मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

उपत्यकाको जोखिम र जिम्मेवारीको प्रश्न

बिहीबार, २६ असार २०८२, ११ : ०७
बिहीबार, २६ असार २०८२

सारांश

  • ललितपुरमा बाढीले घर र मानिसहरूलाई बगायो, जसमा चार जनाको मृत्यु भयो र एक जना साहसी व्यक्तिले तीन जनाको ज्यान बचाए।
  • बाढीको जोखिम उपत्यकामा बढ्दै गएको छ, किनकि नदीहरू साँघुरो हुँदै गएका छन् र चोभारको गल्छी साँघुरो छ।
  • लेखकले उपत्यकाको बाढीको जोखिमलाई सम्बोधन गर्दै, सरकार र जनताको उदासीनताको आलोचना गर्दै भविष्यमा डुबानको सम्भावना औंल्याएका छन्।

दिउँसो नै अकस्मात बाढी आयो र वितण्डा मच्चायो। खोला किनारका घर, गोठ, टहरा, गाडी, मोटरसाइकल सबै बगायो। गाईबस्तु, कुखुरा-बाख्रा, कृषि फार्म केही पनि बाँकी रहेन। बाढी सिधै बस्तीमा पस्यो। खासमा बाढी बस्तीमा पसेको हो कि बस्ती नै खोलामा पसेको हो? यो प्रश्न अहिले पनि गम्भीर बहसको विषय छ।

तर त्यो भन्दा बढी पीडा र चिन्ताको कुरा के हो भने-बाढीमा फसेका चार जना मानिस चार चार घन्टासम्म टहराको टिनको छानामा बसेर जीवनको गुहार मागिरहेका थिए, तर राज्य, जो जनताको संरक्षक हो, त्यही राज्यले ती दृश्य देखेन। धेरैले धेरै माध्यमबाट कराए, गुहार मागे, तर सरकार निदाएको थियो कि जानीजानी कानमा तेल हालेर बसेको थियो-थाहा भएन। अन्ततः ती चारै जनालाई बाढीले बगायो। भाग्यवश एक असाधारण साहसी व्यक्ति, चनिकलाल तामाङले, त्यो दृश्य सहन सकेनन्। उर्लंदो भेलमा हाम फालेर तीन जनाको जीवन जोगाए, तर एक बालिकाको जीवन भने जोगाउन सकेनन्। बुवा यमदूतको पञ्जाबाट फर्किए, तर छोरी फर्किन सकिनन्।

यो कुनै टाढाको देशको कथा होइन, न त धेरै पुरानो, बिर्सिसकेको घटना। यो हो-२०८१ साल असोज ११ गते, ललितपुर महानगरपालिका अन्तर्गत मन्त्री निवास क्षेत्र र नक्खीपोट क्षेत्रको बीचमा पर्ने नक्खु खोलामा घटेको दर्दनाक घटना। हामी सबैले देखेको, सुनेको र पढेको त्रासदी हो-जहाँ चराहरू कराए, जनावरहरू रोए, तर सरकार जागेन।

एक वर्ष बितिसकेको छैन, र फेरि रसुवा, त्रिशूली लगायतका ठाउँमा यस्तै कहालीलाग्दा घटनाहरू दोहोरिन थालेका छन्। बाढीले मानव निर्मित भौतिक संरचना बगायो। ती त निर्जीव वस्तु हुन्, पुनः निर्माण गर्न सकिन्छ। तर एक बुवाले आफ्नो छोरी गुमाए। त्यो पीडा, त्यो क्षण, त्यो दृश्य-मानव मनको गहिराइमा खोपिएको एउटा चिरा हो, जुन शायद कहिल्यै भरिँदैन।

यो त प्रतिनिधि घटना हो। उपत्यका भित्रै यस्ता कति घटना घटिरहेका छन्? यस्तो जोखिम फेरि आउँदैन भन्न सकिन्छ त? आउँछ! अझ मौसम विज्ञान विभागले यसपालि अहिलेसम्मकै अत्यधिक वर्षा हुने पूर्वानुमान गरिसकेको छ। उपत्यकाभन्दा बाहिर कतै प्रकोप सुरु भइसकेको छ। तर, यस्तो बाढी र डुबानको जोखिम उपत्यकाभित्र अझ बढी छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ।

हामीले उपत्यकाका खोलाहरू स-साना मात्र देखेका छौं। त्यसैले डुबान पर्ला जस्तो लाग्दैन होला। तर बाढीको खतरा यहाँ निकै प्रबल छ। उपत्यकाको मुख्य नदी बागमती हो, जसको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यावरणीय महत्व अपार छ। त्यसबाहेक विष्णुमती, मनोहरा, नक्खु खोला लगायतका करिब एक दर्जन साना-ठूला सहायक नदीहरू पनि उपत्यकाभित्र बहन्छन्। ती सबै बागमतीमा मिसिएर चोभारको गल्छी हुँदै उपत्यकाबाट बाहिरिन्छन्।

चोभारको गल्छी-त्यो त साँघुरो खोँच हो। किंवदन्ती अनुसार, परापूर्वकालमा काठमाडौं उपत्यका एउटा विशाल ताल थियो। तिब्बती बौद्ध गुरु मञ्जुश्रीले त्यसको बीचमा कमलफूल फुलेको देखेर, स्वयम्भूको दर्शन गर्न आफ्नो खड्गले चोभारको डाँडो काटेर पानी बाहिर निकाले र उपत्यकालाई मानव बसोबास योग्य बनाए।

किंवदन्ती जेसुकै होस्, तर चोभारको गल्छी साँघुरो छ भन्ने कुरा अवश्य यथार्थ हो। अहिले वर्षायाममा यति धेरै नदीहरूबाट आएको पानी त्यो गल्छीबाट सहजै ननिस्कने हो भने, उपत्यकाभित्र बाढीको भयावहता कति गम्भीर हुन्छ भन्ने कल्पनै गर्न सकिँदैन।

यता, उपत्यका यति विकृत र बेरूप शहरीकरणको चपेटामा परेको छ कि यहाँका नदीहरू ढलमा परिणत भएका छन्। कतिपय त गुप्त रूपमै गायब छन्। टुकुचा यसको ज्वलन्त उदाहरण हो। बाँकी रहेका खोलाहरू पनि मिचिएका छन्, साँघुरो बनाइएका छन्। भू-माफिया र भ्रष्ट शासकहरूको मिलेमतोमा नदी किनार मिचिँदा खोलाहरू आफ्नो बहाव अनुसार बग्न सकिरहेका छैनन्।

जब खोलालाई ठाउँ साँघुरो लाग्छ, तब उनीहरू मान्छेका घर, बस्ती, सहर केही नहेरी आफ्नो बाटो आफैं बनाउँदै बग्छन्। अनि मान्छे भने बितण्डा मच्चाएको नदी भनेर अलाप-बिलाप गर्छन्।

अब कल्पना गरौं-गोंगबु क्षेत्रमा केही घन्टा मुसलधारे पानी पर्‍यो र विष्णुमती खोलाको बहाव रोकियो भने के अवस्था आउला? नक्खु खोलाले कुनै थुनावटबिना पोखिएर त्यो त्रासदी ल्यायो भने थुनिएर आएमा कति डरलाग्दो स्थिति बन्ने हो? चोभारको गल्छी भू-क्षयका कारण बन्द भयो भने त झन् अपूरणीय क्षति हुने खतरा प्रस्टै छ।

ग्लोबल वार्मिङ्गको प्रभावले मौसम चक्र अस्वाभाविक भएको छ। हिउँदमा हिउँ पर्दैन, चैत-वैशाखमा हिमपात हुन्छ। अस्वाभाविक वर्षा, बेमौसमी मौसमी घटना, अतिवृष्टि, अनावृष्टि-यी सबै लक्षणहरू वातावरणीय संकटका सूचक हुन्।

त्यस्तो अवस्थामा काठमाडौंमा एक दिन लगातार वर्षा भयो भने के होला? अहिलेको अवस्थाले भोलिको डुबानको संकेत दिइसकेको छ। खोलाको सतह माथि, घर खोलाभित्र, सडक खोलाजस्तो-यस्ता दृश्य सामान्य बनिरहेका छन्।

तर हामी न शासकले देखेका छौं, न जनताले चासो दिएका छौं। घर बनाउन पाइयो, जग्गा आफ्नो नाममा आयो, सत्ताको ढोका खुल्यो-त्यति भए पुग्छ। भविष्यको चिन्ता कसैलाई छैन।

हाम्रा शासकहरू सुधारको नाममा झिनो प्रयास गर्छन् भने पनि जनताले अवरोध गर्छन्। बाबुराम सरकारले सडक विस्तार गर्दा, बालेनले टुकुचा उत्खनन गर्दा वा कुलमानले देश उज्यालो बनाउँदा-उनीहरूकै अपमान, अवरोध र बहिष्कार गरिन्छ।

सवाल उठ्छ-प्राकृतिक प्रकोप बाजा बजाएर आउँछ र? होइन ! तर प्रकोपबाट जोगिन सकिन्छ। धेरै विकसित राष्ट्रहरूले जोगिएका छन्। त्यसका लागि दूरदर्शी नेतृत्व र सजग नागरिक हुनु जरूरी छ।

उपत्यकामा डुबानबाट जोगिन धेरै ठूलो काम गर्नु पर्दैन।

  • मापदण्ड मिचेर बनाइएका संरचना हटाउनु पर्छ।
  • खोला-नदीमा उत्खनन रोक्नुपर्छ।
  • नदीको प्राकृतिक बहाव सुनिश्चित गरिनुपर्छ।
  • बाढी पूर्वानुमान र चेतावनी प्रणाली बलियो बनाउनुपर्छ।
  • नदी किनारका बस्तीहरू व्यवस्थित स्थानान्तरण गर्नुपर्छ।
  • आपतकालीन उद्धार टोली तयारी अवस्थामा रहनुपर्छ।

यी सबै गर्न सकिन्छ, तर प्रश्न रहन्छ-'कसलाई चासो?' शासकमा इच्छाशक्ति छैन, जनतामा रहर छैन।

यो लेख शासक या जनतालाई दोष थोपर्ने प्रयत्न होइन, यो प्रवृत्ति र सोचको आलोचना हो।

हाम्रा प्राकृतिक सम्पदाहरू दोहन भैरहेका छन्, काठका मन्दिरहरूले सजिएको काष्ठमण्डप आज कङ्क्रिटको जंगल बनेको छ। पुस्तौंको भविष्य अनिश्चिततामा धकेलिएको छ।

यदि चेतना भित्र उज्यालो फैलियो, इतिहासले फेरि कोही साँच्चिकै मञ्जुश्रीजस्तै जागरूक नेतृत्व जन्मायो भने, उपत्यकाको सौन्दर्य, अस्तित्व र मानवता जोगिन सक्छ। नत्र भने काठमाडौं फेरि डुबानमै फर्कनेछ-जहाँ मानिसका सपना, जीवन र भविष्य सबै तर्साइरहनेछ।

राजधानी भनेको देशको अनुहार हो। अनुहार हेरेर देशको शरीर मात्रै होइन, उसको चेतना, सोच र मनोविज्ञान समेत बुझ्न सकिन्छ। त्यसैले यो उदाहरण उपत्यकाको मात्र होइन पूरै देशको चिन्तनको प्रतिबिम्ब हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हर्क सिंह के.सी.
हर्क सिंह के.सी.
लेखकबाट थप