जुवाहरू पार्टीमा छिरे । हामीभित्रै केही बुर्जुवा पनि थिए । जस्तो कि अहिले कम्युनिस्ट पार्टीले शासन गरेको भन्न मनपराउने प्रधानमन्त्रीको कुर्सीमा रहेका केपी ओलीजीलाई पनि हामी देखिरहेका छौँ । त्यसकारण म के भन्छु भने यो भ्रम जुन हामीले बोकेका छौँ, हामी कम्युनिस्ट हौँ र त्यो हामीले गर्नुपर्छ भनेर, त्यो होइन । हामी कम्युनिस्ट बन्न चाहन्छौँ भने सर्वहारा वर्गको सेवा गरौँ । मुख्य कुरा यो हो । अहिलेका नेताहरूको कुरा गर्ने हो भने उनीहरूसँग मेरो विगतमा पनि कन्ट्राडिक्सन (विमति) थियो, अहिले पनि छ र पछि नरहोस् भन्ने चाहना भएको हुनाले मैले आफ्नो कुरा प्रस्ट राख्ने कोसिस गरेको हुँ । 

म प्रस्ट र खस्रो मान्छे छु, कोही रिसाए पनि केही मतलब छैन । मलाई मेरो देशको साह्रै माया छ । वास्तवमा भन्ने हो भने हामी राजनीतिक रूपमा बुर्जुवाहरूका सन्तान हौँ । हामी पेटी बुर्जुवा भएर हिँडेका छौँ किनकि हामीले पढेलेखेका पनि छौँ ।

अब सर्वहारा वर्गको नेता बन्ने भन्ने होइन, सर्वहारा वर्गको सेवा गर्ने कुरा गर्नुस् । माओ त्सेतुङले सर्भ द पिपुल (जनताको सेवा गर) भन्नुभयो । त्यस हिसाबले हामीले सर्वहारा जनताको सेवा गर्नुपर्छ । पहिले सर्वहारा वर्गलाई उत्थान गर्ने, सर्वहारा वर्गको भनाइ मान्ने र सर्वहारा वर्गलाई गोलबन्द गरेर त्यसको नेतृत्वमा त्यो वर्गले के भन्छ, त्यसलाई के चाहिएको छ, त्यो बुझौँ । त्यसपछाडि उसको भलाइमा उसले दिएको लाइनको हिसाबले जान खोज्यौँ भने हामी पेटी बुर्जुवाहरूबाट कम्युनिस्ट पार्टीको सदस्य हुन लायकको हुनेछौँ । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले हामीलाई त्यस मार्गतर्फ अग्रसर गराउनेछ ।

मैले भनेको कुरा साह्रै तीखो छ । तपाईंहरूलाई चित्त बुझ्दैन होला र पनि मैले बाध्य भएर भनेको छु । हामीले के कुरा बुझ्नु पर्‍यो भने हामीले सर्वहारा वर्गलाई र मजदुर–किसानहरूलाई एक बनाएर समाजवादीकरणको अभियानमा लगाउन सकेनौँ भने हाम्रो देश अब डुब्नेवाला छ । पेटी बुर्जुवाहरूका सन्तानहरूले, जस्तै उदाहरणका लागि केपी ओली जमिनदारका नाती हुन् । मैले त केपी ओलीलाई राम्रोसँग चिनेको छु । म के भन्छु भने अहिले पनि उहाँले आफ्नो मुखले यो कम्युनिस्ट पार्टीको शासन व्यवस्था हो भनेर भनिरहनुभएको छ तर वास्तवमा केपी ओलीको मात्र होइन, न प्रचण्डको, न माधव नेपालको, न तपाईंहामीको कसैको पनि राज्यव्यवस्थामा हथकण्डा जमाउन सक्यौँ भनेदेखि पनि हामीले सर्वहारा वर्गको शासन व्यवस्था ल्याएको हुँदैन । त्यो समाजवादी व्यवस्था हुनेछैन । त्यहाँ सर्वहारा वर्गको नेतृत्व चाहिन्छ । सर्वहारा वर्गको सम्मानित आदर्शका कुराहरू ‘इम्प्लिमेन्ट’ गर्न हामी किन चाहन्छौँ भने त्यसपछि मात्र हामी सर्वहारा वर्गका साथी हुन सक्छौँ । अन्यथा हामीले उनीहरूलाई गुमराहमा राखेर, हामी नेता भएर बसेको जस्तो हुनेछ । त्यसकारण म तपाईंहरूसित विनम्र अनुरोध गर्छु– सर्वहारा वर्ग, मजदुर, किसानहरूको आन्दोलनमा बारम्बार धोका भइरहेको छ । किन र कसरी धोका हुँदै गयो भने ओलीले झापाकालमा पनि केही काम गर्नुभएको होइन । उहाँ आन्दोलनको विरोधी हो र २०४१ सालमा उहाँले आफ्नो सेन्ट्रल कमिटी ‘डिग्रेड’ गर्नुपर्ने थियो, मैले गर्न सकिनँ भनेर पछुताउनुभएको व्यक्ति हो । उहाँ कुनै कम्युनिस्ट पनि होइन । त्यसकारण हामी, म नै त्यहाँ गएर प्रधानमन्त्री भए पनि त्यो कम्युनिस्ट पार्टीको समाजवादी राज्यव्यवस्था हुनेछैन । हामी पहिले प्रस्ट हुनुपर्‍यो । हामी कसको नेतृत्वमा जान्छौँ भन्दाखेरि सर्वहारा वर्गको नेतृत्वमा, मजदुर–किसानको नेतृत्वमा जान्छौँ भनेर हामी प्रस्ट हुनुपर्‍यो । अनि मात्रै हामी त्यो वर्गसित घुलमिल गर्न सक्छौँ, त्यो वर्गको मान्छेलाई उठाउन र सँगै लिएर हिँड्न सक्छौँ । 

117

मैले झापामा ‘स्ट्रगल’ (विद्रोह/सङ्घर्ष) सुरु गरेको बेलामा मलाई के थाहा छ भने एकचोटि एउटा बूढो सतार ‘कमरेड’लाई सम्झाउनु पर्‍यो । उनको नातीचाहिँ नेपाली बोल्थे । बुढा नेपाली बुझ्दैनथे । यस्तो समस्या परेपछि शनिबारको दिन सतार बुढाका नातीको बिदाको दिन पारेर घरमा गएँ र नातीलाई भनेर बुढालाई सतार भाषामा सम्झाउन लगाएर पार्टी सम्पर्कमा ल्याएर बनाएको थिएँ । यसरी मैले मजदुर–किसानको सेवाका लागि मजदुर–किसानहरूकै झुप्राछाप्रामा बसेर सङ्गठन निर्माण र सर्वहारा वर्गको सेवा गरेको थिएँ ।

 मैले रामनाथ दाहाल सहिदको जस्तो काम गर्न सकिनँ होला, सहिदसँग प्रतिस्पर्धा गर्न सकेको भए त म पनि सहिद भइहाल्थेँ नि ! उहाँहरूलाई गोली ठोक्यो, मलाई त छोडिदियो । पछिबाट जेलमा पठायो । त्यसकारण मलाई के लाग्छ भने हामीले बुझ्ने भन्ने कुरा खास गरेर नेताको पछाडि लाग्ने होइन । नेताहरूले के भन्नुहुन्छ भनेर लाग्ने बित्तिक्कै तपाईं–हामी फस्छौँ । हामीलाई जनताको सेवक बन्नु छ । व्यक्तिगत रूपमा पनि सेवा गर्ने कुरा हो र कलेक्टिभ (सङ्गठित) रूपमा पनि सेवा गर्ने कुरा हो । त्यसकारणले मुख्य कुरा सर्वहारा र मजदुर–किसानको सेवा गर्न हामीले सिक्नुपर्छ । तब मात्र देशमा समाजवादी व्यवस्था ल्याउनका निम्ति नौलो जनवादी क्रान्ति सम्पन्न हुनेछ । मैले २०१९ सालमै तेस्रो महाधिवेशनमा ‘न्यु डेमोक्रेसी’ (नयाँ जनवादी क्रान्ति) को कार्यदिशाको लाइन प्रस्तुत गरेको हुँ । म आजसम्म पनि त्यही क्रान्तिकारी लाइनमा छु । पुष्पलालको मार्गमा हिँड्नु र पुष्पलाल मार्क्सवादी विश्वविद्यालय स्थापना गर्नु भनेको क्रान्तिको बाटोमा हिँड्नु हो । समग्र समाजलाई आमूल परिवर्तनको बाटोमा लाग्न उत्प्रेरणा प्रदान गर्नु हो । यो आवश्यक छ ।

त्यसकारण यसरी विभिन्न ११ वटा पार्टी/समूह/गुटमा रहनुभएका साथीहरूलाई भन्छु– गुटका हिसाबले चल्दाखेरि हामी टुक्राटुक्रा हुन्छौँ । धेरै गुटहरू हुँदाहुँदै झापा स्ट्रगल (विद्रोह/सङ्घर्ष) गरिएको हुनाले म तपाईंहरूसित विनम्र आग्रह गर्दछु– तपाईंहरूले अब आफ्नाआफ्ना गुटलाई कसरी अपनाउनुहुन्छ भन्ने कुराभन्दा पनि मुख्य कुरा हो– हाम्रो एकताको कुरा । जब एकता हुन्छ, तब मात्र हामी शक्तिशाली हुन्छौँ । अनि हामी मजदुर–किसानलाई गोलबन्द गर्न सक्छौँ र हामीले राज्य जित्न सक्छौँ । अन्यथा सर्वहारा वर्गको जित हुनेछैन ।

मैले रामनाथ दाहाल सहिदको जस्तो काम गर्न सकिनँ होला, सहिदसँग प्रतिस्पर्धा गर्न सकेको भए त म पनि सहिद भइहाल्थेँ नि ! उहाँहरूलाई गोली ठोक्यो, मलाई त छोडिदियो । पछिबाट जेलमा पठायो ।

 प्रचण्डजीलाई पनि मैले त्यतिबेला भनेको थिएँ, उहाँले अहिले पनि दुःख नमान्नुहोला, माओवादी साथीहरु पनि पीडामै हुनुहुन्छ । उहाँहरूले त दस वर्षसम्म लडेरै देखाउनुभयो । तर मैले प्रचण्डलाई प्रस्ट भनेको थिएँ– अहिलेकै अवस्थामा हतियारबन्द आन्दोलनको आवश्यकता होइन । उहाँहरूले मलाई पनि भन्नुभएको थियो, तपाईं पनि जनयुद्धमा हिँड्नुस्, हामी जाँदैछौँ भन्नुभएको थियो । झापाको जस्तै आन्दोलनलाई निरन्तरता दिऊँ भन्नुभएको हो । तर उहाँहरूलाई मैले प्रस्ट भनेको थिएँ– तपाईंहरू कहाँ पुग्नुहुन्छ, म पनि यहाँबाट हेरिरहन्छु । परिस्थितिले त्यो अवस्था ल्याउने हो, त्यतिबेला म हेरुँला । 

आखिरमा गएर गिरिजाबाबुको पालामा रेड आर्मी (लालसेना/जनसेना) लाई श्वेत आर्मीमा मिलाएको होइन ? सहिद, बेपत्ता, घाइतेको नामको लाखौँकरोडौँ डलर खाएको कुरा आएको होइन ? ती गुरिल्लाहरूका नाममा उठाएको पैसाको प्रश्न उठ्दा प्रचण्ड कमरेडहरूसँग के जबाफ हुन्छ ? हिजो जनयुद्धमा लड्नेहरूको, खुट्टाविहीन, हातविहीन कमरेडहरूको हालत अहिले के छ ? कति साथीहरूले कुर्बानी दिएका थिए ! कतिले निर्भीकतापूर्वक लड्नु–भिड्नुभयो ! आखिरमा त्यत्रो त्याग गरेको लालसेनालाई श्वेतसेनामा लगेर विलीन गराइदिनुभयो । त्यसकारणले म तपाईंहरूलाई अहिले पनि विनम्र अनुरोध गर्दछु– तपाईं–हामीले देखेको कुरा गर्ने हो । हाम्रो सिचुएसन (परिस्थिति) मा अब हतियार उठाउनै पर्ने स्थिति आउनेवाला छ । 

अब जसरी केपी ओलीको शासन व्यवस्थामा नेपाललाई उनीहरूको भनाइअनुसार गराउने, एउटा समाजवादी मुलुक वा गणतन्त्र भनेर जसरी व्याख्या गरेर हाम्रा साथीहरूलाई अलमल्याउनुभएको छ, त्यो गणतन्त्र पनि होइन, समाजवाद पनि होइन । मुख्य कुरा पेटी बुर्जुवाहरूको आफ्नो रजाइँको कुरा हो । आफ्नो सोच र चिन्तनको कुरा हो । त्यसकारणले तपाईंहरूसित विनम्र निवेदन गर्दछु– आफ्नो गुटलाई त्यागौँ र एउटा सशक्त कम्युनिस्ट पार्टी बनाऊँ । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले त्यो वातावरण प्रदान गर्नेछ ।

(पुष्पलाल जन्मशताब्दी कृष्णलाल बलिदान शताब्दी समारोह समिति र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले कृष्णलाललाई प्रथम साहित्यिक सहिद र पुष्पलाल मार्क्सवादी विश्वविद्यालय घोषणाका लागि रामेछापमा आयोजना गरेको बृहत् विचारगोष्ठीमा अभिनन्दित भएपछि वरिष्ठ वामपन्थी नेता अधिकारीबाट व्यक्त विचार सम्पादन र परिमार्जनसहित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहनचन्द्र अधिकारी
मोहनचन्द्र अधिकारी
लेखकबाट थप