पाँच सयका भारतीय नोटबारे संसदीय समितिमा बहस, के भन्छ राष्ट्र बैंक ?
सारांश
- अर्थ समितिमा भारतीय नोटबारे बहस भयो, जसमा सांसदहरूले भारु नोट ल्याउन कडाइ गर्दा पर्यटनमा असर परेको बताए।
- नेपाल राष्ट्र बैंकले भारु नोट ल्याउन कडाइ गरेको र यसले व्यवसायी तथा होटलमा नकारात्मक प्रभाव पारेको सांसदको भनाइ छ।
- बैठकमा गभर्नरले जवाफ दिन नसकेपछि कार्यकारी निर्देशकले ५ हजार डलरसम्मको भारु नोट ल्याउन सकिने तर ५०० को नोट प्रतिबन्धित भएको बताए।
काठमाडौँ । अर्थ समितिका पछिल्ला बैठकमा भारतीय नोटबारे गर्मागर्मी बहस हुन थालेका छन् । गभर्नर सम्मिलित बैठकमै खासगरी भारतबाट नेपाल आउँदा भारु नोट कम ल्याउन दिइएको कारण नेपालमा आउने भारतीय पर्यटकहरूले खर्च गर्न नपाएको भन्दै समिति बैठकमा सांसदहरूले प्रश्न उठाए।
अर्थ समितिको बिहीबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल आउने भारतीयलाई भारु नोट ल्याउन कडाइ गरिएकै कारण धेरै होटलहरुमा चहलपहल घटेको बताए ।
प्रमुख सचेतक शाहीले भने– ‘नेपालमा होटल खोलेको धेरैभन्दा धेरै जसो हाम्रो छिमेकी राष्ट्र भारतबाट पर्यटक आउँछन् भनेर हो । यहाँ मान्छेहरूले ठूला ठूला होटलहरुमा करोडौँ लगानी गरिएका छन् । बोर्डर साइटमा पूर्वको धुलाबारीदेखि पश्चिमको दोधारा चाँदनीसम्म हरेक पाँच किमिमा थ्री स्टार लेभलका होटलहरु चलाइएका छन् । ती होटल किन खोलिएका हुन् भने भारतीय पर्यटकहरू आउन र खर्च गरुन् भनेरै हो । तर नेपाल राष्ट्र बैंकको नियम एउटा सीमा राखेर भारु नोट ल्याउन पाउने नीति बन्यो । त्यो नीतिका कारण नेपालका व्यवसाय ठप्प भयो । नोट ल्याउन नपाउने भन्नेमा संवैधानिक व्यवस्थामा कुनै अड्चन पनि छैन ।’
उनले भने, ‘कुनै नेपालमा ऐन पनि बनेको देखिन्न । यो नेपाल राष्ट्र बैङ्कका गभर्नरले एउटा निर्देशिका जारी गरेकै भरमा रोकिएको छ । यसले नेपालको इकोनोमी ठप्प पार्न थालिसक्यो । यो के भएको हो हामीलाई जानकारी चाहियो ।’
भारु नोटबारे शाहीले मात्रै प्रश्न सोधेनन् अर्का सत्ता घटक एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले समेत प्रश्न गरे । उनले नेपालको नीतिका कारण भारुमा ल्याउन नपाएको र पर्यटन क्षेत्र प्रभावित भएको बताए ।
एमाले सांसद थापाले भने– ‘पर्यटकहरूलाई आकर्षित गर्ने र अर्थतन्त्रलाई त्यसले महत्त्वपूर्ण टेवा पुर्याउने गरी पोलिसिका बारेमा हामी छलफल गर्छौँ । तर तीन वर्ष भो हामी कहाँ आउने भारतीय पर्यटकले खर्च गर्न रकम ल्याउन नपाउने स्थिति रह्यो । हाम्रा कानुनका कारणले यो स्थितिको अन्त्य गर्नुपर्छ । हाम्रा पोलिसिले कन्ट्रोल गरेको छ र इकोनोमीले क्षति गरेको छ भने एक्सन लिनुपर्छ ।’
शाही र थापाको प्रश्नको जवाफ दिन अर्थ समिति सभापति सन्तोष चालिसेले गभर्नर विश्वनाथ पौडेललाई निर्देशन दिए । तर उनले दिन चोहएनन् । बैठकमा सहभागी राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई गभर्नर पौडेलले जवाफ दिन आग्रह गरे । कार्यकारी निर्देशक पौडेलले भारतीय नागरिकहरूले भारतमा आयआर्जन गरेको रकम नेपाल ल्याउँदा एक सय भन्दा माथिका ठुला नोटहरू ल्याउन नपाइने बताए ।
कार्यकारी निर्देशक पौडेलले भने– ‘भारतीय नागरिकहरूले भारतमा आयआर्जन गरेको रकम नेपाल ल्याउँदा एक सय भन्दा माथिका ठुला नोटहरू ल्याउन पाइँदैन । एउटा पनि पाइँदैन । त्यो भनेको नेपाल र भारतको आफ्नो नीतिगत व्यवस्थाले गर्दा हो । तर ५ हजार डलर बराबरको भारतीय रुपैयाँ भन्सार जाँच पास गराएर ल्याउन सकिन्छ । त्यो भनेको सय त्यो भन्दा तलका साना नोट ल्याउनुपर्छ । पाँच हजार डलर त्यो भनेको करिब ४ लाख भारुसम्म ल्याउन सकिन्छ । स्पष्ट पार्न चाहन्छु ।’
कार्यकारी निर्देशक पौडेलका अनुसार ५ हजार डलरभन्दा बढी वा सो बराबरको अन्य विदेशी मुद्रा ल्याउनुपर्दा भन्सार जाँच पास गराएर ल्याउनुपर्छ । १० लाख नेपाली रुपैयाँ भन्दा बढिको क्यास लिएर आवाजजावत गर्न विशेष कारण परेको बेलामा मात्रै पाइन्छ । अन्य बेला नपाइने उनले बताए ।
राष्ट्र बैङ्कका निर्देशक पौडेलको जवाफमा शाहीले चित्त बुझाएनन् । शाहीले पाँच सयका भारु नोट नेपालमा के कारणले प्रतिबन्ध गरियो भन्दै प्रश्न तेर्स्याए । उनले भारतमा २ हजारका नोट पनि चल्ने तर नेपालमा पाँच सयका भारु नोट नचल्ने त्यस्तो हुन नसक्ने बताए ।
समिति सभापतिले समेत शाहीको प्रश्न सही भएको भन्दै पाँच सयको नोट कुन कानुनले ल्याउन नपाउने हो जवाफ दिन राष्ट्र बैङ्कका निर्देशक पौडेललाई फेरि रुलिङ गरे । जवाफमा पौडेलले नेपालका बैङ्कहरूसँग एक सय र पाँच सयका धेरै नोटहरू रहँदा रहँदै जब भारतमा रातारात पाँच सयका नोटमा प्रतिबन्ध लगाइयो त्यसबाट औपचारिक रूपमा ती नोट भारतलाई बिक्री गर्ने अवस्था नरहेको बताए । उनका अनुसार धेरै पटक भारतलाई आग्रह गर्दा पनि अहिले पनि पुराना नोट नसाटिँदा थुर्पै भारतीय नोट यथावत् छन् ।
बिचमा भारतसँग एउटा छलफल भएको उनले बताउँदै भारतीय पक्षले एक सयभन्दा बढीका भारु नोट नेपालमा ल्याउन पाइने तर नागरिकले बोकेर लैजान नपाउने कुराकानी भएको बताए । सोही नियम भारतमा लागू गरिएको समेत उनले बताए । नागरिकले ठुला भारतीय नोट बोकेर हिँड्दा ती नोटले नेपाली नोटलाई विस्थापित गर्न सक्ने अर्को जोखिम भएकाले त्यसमा राष्ट्र बैंकले पनि कडाइ गर्न बाध्य भएको उनले बताए ।
भारतीय नोटका बारेमा अर्थ समितिको शुक्रबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिएका छन् । उनकाअनुसार नेपालका कारणले मात्रै नभई भारतीय कारणले कडाइ भइरहेको छ । उनकाअनुसार भन्सारमा घोषणा नगरी ४ लाख र घोषणा गरेर ६ लाख भारू ल्याउन सकिन्छ । क्युआर कोड र कार्डबाट भुक्तानी गर्न सकिन्छ । ५०० भारुको नोटबारे नेपालको मात्र निर्णयले भारतमा फिर्ता हुने अवस्था नरहेको अर्थमन्त्री पौडेलले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण