हरेक वर्ष दर्जनौँ जलविद्युत् आयोजनाले भोगिरहेका छन् बाढीको कहर
सारांश
- चीनबाट आएको बाढीले रसुवागढीको मितेरी पुल बगायो, जसले गर्दा नेपाल-चीन सम्पर्क टुटेको छ।
- बाढीले जलविद्युत आयोजनामा ठूलो क्षति पुर्यायो, जसले गर्दा २५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ।
- प्राधिकरणका अनुसार, रसुवागढी र त्रिशूली-३ए आयोजना अनिश्चितकालका लागि बन्द भएका छन्, र करोडौंको क्षति भएको छ।
काठमाडौँ। मंगलबार बिहान चीनबाट आएको बाढीले नेपाल–चीन जोड्ने प्रमुख नाका रसुवागढीको मितेरी पुल बगाएको छ । दुई दिन देखि नेपालको चीनसँगको सम्पर्क टुटेको छ ।
बाढीले रसुवा गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको ईभी चार्जिङ स्टेसन, रसुवागढी हाइड्रोपावरको ड्याम र निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत क्षति पुर्याएको छ । इन्टरमोडल यातायात समितिका अनुसार निर्माणाधीन सुक्खा बन्दरगाहमा करिब ९० करोड बराबरको क्षति भएको अनुमान छ ।
नेपाल प्रहरीका अनुसार सामान बोकेका २४ कन्टेनरका डब्बा, ६ वटा सिनो ट्रक, ३५ इभी गाडी बगाएको र भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको हेडवक्र्स पूर्णरूपमा क्षति भएको छ । प्राधिकरणका अनुसार चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी छिरेको छ ।
त्यस्तै, त्रिशूली–३ बी हब सबस्टेसनमा खोलाले धार परिवर्तन गरी सबस्टेसनभित्र छिरेको र हालसम्म १३२ केभीको बेलगायत संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको ड्याम साइटको दुई वटा गेटमा क्षति पुगेको छ ।
रसुवा बाढीले २५० मेगावाट विद्युत् उत्पादन बन्द

त्रिशूली करिडोरको त्रिशुलि–३ ए, देवीघाट, रसुवागढी, त्रिशूलीलगायत निजी क्षेत्रको अपर मैलुङ टाडी गरी लगभग २ सय ५० मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको उच्चस्तरीय प्राविधिक टोलीले आयोजनाहरूको निरीक्षण र अनुगमन गरेको छ ।
मंगलबार प्राधिकरणले पत्रकार सम्मेलन गर्दै बाढीले १११ मेगावाटको रसुवागढी, २१.१ मेगावाटको चिलिमे, ६० मेगावाटको त्रिशूली–३ ए, २१ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले यीबाहेक निजी क्षेत्रका आयोजनाको १० मेगावाट विद्युत् उत्पादन बन्द भएको बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले अहिलेसम्म कति क्षति भयो भन्ने यकिन विवरण तयार नभएको बताए । भने, ‘आयोजनाको बाँधको गेटको स्ट्रक्चर नै बगाएको छ । आयोजनाका सामान र उपकरण पनि बगाएको छ । विवरण संकलनको कार्य सुरु गरिएको छ ।’
ठुला तीन जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको उनको भनाइ छ । जसमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली र १०० मेगावाटको सुपर त्रिशूली आयोजना, त्रिशूली ३ ‘बी’ हब सबस्टेशन र प्रसारण लाइनमा समेत क्षति पुगेकाले केही दिन उत्पादन–प्रसारण अवरुद्ध हुने बताए ।
बाढीले आयोजनामा भएको क्षति हेर्दा करोडौँको घाटा व्यहोर्नुपर्ने अवस्था रहेको कार्यकारी निर्देशक शाक्यले बताए ।
क्षति भएका आयोजना कहिले आउँछन् सञ्चालनमा ?
बाढीका कारण प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका आयोजना गरी २५० मेगावाट विद्युत उत्पादन ठप्प भएका छन् । तर यी आयोजना अब कहिले देखि सञ्चालनमा आउँछन् भन्ने अवस्था छैन । क्षति भएको सबैभन्दा ठूला रसुवागढी र त्रिशूली ३ ए कहिलेबाट सञ्चालन आउँछन् भन्ने टुंगो छैन ।
कार्यकारी निर्देशक शाक्यले रसुवागढी र त्रिशूली–३ ए आयोजनाको उत्पादन अनिश्चितकालका लागि बन्द भएको अवस्था रहेको बताए । उनले भने, ‘यी आयोजनामा अरूमा भन्दा धेरै क्षति पुगेको छ । त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत आयोजनामा खासै क्षति भएको छैन । बाढी रोकिनासाथ सरसफाइ गरेर सञ्चालनमा ल्याउन सकिन्छ ।’
शाक्यले बाढी रोकिएपछि प्राधिकरणको प्राविधिक टोली स्थलगत अध्ययनमा निस्किएको बताए । उनले स्थलगत अध्ययन भइरहेकाले अब आयोजना कहिलेसम्म सञ्चालनमा ल्याउन सकिन्छ भन्ने अनुमान लगाउने बताए ।
चिलिमे जलविद्युत् आयोजनामा पहिलो पटक टेलरेसबाट पानी छिरेको छ । चिलिमेले करिब ३ दिनमा उत्पादन गर्न सक्ने प्राधिकरणले जनाएको छ भने २१ मेगावाटको तल्लो त्रिशूली, १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजना पनि बाढी सामान्य भएपछि सञ्चालन गर्न सक्ने अवस्थामा रहेको शाक्यको भनाइ छ । त्रिशूली ३ ‘बी’ सबस्टेसन आयोजनामा गम्भीर संकट देखिएको छ ।

बाढीले सवस्टेसनमा रहेको एउटा महत्त्वपूर्ण टावरको जग बगाएर ढल्काएको छ । उक्त टावर ढलेमा सम्पूर्ण प्रणालीमा असर पर्ने भएकाले त्यसलाई जोगाउन तत्काल प्रयास थालिएको उनले जानकारी दिए ।
प्राधिकरणका अनुसार ठुलो क्षति भएकाले उक्त आयोजनाहरूको पुनर्निर्माण गर्न कति समय लाग्छ भन्ने यकिन गर्न सक्ने अवस्था छैन ।
बाढीले सिकाएको पाठ
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बाढीले आगामी दिनमा हुने प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणको पाठ सिकाएको बताए । उनले भने, ‘प्राधिकरणका आफ्नै आयोजनाहरू धेरै छैनन् । अत्यन्तै न्यून छन् । धेरै निजी क्षेत्रका छन् । हरेक खोलामा ६ देखि सात आयोजनाहरू छन् ।’
मंगलबार चीनबाट एक्कासि आएको बाढीले धेरै कुराको पाठ सिकाएको उनको भनाइ छ । उनले क्षति न्यूनीकरणको लागि अब माथिल्लो बिन्दुमा रहेको आयोजनामा पूर्वसूचना प्रणाली जडान गर्न आवश्यक रहेको देखाएको बताए । उनले भने, ‘विपद् व्यवस्थापनबाट म्यासेज आयो । साइन बज्यो तर पनि क्षति भयो । त्यसैले अब आयोजनामा खटिने कर्मचारीहरूबाट नै सूचना प्रवाहमा जोडिनुपर्ने यो घटनाले देखाएको छ ।’
बाढी तथा पहिरोका कारण पछिल्ला वर्षहरूमा जलविद्युत् आयोजनाहरूले ठुलो क्षति व्यहोर्दै आएका छन् । हरेक वर्ष प्राकृतिक विपत्तिबाट आयोजनामा क्षति पुग्ने क्रम नरोकिएपछि लगानीकर्ताहरूले सुरक्षाका उपायहरूमा थप लगानी र सतर्कता अपनाउनु पर्ने देखिएको छ ।
उनले माथिल्लो क्षेत्रमा रहेका आयोजनाबाट तल्लो क्षेत्रमा रहेका आयोजनामा बाढी आएको सूचना दिँदा मानवीय क्षति कम गर्न सकिने अवस्था रहेको उल्लेख गरे । पछिल्लो तीन वर्षदेखि निरन्तर जलविद्युत् आयोजनाहरूमा क्षति भएको उनले बताए ।
उनले भने, ‘विगत र अहिलेको घटनालाई आधार बनाएर मानवीय र अन्य क्षति कम गर्न सूचना प्रणालीको विकास गर्न आवश्यक देखियो । पूर्वको बाढी र गत वर्षको असोजको बाढीले जलविद्युत्मा धेरै क्षति गरेको छ ।’
बाढी तथा पहिरोका कारण पछिल्ला वर्षहरूमा जलविद्युत् आयोजनाहरूले ठुलो क्षति व्यहोर्दै आएका छन् । हरेक वर्ष प्राकृतिक विपत्तिबाट आयोजनामा क्षति पुग्ने क्रम नरोकिएपछि लगानीकर्ताहरूले सुरक्षाका उपायहरूमा थप लगानी र सतर्कता अपनाउनु पर्ने देखिएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सामान्य बाढीले आयोजनालाई खासै असर नगरे पनि पछिल्ला वर्षहरूमा आउने बाढीको प्रकृति फरक र अप्रत्याशित खालको हुन थालेको बताए । ‘पहिलेको भन्दा फरक खालको, बाँध नै फुटेर आएजस्तो बाढी आउन थालेको छ,’ उनले भने, ‘यसले गर्दा सामान्य सुरक्षाका उपायहरू अपर्याप्त हुन थालेका छन् ।’
लगातारको क्षतिपछि आयोजना प्रवद्र्धकहरूले सुरक्षाका लागि थप सचेतता अपनाउन थालेको उनले बताए । उनका अनुसार अहिले आयोजनाहरूले ५० वर्ष वा १०० वर्षमा आउनसक्ने सम्भावित ठुलो बाढीलाई समेत आधार मानेर डिजाइन गर्न थालेका छन् ।
‘पहिलेको तुलनामा अहिले आयोजनाहरूले सुरक्षाका उपायहरूमा बढी ध्यान दिन थालेका छन्,’ उनले थपे, ‘तर कल्पनाभन्दा बाहिरको विपत्ति आइलागेमा भने केही गर्न सकिँदैन ।’
उनले तत्काल लगानी निरुत्साहित नहुने बताए । ‘समग्र क्षेत्रको हिसाबले हेर्दा यो क्षति ठुलोजस्तो नदेखिन सक्छ,’ उनले भने, ‘त्यसैले लगानी रोकिने अवस्था त हुँदैन, तर अब सेफ्टी कसरी गर्ने भन्नेबारे सोच्नुपर्ने अवस्था आएको छ र त्यसबारे सोच्न थालिएको छ ।’
सरकारले आयोजना निर्माणका लागि निश्चित मापदण्ड तोके पनि प्राकृतिक विपद्को पूर्वानुमान गर्न नसकिने हुँदा यस्ता घटना रोक्न चुनौतीपूर्ण रहेको बताए ।
बाढीले जलविद्युत् आयोजनामा बर्सेनि क्षति
पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा बाढीका कारण जलविद्युत् क्षेत्रले अर्बौँको नोक्सानी व्यहोरेको छ । नदी र खोलाभित्रै जलविद्युत् आयोजनाहरू हुने भएकाले उच्च जोखिममा रहेको स्पष्ट छ ।
मंगलबारको जस्तै २०८० असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले जलविद्युत् आयोजनामा क्षति हुँदा ८ अर्ब ८४ करोडभन्दा बढी नोक्सानी भएको थियो ।
बाढीपहिराबाट सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा लगानीकर्ता ठुलो मारमा पर्नुको साथै अर्बौं लगानी जोखिममा परेको थियो ।
त्यो वेलामा २५ मेगावाटको ‘काबेली बी’ मा ५० करोड रुपैयाँ बराबरको क्षति भएको थियो । २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत् आयोजनामा एक अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो ।
त्यस्तै, ४.७ मेगावाटको अपर पिलुवा–२ जलविद्युत् आयोजनामा ९० करोड, १४.९ मेगावाट क्षमताको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनामा ९५ करोड, हेवा खोला जलविद्युत आयोजनामा ८० करोड, ९७.५ मेगावाटको इसुवाखोला जलविद्युत् आयोजनामा ५० करोड ,९.७ मेगावाटको इङ्ग्वा खोलामा पनि ५० करोड बराबरको क्षति भएको थियो ।

त्योभन्दा पहिला २०७८ असारमा पनि बाढीका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा १० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो । उक्त वर्ष बाढीले सबैभन्दा बढी मादी करिडोर र दोर्दी करिडोरका जलविद्युत् आयोजनामा क्षति पुगेको थियो ।
त्यस्तै, गत वर्षको असोजमा आएको बाढीले विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको थियो ।
इप्पानले सार्वजनिक गरेको विवरण अनुसार मान्डु हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, तल्लो हेवाखोला जलविद्युत आयोजना, सोलु दुधकोशी जलविद्युत् आयोजना, माइखोला जलविद्युत् आयोजना, सुपरन्यादी जलविद्युत् आयोजना लगायतमा आयोजनामा क्षति भएको थियो । त्यस्तै, माथिल्लो तामाकोशीमा पनि ठुलो क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण