बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लिभरपुलका फरवार्ड जोटाको दुर्घटनामा मृत्यु

बिहीबार, १९ असार २०८२, १४ : ३५
बिहीबार, १९ असार २०८२

काठमाडौँ । पोर्चुगिज फुटबलर डिओगो जोटा कार दुर्घटनामा निधन भएको छ ।

लिभरपुलका फरवार्ड सवार कार स्पेनको जमोरामा स्थानीय समयअनुसार बुधबार मध्यरातमा दुर्घटना भएको बीबीसीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान सुरु भएको छ ।

कारमा सवार उनको भाइ आन्द्रे फिलिपेको पनि निधन भएको छ । २६ वर्षीय फिलिपे पोर्चुगलको दोस्रो डिभिजन टोली एफसी पेनाफियलका लागि खेल्छन् । 

जोटाले गत महिना पोचुगलसँग नेसन्स लिगको उपाधि जितेका थिए । उनी आगामी जुलाई २६ मा लिभरपुल र एसी मिलानबिच हुने खेलका लागि हङकङ पुग्ने तयारीमा थिए । 

२८ वर्षीय जोटा सन् २०२० मा वुल्भ्सबाट लिभरपुलमा ४.१ करोड पाउन्डमा अनुबन्ध भएका थिए । उनले रेड्सका लागि १८२ खेलमा ६५ गोल गरेका छन् ।

उनले गत सिजन लिभरपुलसँग प्रिमियर लिगको उपाधि जितेका थिए । साथै एफए कप कम्युनिटी शिल्ड र काराबाओ कप जितेका थिए । 

जोटाले दुई हप्ता अघि मात्र विवाह गरेका थिए । उनी सन् २०२५ को जुन २२ मा रुटे कारडोसोसँग विवाह बन्धनमा बाँधिएका थिए । 

Diogo-Jota-3

सन् १९९६ डिसेम्बर ४ मा पोर्चुगलको पोर्टोमा जन्मिएका जोटाले आफ्नो व्यावसायिक फुटबल यात्रा पोर्चुगलबाटै सुरु गरेका थिए । आफ्नो दृढ संकल्प र उत्कृष्ट कौशलका कारण उनले छोटो समयमै युरोपभरि चर्चा कमाए । 

दायाँ खुट्टाले खेल्ने उनी आक्रमणको अग्रपंक्तिमा खेल्न माहिर छन् र आवश्यकताअनुसार बायाँ वा दायाँ विङ्गरको भूमिका पनि निभाउन सक्छन् । 

लिभरपुल आएपछि उनी प्रशिक्षक योर्गेन क्लोपको टोलीको एक अभिन्न अंग बनेका थिए । उनको मैदानमा देखिने ऊर्जा, गोल गर्ने क्षमता र जुनसुकै आक्रमणकारी भूमिकामा फिट हुने खुबीका कारण उनी युरोपेली फुटबलमा चर्चित थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप