बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विमलेन्द्र निधिमाथि रघुवीर महासेठले लगाए यस्ता आरोप

आइतबार, २२ असार २०८२, २० : ००
आइतबार, २२ असार २०८२

सारांश

  • एमाले सचिव रघुवीर महासेठले जनकपुरको राजर्षि जनक विश्वविद्यालय आफ्नो पहलमा बनेको दाबी गरेका छन्।
  • कांग्रेस नेता विमलेन्द्र निधिले महासेठले विश्वविद्यालय निर्माणमा अवरोध गरेको आरोप लगाएपछि महासेठले पत्रकार सम्मेलन गर्दै खण्डन गरे।
  • महासेठले रामनारायण मिश्रको स्मृति भवन बनाउने विषयमा निधिले लगाएको आरोपको पनि खण्डन गर्दै कडा टिप्पणी गरे।

काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद रघुवीर महसेठले जनकपुरको राजर्षि जनक विश्वविद्यालय आफ्नो पहलमा निर्माण भएको दाबी गरेका छन् । 

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले शनिबार पत्रकार सम्मेलन आयोजना गरी उक्त विश्वविद्यालय बन्न नदिन महासेठले विभिन्न अवरोध गरेका आरोप लगाएका थिए । जसको जवाफ दिन महासेठले आइतबार पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेका हुन् । 

‘धनुषा जिल्लाका एक समानुपातिक माननीय विमलेन्द्र निधिजीले आरोप लगाउनुभयो कि क्षेत्र नम्बर ३ र ४ बाट निर्वाचित सांसदहरू राजर्षि जनक विश्वविद्यालयको प्रशासकीय भवन निर्माणमा बाधा अड्चन पुर्‍याइरहनुभएको छ । त्यसमा कुनै सत्यता छैन । यो उहाँको मन भित्रको कुरा हो,’ उनले बताए ।

मधेसका जनता, संघ, संस्था, प्रतिनिधि र सबैको सहयोगमा विश्वविद्यालय आएको उनको भनाइ थियो । ‘यसको सुरुवात जब स्व. प्रदीप नेपाल शिक्षामन्त्री हुनुहुन्थ्यो, मेरै नेतृत्वमा विमलेन्द्रजीसहितको टोली केशरमहलमा रहेको शिक्षा मन्त्रालयमा गएर पहल गरेपछि भएको हो,’ निधिलाई लक्षित गर्दै उनले थपे, ‘आज कसैले मैले ल्याएको छु, मेरो पार्टीले ल्याएको छ भन्छ भने यो सरासर मधेसवासीप्रति अन्याय हो उहाँहरूको ।’ 

मधेसका सबै क्रियाशील दलका कारण विश्वविद्यालय ल्याउन सम्भव भएको तर्क गरेका उनले यसमा निधिको पनि सहयोग हुन सक्ने बताए । तर झुटको खेती भइरहेकाले त्यो सरासर गलत रहेको उनको टिप्पणी थियो ।

नेता निधिले धुनषा क्षेत्र नम्बर–३ बाट निर्वाचन लड्न अहिलेदेखि ‘खुरापाती’ कामहरू गर्न लागेको पनि महासेठले गम्भीर आरोप लगाए । भने, ‘चुनाव जो पनि लड्न पाउँछ तर भविष्यमा लड्छु भनेर अहिलेदेखि खुरापाती कामहरू गर्नु हुँदैन ।’

जनकपुरको विकासमा कसले के–के काम गरिरहेका छन् सबै जनतालाई थाहा भएको उनको भनाइ थियो । 

स्व.रामनारायण मिश्रको स्मृति भवनको कुरा उठाए

त्यस्तै यसअघि गंगासागरको डिलमा स्व.रामनारायण मिश्रको नाममा स्मृति भवन बनाउने क्रममा पनि एमालेले विरोध गरेको भन्दै निधिले लगाएको आरोप पनि महासेठले त्यस क्रममा उठाए । 

निधिको उक्त भनाइ खण्डन गर्दै महासेठले रामनारायण मिश्र कांग्रेसका मात्र नभई एमालेका लागि पनि उत्तिकै आदरणीय रहेका बताए । 

‘हजारौँ हजार वर्षदेखिको यो पवित्र ठाउँमा, जहाँ तपाईं–हामी सबै त्यो डिलमा बसेर छठ मनाउँछौँ, एउटा धार्मिक आस्था बोकेका छौँ,’ गंगासागरको कुरा झिक्दै महासठले प्रश्न गरे, ‘जनकपुरमा यस्तो गुठीको जग्गाहरू हुँदाहुँदै, यत्रो ऐलानी जग्गाहरू हुँदाहुँदै, त्यही डिलमा बनाउनुपर्ने किन जरुरी थियो ? के राजनीतिक सत्ताको गलत प्रयोग गरेका होइन ?’

रामनारायण मिश्रको नाममा स्मृति भवन बनाउन जसले पनि जग्गा दिने तर्क गरेका महासेठले जुन समूहले बनाउन खोजेको हो, उसले मिश्रको सम्मान नभई बदनाम गर्न खोजे पनि आरोप लगाए । 

साथै नेता निधिले आफ्नो परिवारहरूका नाममा ठाउँठाउँमा प्रतिष्ठानहरू खोलेर भवन बनाएको पनि आरोप लगाए । ‘त्यो वेला उनलाई (निधि) रामनारायण मिश्रको किन याद नआएको ? त्यो वेला मधेसको पहिलो सहिद दुर्गानन्द झाको याद उहाँलाई किन आएन ?’, उनले प्रश्न गरिरहे । 

उनले थपे, ‘आज निधिजीले जुन प्रकारले मलाई भन्नुहुन्छ कि प्रशासकीय भवनमा विरोध गरिरहनुभएको छ । के उहाँले दुर्गानन्द झाको सभाहल बनाउन नदिन षडयन्त्र गर्नुभएको होइन र ? त्यसको बाबजुद पनि त्यहाँ त बनिरहेको छ । अनि दुर्गानन्दजीलाई याद नगर्ने, जसले यत्रो प्रजातन्त्र ल्याउनलाई सहिद हुनुप¥यो, रामनारायण मिश्रजीलाई समयमा याद नगर्ने, अनि अहिलेचाहिँ तपाईंको रामनारायण मिश्राजीको पनि काम हुन दिएन भन्नु सरासर गलत हो ।’

गंगासागरको डिलको विषयमा थप बताएका उनले उक्त कार्य उचित हो ? भन्ने प्रश्न गर्दै भने, ‘पहिला पनि गलत तरिकाले त्यो जग्गा लिने कोसिस गरेको थियो । जनकपुर नगरपालिकाले त्यो जग्गा दिनुहुन्न भनेर रोकेको थियो ।’

र २०४६ सालमा फेरि पनि नगरपालिकाले उक्त स्थानबारे नापीमा पत्र पठाएको र व्यक्तिको नभई सरकारी जग्गा उल्लेख गरेको उनले स्मरण गराए । ‘त्यो चिठीमा गंगासागरको डिल र बाटो कायम गर्न माग गरिएको थियो, तर नगरपालिकाले २५ डिल फिट कायम गरिदिएको थियो ।’

बहुदल आएपछि राजनीतिक र सत्ताको बलमा निधिहरूले उक्त गंगासागरको लालपुर्जा बनाए पनि त्यसमा केही उल्लेख नभएको उनको दाबी थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप