सिंगापुरलाई हराउँदै लगातार दोस्रो पटक उपाधि जित्ने नेपालको लक्ष्य
सारांश
- एसीसी यू-१६ इस्ट जोन कप २०२५ को फाइनलमा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ।
- नेपालले प्रतियोगितामा अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको छ, जसमा रौनक श्रीवास्तवले सर्वाधिक रन बनाए।
- बलिङमा विपिन प्रसाद शर्माले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक विकेट लिएका छन्।
काठमाडौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को उपाधिका लागि शनिबार बिहान नेपालले सिंगापुरको सामना गर्दैछ । खेल मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार बिहान ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
नेपाल प्रतियोगिताको साबिक विजेता पनि हो । नेपालसँग लगातार दोस्रो पटक यो उपाधि जित्ने अवसर रहेको छ । नेपालले पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो ।
फाइनलसम्म नेपालको यात्रा
नेपालले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको हो । फाइनलिस्ट रहेका नेपाल र सिंगापुर दुवै समूह चरणमा एउटै समूह ‘ए’ मा थिए । नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने सिंगापुर उप–विजेता बनेर सेमिफाइनलमा पुगेको थियो ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले हरायो ।
तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल अन्तरको जित हात पारेको थियो । पहिलो ब्याटिङ गर्दै नेपालले ५ विकेटको क्षतिमा ४२० रन बनायो । जवाफमा इन्डोनेसियाको टोली २४।३ ओभरमा मात्र ५० रनमा अलआउट हुन पुग्यो ।
समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गरेको थियो । भुटानविरुद्ध पनि नेपालले २९८ रनको प्रभावशाली जित निकाल्यो ।

नेपालले पहिलो ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ३५८ रन बनाएको थियो । तर, जवाफी ब्याटिङमा उत्रेको भुटानले ३२।४ ओभरमा सबै विकेट गुमाएर ६० रन मात्र जोड्न सक्यो ।
नेपालले पहिलो सेमिफाइनल खेलमा मलेसियाको सामना गरेको थियो । सुरुवाती ब्याटिङ गरेको मलेसियालाई नेपालले ४३।१ ओभरमा मात्र ९० रनमा सीमित गर्यो । मलेसियाले प्रस्तुत गरेको झिनो लक्ष्य नेपालले मात्र ११।४ ओभरमा १ विकेटको क्षतिमा पछ्यायो ।
उता, सिंगापुरले दोस्रो सेमिफाइनलमा हङकङ चाइनालाई ४ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गर्यो ।

विस्फोटक ब्याटिङ
प्रतियोगितामा नेपालका लागि रौनक श्रीवास्तवले ५ खेलको ३ इनिङ्समा ९८।६७ को औसतले सर्वाधिक २९६ रन बनाएका छन् । उनी प्रतियोगितका उच्च स्कोरर पनि हुन् ।
उनले हालसम्म एउटा शतक र एउटा अर्धशतक बनाएका छन् । उनको उच्च स्कोर १६८ रन हो । उनले यस क्रममा २९ चौका र ८ छक्का प्रहार गरेका छन् ।
त्यस्तै, प्रसिद्ध जैसी प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा छन् । उनले ५ खेलमा ७६।३३ को औसतले २२९ रन जोडेका छन् । उनको उच्च स्कोर १२९ रन हो । उनले पनि १ शतक र १ अर्धशतक बनाएका छन् ।

त्यस्तै, परिमर्जन यादव सबैभन्दा उच्च स्ट्राइक रेट भएका ब्याटर हुन् । तीव्र गतिमा रन बनाउन माहिर उनको स्ट्राइक रेट १९७।०१ छ । उनी सबैभन्दा धेरै रन बनाउने सूचीमा नवौँ स्थानमा छन् । उनले ३ खेलमा ६६ को औसतले १३२ रन बनाएका छन् । उनले २ अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर ७१ रन हो ।
घातक बलिङ
बलिङमा पनि नेपालले प्रतियोगितामा अब्बल प्रदर्शन गरिरहेको छ । विपिन प्रसाद शर्मा प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ५ खेलमा ५।६२ को औसतले १६ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट बलिङ प्रदर्शन १२ रन खर्चेर ६ विकेट लिनु हो । उनको इकोनोमी पनि उत्कृष्ट २।०३ रहेको छ । उनले २ पटक ४ विकेट र एकपटक फाइफर लिएका छन् ।
त्यस्तै, शुभम खनालले ५ खेलबाट ६।९ को औसतले १० विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ प्रदर्शन १५ रन खर्चेर ५ विकेट लिनु हो । खनाल सबैभन्दा धेरै विकेट खेलाडीको सूचीमा पाँचौँ स्थानमा छन् ।
अभय यादव यो सूचीमा १० औँ स्थानमा छन् । उनले ४ खेलबाट १२।२८ को औसतले ७ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ प्रदर्शन १५ रन खर्चेर ५ विकेट लिनु हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण