बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : सिमलताल दुर्घटनाको एक वर्ष

अव्यवस्थित विकास र लापर्बाहीले निम्त्याएको एउटा भयानक दुर्घटना

शनिबार, २८ असार २०८२, १० : ५३
शनिबार, २८ असार २०८२

सारांश

  • सिमलताल बस दुर्घटना भएको एक वर्ष पूरा भएको छ, जसमा दुई बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भयो।
  • दुर्घटनामा ६२ जना यात्रु सवार थिए, जसमध्ये ३ जना मात्र बाँच्न सफल भए, बाँकी ५९ जना बेपत्ता भए।
  • कार्यदलले दुर्घटनाको कारण सडक निर्माणमा लापरबाही, कमजोर भूगोल र समन्वयको अभावलाई औंल्याएको छ।

काठमाडौँ । नेपालको सबैभन्दा ठुलो सडक दुर्घटनामध्ये एक सिमलताल बस दुर्घटना भएको एक वर्ष बितेको छ । गत वर्ष असार २८ गते शुक्रबार बिहान करिब ३ः३० बजेको समयमा नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९, सिमलताल भन्ने स्थानमा दुई वटा यात्रुवाहक बस पहाडबाट बग्दै आएको डेब्रिससहितको पहिरोमा परे । दुवै बस त्रिशूली नदीमा खसेर बेपत्ता हुँदा ठुलो मानवीय क्षति भएको थियो ।

काठमाडौँबाट रौतहट जिल्लाको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र सोही समय वीरगन्जबाट काठमाडौँ आइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स यात्रुवाहक बस डेब्रिज बहावमा परेर एकैसाथ त्रिशूली नदीमा खसेका थिए ।

जिल्ला प्रशासन कार्यालय चितवनले साउन ३ गते प्रकाशित गरेको अद्यावधिक विवरण अनुसार गणपति डिलक्समा ३६ जना र एञ्जल डिलक्समा २६ जना गरी जम्मा ६२ जना यात्री सवार थिए । यस दुर्घटनामा ३ जना यात्रुमात्र बाँच्न सफल भएका थिए । हामफालेर बाँच्नेमा गणपति डिलक्सका ३ जना यात्रु नन्दन दास, गुगेश्वर राय यादव र सरोजकुमार गुप्ता थिए । बाँकी ५९ यात्रु बेपत्ता भएका थिए ।

yatru-list-1yatru-list-2

घटना पश्चात् असार २८ गते बिहानदेखि सुरक्षाकर्मीहरूले मोटरबोटमार्फत खोजी कार्य थालनी गरेका थिए । लामा–लामा बाँसका भाटा तथा रड, हुक र चुम्बकको सहायताले खोजी गरिएको थियो । पानी धमिलो र अत्यधिक बहाव भएकाले गोताखोर टोली पानीमुनि जान नसकेको उद्धारमा संलग्न सुरक्षाकर्मीहरूले बताएका थिए ।

त्यसपछि सोनार क्यामेरा तथा वाटर ड्रोनको सहायताले समेत बसको खोजी गरियो, तर नदीले किनारमा उतारेका शव बटुलेर सनाखत गर्दै आफन्तको जिम्मा लगाउनुबाहेक उद्धारमा अन्य प्रगति हुन सकेन ।

निरन्तर एक हप्तासम्म खोजीमा खटिँदा गोताखोरसमेत शिथिल हुने अवस्था भइसकेकोमा साउन ५ गतेदेखि भारतबाट ४ जना गोताखोर लगायत १२ जना सुरक्षाकर्मीको टोली खोजी तथा उद्धार कार्यमा परिचालित गरिएको थियो । तर, सो प्रयासबाट पनि सफलता हात लागेन ।

२०८१ साल साउन १३ गतेसम्मको अद्यावधिक विवरण अनुसार २४ जनाको शव विभिन्न स्थानमा नेपाल प्रहरीले फेला परेको थियो । यसमध्ये २० जनाको शव सनाखत भएको थियो । सनाखत भएका शवमध्ये १७ जना पुरुष र ३ जना महिलाको थियो । ४ जनाको शव सनाखत हुन सकेको थिएन ।

sanakhat

  • कसरी भएको थियो दुर्घटना ?

दुर्घटनास्थल माथितिर सिन्दुरे खोल्सीको पानी कटाउनका लागि सडकमुनि कल्भर्ट बनाइएको थियो । स्थानीयवासीका अनुसार असार ८ गतेको भारी वर्षाले माथिबाट डेब्रिज बगाएर ल्याउँदा उक्त कल्भर्ट थुनिएको थियो र दुर्घटना हुने दिनसम्म पनि खोलिएको थिएन ।

simaltal accident (1)

सडकभन्दा केही माथि बनेका ग्याबिन जालीमा पनि डेब्रिज थुप्रिँदै जाँदा यसको भार ग्याबिन जालीले थाम्न नसकेपछि यसले चेक ड्याम वरिपरि पहिरोको रूप लिएको थियो । खोल्साको केही माथि देब्रेतिरबाट झरेको पहिरो र त्यही पहिरोले ग्याबिनसमेत लछार्दा भत्काएको देखिएको थियो ।

सिन्दुरे कल्भर्ट रहेको स्थानमा असार २७ गते राति ११ः३० बजेदेखि सडकमा आएको डेब्रिजसहितको लेदोले यातायात अवरूद्ध भएको र सडक डिभिजन भरतपुरबाट २८ गते राति १ः३० बजेसम्म डेब्रिज र लेदो हटाई यातायात सुचारू गरिएको जानकारी सडक डिभिजन भरतपुरका डिभिजन प्रमुखले दिएका थिए ।

simaltal accident (3)

भारी वर्षाका कारण राति १ः३० बजेपछि पनि लेदो बग्ने क्रम निरन्तर जारी रहेको व्यहोरा दुर्घटनाका प्रत्यक्षदर्शी जीवन सुनारले बताएका थिए । निरन्तर ठुलो वर्षापछि ग्रामीण सडकको पहिरोबाट जम्मा भएको डेब्रिज खोल्सीमा बग्न थालेको थियो ।

यसरी बगेको डेब्रिज, लेदो, गेग्रान तथा बाढी चेक ड्याम समेत भत्काई एक्कासि सडकमा आउँदा सडकमा क्रस हुँदै गरेका २ वटा यात्रुवाहक बसलाई धकेल्दै सडक छेउका ३ वटा प्लम कङ्क्रिटको ब्यारियरसमेत भत्काई नदीमा खसालेको थियो ।

  • के थियो प्रत्यक्षदर्शीको बयान ?

ग२ख १८२२ नम्बरको अर्को यात्रुवाहक बस पनि दुर्घटना भएको स्थान नजिकै पुगेको थियो । सो बसका चालक जीवन सुनारले टेलिफोन कुराकानीमा घटनाबारे जानकारी दिएका थिए । उनले भनेका थिए :

म सिन्धुलीबाट बर्दिबास हुँदै पोखरासम्मका लागि ग२ख १८२२ नम्बरको यात्रुवाहक बस लिएर आउँदै थिएँ । राति २ बजेतिर नारायणघाट आइपुगेँ । त्यो समयमा भारी वर्षा भैरहेको थियो तैपनि सरासर अगाडि बढ्दै नारायणघाट–मुग्लिन सडकको सिमलताल भन्ने ठाउँमा पुगेँ । त्यहाँ पुग्दा माथिबाट गेग्रानसहितको लेदो झरिरहेको थियो । सडकमा पनि लेदो जम्मा भइसकेको थियो ।

सोही समयमा दुई वटा बस क्रस हुन खोज्दै थिए । मैले बस ब्याक गरेँ, गाडीमा ओट राख्न लगाएँ र रोकेर बसेँ । गेग्रान र लेदो झन् थपिदैँ गएको थियो । म झस्केँ । बसहरू क्रस हुने कोसिस गर्दै थिए । सडकको लेदोले गर्दा बसलाई डिस्टर्ब भएको थियो । दुई वटा बसबिचको ग्याप निकै कम थियो । बसहरू एकआपसमा टासिँदै गएको जस्तो देखिन्थ्यो ।

त्यत्तिकैमा मुग्लिनबाट नारायणघाटतर्फ जाँदै गरेको बस खस्यो, खस्दा पहिला बसको अगाडिको भाग (शो) खस्यो त्यसको लगत्तै नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बस पनि खस्यो । खस्दा त्यो बसको पहिला ब्याक साइड खस्यो । खस्दासाथ पोखरीमा ढुङ्गा फ्याँक्दा आउनेजस्तो आवाज आयो तर नदीमा केही देखिएन । मैले तुरुन्तै गाडीको स्टार्ट बन्द गरी तल झरेँ र एक जना यात्रुलाई तानेर सडकमा ल्याएँ । लगत्तै १०० नम्बरमा फोन गरी खबर गरेँ ।

simaltal accident (4)

त्यस्तै, चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचाररत नन्दन दासले दिएको बयान यस्तो थियो :

मेरो घर रौतहटको देवाही गोनाही नगरपालिका वडा नं १ हो । दुर्घटना हुनुभन्दा लगभग एक घण्टा जति अगाडि खाना खानका लागि बस रोकिएको थियो । रोकिएको स्थान मलाई याद छैन । खाना पश्चात् टिभी हेर्दै बसेको थिएँ । रातको समय भएकाले वेलावेला निद्रा पनि लाग्थ्यो । ब्युझिँदा टिभीमा ध्यान जान्थ्यो । त्योवेला ठुलो पानी परिरहेको थियो । सिमलतालको बाटोमा गाडी मजाले हिँडिरहेको थियो । माथिबाट एक्कासि पहाड खस्यो कि के भयो, एक्सिडेन्ट त भएन । मेरो गाडी हिँड्ने वेलामा एकैचोटी पल्टी खायो । अनि गाडी पानीमुनि गयो ।

म पाँचसात मिनेट पानीमा डुबेको अनि पानीले उचाल्यो । मलाई राम्रोसँग पौडी खेल्न नआएता पनि अलिअलि आउँथ्यो । जसोतसो पौडिएर किनारमा पुगेँ अनि भिरबाट घिस्रँदैघिस्रँदै माथि सडकमा पुगेपछि सुरक्षाकर्मीले उपचारका लागि अस्पताल ल्याउनुभयो ।

यता, उपचार पश्चात घर फर्केका रौतहट जिल्ला बौधिमाई नगरपालिका वडा नम्बर ३ बस्ने पर्शुराम साहको छोरा ३६ वर्षीय सरोज साह बनियाँले टेलिफोन संवादमा दुर्घटनाबारे भनेका थिए :

गणपति डिलक्स बसको ‘बी’ तर्फको सिट नम्बर १, २, ३, ४ र ५ थियो । सो बसमा पहिलो सिटमा आमाबुबा, दोस्रोमा म अनि दिदी र तेस्रो सिटमा भिनाजु बसेका थियौँ । काठमाडौँको बाबा पेट्रोल पम्पबाट बेलुका ८ बजेको समयमा म र मेरो आमा, बुबा, दिदी र भिनाजु सो बसमा चढेका थियौँ । पानी पर्लाजस्तो मौसम थियो ।

सो राति अन्दाजी १०/११ बजेको समयमा गल्छीमा आई हामीले खाना खाएका थियौँ । खाना खाएपछि करिब एक दुई घण्टापछि बस मुग्लिन कटेपछि पानी पर्न थालेको थियो । त्यसपछि बस रोकी बसको सिसाहरू बन्द गरी बसको बत्तीसमेत निभाएको थियो । बस हिँडेको केही समयपछि बस खसेको स्थानमा पुगेपछि ढुंगामा ठोकेको जस्तो आवाज आयो र आवाज आएको केही समयमै हाम्रो बस त्रिशूली नदीमा खस्यो ।

बसको सिसा फुटेको देखेर म सो सोही सिसाबाट बसबाहिर निस्की आफ्नो आमा, बुबालाई खोज्दा मेरो आमा, बुबा, दिदी, भिनाजु तथा बससमेत नभेटेपछि म जसोतसो पौडी खेल्दै पानीबाट बाहिर निस्केँ । सो बस कसरी त्रिशूली नदीमा खसेको हो, मलाई केही पनि थाहा भएन । हामी बसेको बस कुनै पनि बसबाट ठोकेको जस्तो थिएन ।

यसैगरी, दुर्घटनामा घाइते भई भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार गरी डिस्चार्ज भएका रौतहटको गरुडा नगरपालिका वडा नं. ९, सिसवा धमौरा बस्ने टेन्ही राय यादवको छोरा ४५ वर्षीय जुगेश्वर राय यादवसँगको टेलिफोन सम्वाद यस्तो थियोः

बसको सिट नं ‘बी’को ७, ८ र ९ मा छोराछोरीसहित ५ जना बसेका थियौँ । हामीले खाना खाएको ठाउँबाट करिब १५–२० मिनटको दुरीमा जाम थियो । करिब १५–२० मिनेटपछि जाम खुल्यो, ठुलो पानी परिरहेको थियो । बस पल्टेको ठाउँमा पुगेपछि विपरीत दिशातर्फ वीरगञ्जबाट आउँदै गरेको बस र हामी बसेको बस आमने सामने थियो । एक्कासि हामी बसेको बस हल्लिन थाल्यो, हामी बसेको बसको ड्राइभरले अगाडि बढाउन खोज्दा बस एक्कासि त्रिशूली नदीमा खसेको थियो ।

हामी बसेको बसको ड्राइभरले ब्रेक हानेको भए यात्रुहरू बच्न सक्थे होला । हामी बसेको बस ड्राइभरले अगाडिबाट आएको अर्को बसलाई कटाई अगाडि बढाउने क्रममा उक्त बस नदीमा खसेको हो । त्यसपछि हामी बसेको बस माथिबाट तल पल्टिँदै नदीमा खस्ने क्रममा मैले आफ्नो छोराछोरीलाई समाउँदा कोही भेटिनँ ।

  • सरकारद्वारा कार्यदल गठन

सरकारले यस्तो दुर्घटना दोहोरिन नदिनका लागि विस्तृत अध्ययन गर्न २०८१ असार ३१ गतेको मन्त्रिपरिषदको निर्णयबाट गृह मन्त्रालयका सह–सचिव छवि रिजाल संयोजक रहेको ६ सदस्यीय कार्यदल गठन गरेको थियो । यसका अन्य सदस्यमा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्री, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सीडीई प्रकाशचन्द्र भण्डारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव सन्ध्या सिग्देल थिए ।

सुरुमा प्रतिवेदन पेस गर्न १० दिनको समय दिइएकोमा समय अपर्याप्त भएको भन्दै गृहमन्त्रीस्तरको निर्णयबाट साउन ११ गते ७ दिनको म्याद थप भएको थियो । समितिले साउन २२ गते गृहमन्त्री रमेश लेखकलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।

simaltal accident (5)

  • प्रतिवेदनको निष्कर्ष

कार्यदलले सिमलताल माथिको पहाडी क्षेत्रमा हालसालै खनिएको ग्रामीण सडक (सिमलताल–बाँङ्गेसाल–डुम्रेगाउँ) क्षेत्रमा कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको पाएको थियो । सो स्थानमा उचित इन्जिनियरिङ डिजाइन विनाको सडक खनिएको, सडक निर्माण गर्दा कट एण्ड फिल एप्रोचमा कार्य नगरी कटिङबाट मात्र सडक बनाउँदा अत्यधिक मात्रामा निस्केको माटो सडक छेउको पाखामा त्यत्तिकै फ्याँकिएको तथा सडकमा कुनै टेवा पर्खाल निर्माण नगरिएको प्रतिवेदनमा उल्लेख छ ।

अत्यधिक वर्षाको समयमा त्यस स्थानमा पहिरो गएको र सो पहिरो नै डेब्रिज बहावको स्रोत बन्न पुगी डेब्रिज बग्दै सिन्दुरे खोल्सा हुँदै तलतर्फ झर्दा खोल्साको तल्लो भागमा स–सानो पहिरोसमेत गएको, खोल्सामा केही वर्ष पहिला बनेका चेक ड्याम तथा ग्याबिन वालले सोको प्रेसर थाम्न नसक्दा बाढीसँगै आएको ठुलो परिमाणको लेदो, गेग्रान र डेब्रिजले सडक क्रस गर्दै गरेका दुई वटा सवारी साधनलाई धकेलेर त्रिशूली नदीमा खसालेको प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै, भरतपुर महानगरपालिकाले वडा नं २९ अन्तर्गत सिमलताल–बाँङ्गेसाल–डुम्रेगाउँ सडक खण्ड निर्माण गर्दा समग्र वातावरणीय पक्षमा ध्यान दिएको नदेखिएको प्रतिवदेनमा उल्लेख छ ।

सडक डिभिजन, भरतपुरले डेब्रिज सफा गर्दा सडकको माथिल्लो साइडतर्फ थुप्रिएको डेब्रिज बगेर सडकतिरै आउन सक्छ भन्ने कुरामा ध्यान नपुर्‍याएको कार्यदलले बताएको छ । साथै जोखिमको आकलन गरी त्यहाँ रहेको कल्भर्ट तथा क्यापिट नियमित रूपमा सफा गरेको नदेखिएको भनिएको छ ।

सडक सुरक्षा सम्बन्धी एकीकृत सूचना प्रणालीको विकास नभएको कारण सडकको अवस्थाबारे सवारी चालकले पूर्वानुमान गर्न नसकेको र सुरक्षाकर्मीले सवारी रोक्न आवश्यक नठानेको प्रतिवेदनमा जिकिर गरिएको छ । सडक सुरक्षाका दृष्टिले निकै जोखिमपूर्ण मानिएको सो सडकखण्डमा ठुलो वर्षा भइरहेको र रातको समयमा सवारी चलाउँदा ‘सुरक्षा पहिलो’ भन्ने मूल कुरामा ध्यान दिई अत्यन्त सावधानीपूर्वक सवारी हाँक्नुपर्नेमा ध्यान नदिएको पाइएको थियो ।

प्रतिवेदनका अनुसार सडक सुरक्षासँग सम्बन्धित विभिन्न प्रकारका सूचना सडक निर्माण तथा मर्मत सम्भार गर्ने निकाय, सडक प्रयोगकर्ता, यातायात व्यवसायी, यातायात मजदुर र सुरक्षा निकायका बिचमा आदानप्रदान गर्ने प्रणालीको विकास नहुँदा भारी वर्षाको समयमा पनि जोखिमयुक्त सडकमा यात्रुवाहक सवारी साधन सञ्चालन भएको अवस्था देखिएको थियो । स्पष्ट सूचनाको अभावमा सुरक्षा निकायले पनि सवारी साधन रोकेको देखिएन ।

त्यस्तै, सडक डिजाइन, निर्माण र सडक सुरक्षा तथा सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापन गर्ने कार्यमा बहुसरोकारवालाको सहभागिता हुने हुँदा यी निकायहरूका बिचमा उचित समन्वय नहुनुका साथै व्यावसायिक कार्यशैलीको विकास हुन नसकेको पाइएको थियो । सडक सुरक्षालाई सुधार गर्न सबै सरोकारवालालाई समन्वय गर्ने एउटा केन्द्रीय निकायको अभाव देखिएको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनले उठाएका प्रश्नहरू :

  • असार २८ गते राति सिमलताल क्षेत्रमा पहिरो गई सडक अवरुद्ध भएको सूचना उक्त रुटमा यातायात सञ्चालन गर्ने व्यवसायी र सवारी चालकलाई प्रवाह भयो कि भएन ? भारी वर्षाको समयमा पनि उक्त सडक खण्डमा सवारी चल्नबाट किन रोकिएन ? सो सडक खण्डको नारायणघाटदेखि मुग्लिनबजारसम्म विभिन्न स्थानमा रहेका सुरक्षा युनिटले भारी वर्षा भएको रातको समयमा जोखिमपूर्ण स्थानमा सवारी चल्नबाट किन रोक लगाएनन् ? यस्तो समयमा सवारी साधन रोक्ने म्यान्डेट सुरक्षा निकायलाई थियो कि थिएन ?
  • वर्षाको समयमा दिउँसोसमेत सो सडक खण्डमा सवारी चलाउने कार्य निकै जोखिमपूर्ण हुन्छ भने रातिको समयमा त यो जोखिम धेरै गुणा बढी हुन्छ भन्ने थाहा पाउँदापाउँदै चालकहरूले किन सवारी साधन चलाए ? भारी वर्षा भैरहेको र रातिको समयमा यो रुटमा सवारी चलाउँदा अझ धेरै जोखिम हुने भएकोले उच्च सावधानी अपनाएरमात्र सवारी चलाउन सम्बन्धित सवारी धनीले आ–आफ्ना चालकहरूलाई निर्देशन दिए कि दिएनन् ? मूलतः राजमार्ग अवरुद्ध भएको सूचना प्रवाह गर्ने एकीकृत संयन्त्र थियो कि थिएन ? भएको संयन्त्र पनि किन प्रभावकारी हुन सकेन ?
  • यस सडकखण्डको मर्मत सम्भार गरी सवारी साधन सञ्चालनयोग्य बनाउने र जोखिमयुक्त नाली, कल्भर्ट तथा क्याचपिटहरू आवश्यकता अनुसार सफा गरी जोखिम घटाउने कार्यजिम्मेवारी सडक डिभिजन भरतपुरको हो । असार ८ गतेको ठुलो वर्षाका कारण सिन्दुरे खोल्सीमा आएको बाढीले कल्भर्ट तथा क्याचपिट पुरिएको कुराको जानकारी भएर पनि किन सफा गर्न सकिएन ? वर्षाको समयमा यस प्रकारको काम गर्दा कामदार तथा उपकरणलाई नै खतरा हुने भएर हो कि ? यदि सो कल्भर्ट र क्याचपिट सफा गरेको भए माथिबाट आएको डेब्रिज ठुलो परिमाणमा एकैपटक सडकमा आइपुग्ने अवस्था रहँदैन थियो कि ?
  • सडक डिभिजन, भरतपुरले सिमलताल क्षेत्रको मूल सडकको डेब्रिज त पन्छायो तर सडकको माथिल्लो साइडतर्फ थुप्रिएको डेब्रिज वर्षाको समयमा कुनै पनि वेला बगेर सडकतिरै आउन सक्छ भन्ने सामान्य कुरामा किन ध्यान पुर्‍याउन सकेन ?
  • भरतपुर महानगरपालिकाबाट वातावरणीय प्रभाव मूल्याङ्कनविना नै धमाधम ग्रामीण सडक निर्माण गरियो र सडक खन्ने क्रममा एलाइनमेण्ट मिलाउनेतर्फ किन ध्यान दिइएन ? सो सडक खन्दा स्लोप सुरक्षा तथा पानीको उचित निकासको कार्य गर्नुपर्नेमा किन गरिएन ? अधिकांश ग्रामीण सडक निर्माण गर्दा वातावरणीय पक्षमा किन ध्यान दिइँदैन ? वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएका प्रावधानहरूको किन कार्यान्वयन हुँदैन ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप