बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उपचारमा लापरबाही : कालोपट्टी बाँधेर फैसलाको विरोध गर्नेलाई ७ दिनभित्र जवाफ दिन आदेश

शुक्रबार, २० असार २०८२, ०८ : ५१
शुक्रबार, २० असार २०८२

सारांश

  • उपभोक्ता अदालतको आदेश विरुद्ध विरोध गर्न आह्वान गर्ने नेपाल मेडिकल एसोसिएसनका महासचिवलाई लिखित जवाफ पेश गर्न आदेश।
  • उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको अवहेलनासम्बन्धी निवेदनमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गर्यो।
  • चिकित्सकीय लापरबाही विरुद्ध क्षतिपूर्ति तिराउने अदालतको निर्णयको विरोधमा विज्ञप्ति निकालेको आरोप छ।

काठमाडौँ । बिरामीको उपचारमा लापरबाही गर्ने अस्पताल र चिकित्सकविरुद्ध क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको आदेशविरुद्ध कालोपट्टी बाँधी विरोध गर्न आह्वान गर्ने नेपाल मेडिकल एसोसिएसनका महासचिव सञ्जीव तिवारीलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको अदालतको अवहेलनासम्बन्धी निवेदनमा बिहीबार उच्चका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफसहित आफै उपस्थित हुन तिवारीका नाममा आदेश जारी गरेको हो ।

चिकित्सकीय लापरबाही, त्रुटि र हेलचेक्र्याइँ पछिल्लो समय उपभोक्ता अदालतले धमाधम क्षतिपूर्तिको सजाय सुनाइरहेको छ । त्यसैविरुद्ध महासचिव तिवारीले एसोसिएसनका नाममा विज्ञप्ति जारी गर्दै कालोपट्टी बाँधेर सेवा प्रदान गर्न आह्वान गर्दै विज्ञप्ति निकालेका थिए ।

उपभोक्ता अदालतमा डा तिवारीका आफन्त डाक्टर ज्योत्सना शर्माको लापरबाहीका कारण बिरामीको मृत्यु भएको मुद्दा पनि विचाराधीन अवस्थामा रहेकाले तिवारीले एसोसिएसका नाममा विज्ञप्ति निकालेर दबाब दिइरहेको दाबीसहित उच्चमा उपभोक्ता हित संरक्षण मञ्चले अवहेलनाको निवेदन दर्ता गरेको थियो । यस्तै तिवारीले पीडितलाई समेत दबाब दिइरहेको आरोप उपभोक्ता हित संरक्षण मञ्चको छ ।

उपभोक्ता अदालतको काम कारबाहीलाई प्रभावित पार्ने गरी अदालतको अपहेलना गर्ने, कानुनको अपव्याख्या गर्ने, पूर्णपाठ नै तयार नभएको अवस्थामा अदालत र फैसलाउपर गलत सन्देश प्रवाह गर्ने, अदालतविरुद्ध कालोपट्टी बाँधी विरोध गर्न प्रेसनोट जारी गर्ने आदि कार्य गरी गलत सन्देश प्रवाह गर्ने कार्य गरेको भन्दै एसोसिएसनका महासचिव तिवारीलाई अवहेलनामा कारबाही गर्न माग निवेदनमा गरिएको छ ।

514320312_1358957941863583_4271233478475913864_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप