बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रोपाइँ

असारको तेस्रो सातासम्म बागमतीमा धान रोपाइँ ५१.७८ प्रतिशत

बुधबार, २५ असार २०८२, १६ : ०६
बुधबार, २५ असार २०८२

सारांश

  • बागमती प्रदेशमा गत वर्षको तुलनामा धान रोपाइँ उत्साहजनक देखिएको छ, जुन ५१.७८ प्रतिशत पुगेको छ।
  • कृषि निर्देशनालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
  • धादिङमा सबैभन्दा कम २० प्रतिशत रोपाइँ भएको छ, भने सिँचाइ अभावले रोपाइँमा ढिलाइ भएको छ।

मकवानपुर । बागमती प्रदेशमा गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँको अवस्था उत्साहप्रद देखिएको छ । हालसम्म बागमती प्रदेशमा धान रोपाइँ ५१.७८ प्रतिशत सम्पन्न भइसकेको बागमती प्रदेश, कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गत रहेको कृषि विकास निर्देशनालयले जनाएको छ ।

गत वर्ष यही अवधिभित्र धान रोपाइँ हुने जमिनमध्ये जम्मा १९.२४ प्रतिशतमा मात्र सम्पन्न भएको निर्देशनालयको भनाइ छ । निर्देशनालयका निर्देशक सुधिर श्रेष्ठका अनुसार प्रदेशका अधिकांश धान रोपाइँ हुने स्थानमा यस वर्ष समयमै पानी पर्न सुरु गरेकाले विगतभन्दा राम्रो नतिजा आएको हो ।

यस वर्ष बागमती प्रदेशका १३ जिल्लाको कूल एक लाख २० हजार ६१० हेक्टर जमिनमा धानखेती हुने अपेक्षा गरिएकोमा असार २२ सम्म ६२ हजार ४६०.६८ हेक्टर क्षेत्रफलमा (५१.७८ प्रतिशत) रोपाइँ सकिएको श्रेष्ठले जानकारी दिए ।

निर्देशक श्रेष्ठका अनुसार बागमती प्रदेशका १३ जिल्लामध्ये प्रतिशतका हिसाबले सबैभन्दा बढी काठमाडौँमा ९५ प्रतिशत रोपाइँ सकिएको जानकारी दिए । धान रोपाइँ हुने कुल क्षेत्रफल ५ हजार ९२४ हेक्टर क्षेत्रफल रहेको काठमाडौँमा अहिलेसम्म ५ हजार ६२७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको उनको भनाइ छ ।

यस्तै सबैभन्दा कम रोपाइँ धादिङमा भएको छ । धादिङमा २० प्रतिशतमात्रै रोपाइँ भएको निर्देशक श्रेष्ठले बताए । धादिङमा ११ हजार १५९ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिए पनि यस वर्ष अहिलेसम्म जम्मा २ हजार २३१ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको हो ।

निर्देशनालयबाट प्राप्त विवरण अनुसार ललितपुरमा ४ हजार १६३ हेक्टरमध्ये ९० प्रतिशत (३ हजार ७४६ हेक्टर) क्षेत्रफलमा धान रोपाइँ भएको छ । यस्तै २ हजार ४२९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको भक्तपुरमा ९० प्रतिशत (२ हजार ४२९ हेक्टर) क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

मकवानपुर जिल्लामा ७ हजार ६७ हेक्टर जमिनमध्ये २८.६४ प्रतिशत (२ हजार २४ हेक्टर) क्षेत्रफलमा, २७ हजार २०७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको चितवनमा ४९.२ प्रतिशत (१३ हजार ३८७ हेक्टर)मा, नुवाकोटमा १६ हजार ४९८ हेक्टर धान खेती हुने जमिनमध्ये ६८.३१ प्रतिशत (११ हजार २७० हेक्टर)मा धान रोपाइँ सकिएको छ ।

यसैगरी, सिन्धुपाल्चोकमा ८ हजार ७८२ हेक्टरमध्ये ५१ प्रतिशत (४ हजार ४८० हेक्टर)मा, दोलखामा २ हजार ८१४ हेक्टर जमिनमध्ये ७० प्रतिशत (१ हजार ९६९ हेक्टर) क्षेत्रफलमा, सिन्धुलीमा ११ हजार ४४५ हेक्टर जमिनमध्ये ४७.०२ प्रतिशत (६ हजार ३४७ हेक्टर) क्षेत्रलफलमा रोपाइँ भएको छ । रामेछापमा ७ हजार ८५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा यस वर्ष २ हजार ५१४ हेक्टर क्षेत्रफलमा (३२ प्रतिशत) धान रोपाइँ भएको छ ।

१० हजार २१० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको काभ्रेमा ५८.१८ प्रतिशत (५ हजार ९३९ क्षेत्रफल)मा रोपाइँ भएको छ । निर्देशनालयका अनुसार प्रदेशमै सबैभन्दा कम क्षेत्रफलमा धान रोपाइँ हुने गरेको रसुवामा २ हजार ७१८ हेक्टर क्षेत्रफलमध्ये ५९४ हेक्टर क्षेत्रफल (२१.३५ प्रतिशत)मा धान रोपाइँ भएको छ ।

प्रदेशमा रहेको भौगोलिक विकटता र सिँचाइको अभाव रहेका जिल्लामा अझै पर्याप्त मात्रामा पानि नपरेकाले अपेक्षा गरेजति छिटो रोपाइँ हुन नसकेको निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप