बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नियात्रा

दिल्ली, लखनउ र आगराको यात्रा : ‘हाट’देखि ‘हल’सम्म

शनिबार, २८ असार २०८२, १२ : ३२
शनिबार, २८ असार २०८२

सारांश

  • नेपाल र भुटानका पत्रकारहरूको भारत भ्रमण 'दिल्ली हाट' देखि 'एचएएल'सम्म पुगेर टुङ्गियो, जहाँ हस्तकलादेखि अत्याधुनिक हतियार निर्माणसम्मको अवलोकन गरियो।
  • भ्रमणमा शैक्षिक संस्था, अनुसन्धान केन्द्र र कला प्रदर्शनीहरूको अवलोकन गरियो, र भारतको विज्ञान, प्रविधि र पूर्वाधारमा भएको प्रगतिको बारेमा जानकारी लिइयो।
  • लेखकले भारत भ्रमणका क्रममा व्यक्तिगत अनुभव, पिताको सम्झना, र नेपाल-भारत सम्बन्धको सांस्कृतिक महत्वबारे चर्चा गरे।

यही जुलाईको पहिलो साता ‘भारत परिचय यात्रा’ गर्ने अवसर पायौँ, नेपालका १० र भुटानका १० पत्रकारले । निर्धारित कार्यक्रम यस्तो थिएन तर संयोग यस्तै भयो कि हाम्रो भ्रमण ‘हाट’ (दिल्ली हाट आईएनए) देखि ‘हल’ (एचएएल— हिन्दुस्तान एरोनटिक्स लिमिटेड) सम्म पुगेर टुङ्गियो । दिल्ली हाटमा हस्तकलाका सामग्री पाइन्छन् भने ‘हल’ले अत्याधुनिक हतियार बनाउँदै र विश्व बजार खोज्दै छ । 

नेपालका लागि भारतीय दूतावासको तत्त्वावधानमा विभिन्न सञ्चारगृहका हामी दश पत्रकार जुलाई २ मा सात दिनका लागि काठमाडौँदेखि दिल्ली उड्यौँ । दिल्ली एयरपोर्टमै हाम्रो भेट भुटानी साथीहरूसँग भयो । होटल ताज (मानसिंह)मा झोला बिसाएर हामी सोही साँझ ‘दिल्ली हाट’को अवलोकनका लागि निस्कने कार्यक्रम थियो ।

दिल्ली हाटदेखि सुरु भएर उत्तरप्रदेशस्थित ‘संगीत नाटक एकेडेमी’को अवलोकन गरेपछि हाम्रो भ्रमण टुङ्गिने कार्यक्रम तय थियो, यद्यपि समय अभावका कारण ‘हिन्दुस्तान एरोनटिक्स लिमिटेड, उपसाधन प्रभाग, लखनउ (एचएएल)’ को भ्रमणसँगै हाम्रो यात्रा टुङ्गियो । ‘हाट’देखि ‘हल’सम्मको यस यात्राले निकै सांकेतिक अर्थ बोकेको मैले महसुस गरेको छु । 

 

मानव सभ्यताको इतिहासको यात्रा हस्तकला हुँदै अत्याधुनिक हतियारसम्म आइपुगेको छ, यी दुवै यात्रामा भारतको प्रगति प्रशंसनीय छ । आउने अगस्त २३ मा भारतको चन्द्रयान– ३ ले चन्द्रमा छोएको दुई वर्ष पुग्दै छ । जुलाई ९ मा लखनउदेखि दिल्ली र दिल्लीदेखि काठमाडौँको उडान भर्दै गर्दा मैले जहाजको झ्यालबाट तलतिर देखिएको बादललाई मोबाइलमा कैद गर्दै सोच्दै थिएँ— यो यात्राको बारेमा के कसरी लेखौँ ! 

दिल्ली टेकेको पहिलो दिन एयरपोर्टमा हामीलाई पाँचजना सिपाहीले सलामी चढाएका थिए । त्यसपछि हाम्रा लागि भीआईपी लेखिएको कार्ड भिर्न दिइएको थियो । पत्रकारलाई यत्रो सम्मानका साथ घुमाइएको थियो । 

india visi (4)

जहाज आकाशमा अधिकांश समय बादलमाथि उडिरहेको थियो र मेरो मन पनि बादलमाथि नै थियो । जहाजको झ्यालबाट घरीघरी बादल छलेर धर्ती देखिन्थ्यो, मेरो उडेको मनले पनि घरीघरी धरातल टेक्थ्यो । 

सन् १९८४ मा स्थापित यस शैक्षिक संस्थाले अहिले स्नातकोत्तर डिप्लोमा, फेलोसिप (विद्वत् तहको कार्यक्रम) लगायत कार्यक्रम सञ्चालन गर्छ । भारतको मानव संसाधन विकास मन्त्रालयले यसलाई ‘उत्कृष्ट संस्था’को रूपमा मान्यता दिएको छ ।

भ्रमणका क्रममा हामीलाई भारतको प्रमुख उच्च शिक्षण संस्थान आईआईटी दिल्लीको ‘रिसर्च एन्ड इनोभेसन पार्क’मा लगिएको थियो । त्यहाँ विशेषतः दुईवटा उत्पादन (वाटर क्वालिटी एनालाइजर र वायरलेस चार्जिङ) का बारेमा हामीलाई बताइयो । 

त्यहाँदेखि फर्कने क्रममा हामीलाई नयाँ दिल्लीस्थित बिकानेर हाउसमा लगियो, जहाँ ‘स्ट्रोक्स अफ ह्याप्पिनेस’ शीर्षकको कला प्रदर्शनी गरिएको थियो, जसमा ४१ जना भुटानी कलाकारका समकालीन कला समेटिएका थिए । त्यहाँ मेरा लागि आकर्षक चित्र थियो, कलाकार लोडे फुन्थोको ‘ब्रुसिङ जोय : अ ट्रिब्युट टु हिज मेजेस्टी’ शीर्षकको । यस चित्रमा भुटानका राजाले आफ्नै चित्र कोरेको देख्न सकिन्छ । 

india visi (5)

हामीलाई त्यस प्रदर्शनीका बारेमा बताउन कलाकार कुन्जााङ वाङ्मो अगाडि सरेकी थिइन् । अमूर्त खालको लाग्ने ‘निमा योजेर’ नामको उनको चित्रका बारेमा मैले उनलाई सोधेको थिएँ । ‘निमा योजेरको अर्थ हो— रेज अफ् द सन् अर्थात् सूर्यका किरणहरू,’ उनले भनिन् । 

भ्रमणका क्रममा हामीले सार्वजनिक व्यावसायिक विद्यालय ‘इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट, लखनउ’ (आईआईएम लखनउ)ले राखेको एउटा अन्तर्क्रियात्मक कार्यक्रममा भाग लियौँ । सन् १९८४ मा स्थापित यस शैक्षिक संस्थाले अहिले स्नातकोत्तर डिप्लोमा, फेलोसिप (विद्वत् तहको कार्यक्रम) लगायत कार्यक्रम सञ्चालन गर्छ । भारतको मानव संसाधन विकास मन्त्रालयले यसलाई ‘उत्कृष्ट संस्था’को रूपमा मान्यता दिएको छ । भारतले आफ्नो शैक्षिक बजार पनि विस्तार गर्न खोज्दै छ । 

india visi (6)

हामीलाई लखनउस्थित ‘सेन्ट्रल इन्स्टिच्युट अफ मेडिसिनल एन्ड एरोमेटिक प्लान्ट्स’ (सीएसआईआर)को मुख्य कार्यालयको पनि भ्रमण गराइयो । सन् १९५९ मा स्थापित यस कार्यालयका अनुसन्धान केन्द्रहरू बेङ्ग्लोर, हैदराबाद, पन्तनगर र पुरारामा पनि रहेका छन् । यी केन्द्रहरूले जैविक र रासायनिक विज्ञानमा अनुसन्धान गर्दै आएका छन् । लखनउस्थित केही ल्याबको भ्रमण गराएपछि हामीलाई दुई उत्पादन (रिलेक्सोम्याप तेल र क्लिन्जी फेस वास) उपहार दिइएको थियो । 

निर्धारित कार्यक्रम सकेर लखनउदेखि दिल्लीसम्मको उडान भर्दै गर्दा मेरो मानसपटलमा विविध कुरा खेल्छन् । मेरो मन इतिहास र शास्त्रतिर पुग्छ ।

‘दिल्ली हाट’को अवलोकनपछि हामीलाई ‘राष्ट्रपति भवन’को भ्रमण गराइएको थियो । भ्रमणमा जानुपूर्व नै मैले इन्टरनेटमा ‘राष्ट्रपति भवन’ हेरेको थिएँ, यसबारे केही प्रश्न एआईलाई राखेको समेत थिएँ । वेबसाइटमा मुख्य आकर्षणमा ‘स्टोन फ्रम द मुन’ पनि थियो । त्यसलाई हेर्ने सोचेको थिएँ, कसो–कसो छुट्यो वा के भयो— मैले मेसै पाइनँ । 

india visi (1)

त्यहाँको संग्रहालय घुम्ने क्रममा मेरो मनलाई एउटा तस्बिरले हल्लाएको थियो, त्यो तस्बिर थियो, अपातानी महिलाको । भनिन्छ, अरुणाञ्चल प्रदेशको अपातानी समुदायका महिलाले आफूलाई कुरूप देखाउन अनुहारमा कालो रेखा कोर्ने र दुवै नाकमा ठुलो प्वाल पारेर काठ हाल्ने प्रथा सुरु भएको थियो । अपातानी समुदायका महिला सुन्दर भएकाले अन्य क्षेत्रका पुरुषले अपहरण गर्ने त्रास हुन्थ्यो । त्यसैले अपहरण हुनदेखि जोगाउन उनीहरूलाई कुरूप तुल्याइन्थ्यो, जसले समय क्रमसँगै प्रथाको रूप लिएको थियो । अपातानी समुदायबारे थुप्रै अनुसन्धान भएर पुस्तक वा रिपोर्ट लेखिएका छन् ।  

हिजो भारत देशमा समुद्र तर्नुलाई अधर्म मानिन्थ्यो, आज भारतीय यानले चन्द्रमा छोएको छ, अत्याधुनिक हतियार बनाएर विश्व बजार खोज्दै छ ।

महात्मा गान्धी (१८६९–१९४८)ले जब बेलायतमा कानुन पढ्न जाने निर्णय गरे, तब उनी जातिच्युत हुनुपर्‍यो । यस सन्दर्भलाई गान्धीले आफ्नो आत्मकथामा उल्लेख गरेका छन् । उनी बेलायत जाने भएपछि जातीय सभा बस्यो र मुखियाले भने, ‘तिमीले बेलायत जाने जुन विचार गर्‍यौ, यो ठिक छैन । हाम्रो धर्मले समुद्र पार गर्न निषेध गरेको छ । त्यसमाथि यो पनि सुनिन्छ कि बेलायतमा धर्मको रक्षा हुन पाउँदैन ।’

गान्धी जवाफ दिन्छन्, ‘मलाई लाग्छ, बेलायत जानु अधर्म होइन । मलाई त्यहाँ गएर विद्यार्जन गर्नु छ । फेरि जुन कुरामा तपाईंलाई डर छ, त्यस कुरादेखि आफूलाई परै राख्ने प्रतिज्ञा मैले आफ्नी आमासँग गरिसकेको छु ।’

आफूले भनेको नमानेपछि मुखियाले गान्धीको जातिच्युत गरिदिन्छन् तर यस घटनाले गान्धीलाई कुनै फरक पार्दैन । मुखियासँग बिदा लिएर उनी बेलायत जान्छन् ।

हिजो भारत देशमा समुद्र तर्नुलाई अधर्म मानिन्थ्यो, आज भारतीय यानले चन्द्रमा छोएको छ, अत्याधुनिक हतियार बनाएर विश्व बजार खोज्दै छ ।

मैले नालन्दा विद्यालयदेखि विदुर नीतिको भाव सम्झन्छु । 

विदुर नीतिमा एउटा श्लोक छ— पैसा कमाउने उद्देश्यले औषधि उपचार गर्ने वैद्य वा चिकित्सक, मद्यपान गर्ने व्यक्ति, वेद ज्ञानलाई बेच्ने व्यक्ति घरमा आउँदा गोडा धुने वा पूजा सत्कार कार्य गर्नुहुँदैन । 

(चिकित्सकः शल्यकर्ताकीर्णी 

स्तेनः क्रूरो मद्यपो भ्रूणहा च ।।

सेनाजीवी श्रुतिविक्रायकश्च

भृशं प्रियोऽप्यतिथिर्नोदकार्हः ।।) 

आजको बजारतन्त्रमा शास्त्रलाई सुधार्दै अगाडि बढ्नुपरेको छ, यसमा भारतलाई चुनौती र अवसर दुवै देखिन्छ । 

भ्रमणका क्रममा हामीलाई भारतको रेल मन्त्रालय अन्तर्गतको ‘आरडीएसओ– डिजाइन्स एन्ड स्टान्डडर्स अर्गनाइजेसन’, ‘फिक्की– फेडेरेसन अफ् इन्डियन च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’देखि ‘कोलियसन फर डिजास्टर रेसिलियन्ट इन्फ्रास्ट्रक्चर– सीडीआरआई’को कार्यालयसम्म पुर्‍याइएको थियो । आफ्नो प्राचीन विरासत र बेलायतको उपनिवेशले छाडेको विकासको बर्गतमा भारतले आज विज्ञान, प्रविधि र पूर्वाधारमा निकै प्रगति गरेको छ । 

हामीले आगरास्थित ताजमहलको पनि अवलोकन गर्ने अवसर पायौँ । एकपटक ताजमहल पुग्ने मेरो धोको थियो, जो पूरा भयो । हिमाल पत्रिकामा काम गर्दा मैले ‘शासक बुझाउने स्मारक’ शीर्षकको फिचर लेखेको थिएँ । विश्वमा शासकले बनाएका स्मारकहरूको थोरै पृष्ठभूमि खोज्दै जाँदा म पिरामिडदेखि ताजमहलको इतिहाससम्म पुगेको थिएँ ।

मुगल सम्राट शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको स्मृतिमा संगमरमरबाट बनाएको भव्य स्मारक कस्तो होला भन्ने लागिरहन्थ्यो । एसएल नागोरीद्वारा लिखित पुस्तक ‘मध्यकालीन भारतः ईस्वी १०००–१७६१’ का अनुसार, आगरास्थित यो भवन बनाउँदा तीन करोड नगद र २२ वर्ष लागेको थियो । थुप्रै कवि–लेखकले ताजमहललाई ‘मृत्युको गालामा अमिट आँसु, पत्थरद्वारा प्रेमको अभिव्यक्ति, संगमरमरमा साकार स्वप्न, प्रेम तथा अनुरागको अद्वितीय स्मारक’ जस्ता शब्दावलीले प्रशंसा गरेका छन् ।

यसको अवलोकन हामीले करिब डेढ घण्टाभित्र गरेका थियौँ । त्यत्रो खर्च गरेर र त्यत्तिका वर्ष लगाएर बनाएको स्मारकलाई डेढ घण्टाभित्र पैदल हिँड्दै कति नै अवलोकन गर्न सकिन्छ र ! अवलोकन गरिरहँदा मेरो मनमा विचार आइरहेका थिए— यस्ता स्मारक तथा सम्पदाको अवलोकन समय दिएर गराइनुपर्छ ।

भारत सभ्यता, संस्कृति र सम्पदाले भरिएको भूमि हो । त्यसबारे आजको पुस्ताले बुझ्न जरुरी छ । हामी कतिपयले आफ्नो सभ्यता र संस्कृतिको जरा खोज्दै जाने आधारहरू भारतमा प्रशस्तै छन् । 

india visi (3)

आगराबाट बसमा दिल्ली फर्कंदै गर्दा म सोच्दै थिएँ— आफ्नो संस्कार, संस्कृति र सभ्यताको मूल खोज्दै जाने हो भने हाम्रो चिन्तन पनि फराकिलो बन्छ, जुन चिन्तन सामाजिक न्याय स्थापनामा ‘सफ्ट पावर’ बन्न सक्छ ।

नेपाल र भारतको सम्बन्धलाई संस्कार, संस्कृति र सभ्यताले र यिनीहरूको पृष्ठभूमि तथा इतिहासले पनि मजबुत बनाइरहेको छ । यो देश–देशको औपचारिक सम्बन्धमा मात्र सीमित छैन, कुनै न कुनै रूपमा नागरिकदेखि नागरिकसम्म जोडिएको छ ।

हिन्दुस्तान एरोनटिक्स लिमिटेड, उपसाधन प्रभाग, लखनउ (एचएएल)को अवलोकन गर्न जाँदा हाम्रो सुरक्षा जाँचमा निकै कडाइ गरिएको थियो । हामीले जुत्ता, मोबाइल, रेकर्डर, घडी आदि बाहिर छाडेर भित्र हलमा जानुपरेको थियो । हाम्रो भीआईपी कार्डमाथि अर्को कार्ड भिराइएको थियो । त्यतिबेला मलाई लाग्दै थियो— मानवीय सम्बन्ध र संवेदना एकातिर छ, सुरक्षा सतर्कता भनौँ कि शक्ति अर्कैतिर । यद्यपि भित्र लगिसकेपछि प्रत्येकलाई गुलाब दिएर अद्भुत आत्मीयता प्रकट गरिएको थियो । 

त्यहाँ भारतले बनाएका मिसाइलका बारेमा प्रस्तुति दिइएको थियो । सन् २०३० भित्र ३० देशमा हतियार बेच्ने लक्ष्य पनि प्रस्तुतिमा परेको थियो । प्रस्तुति हेरेर निस्केपछि मेरो मानसपटलमा पुस्तकहरूमा पढेको प्राचीन भारतको शक्ति उत्रन खोज्दै थियो । भारत प्राचीन कालदेखि नै आयुध (हतियार)मा अगाडि हो । कौटिल्यको अर्थशास्त्रमा आयुधागार अध्यक्षले गर्ने काम उल्लेख छ, जहाँ १० किसिमका स्थिर र १७ किसिमका चलायमान हतियारको वर्णन समेत गरिएको छ । स्थिर आयुध (हतियार)मा सर्वतोभद्र नाम गरेको यन्त्र थियो, जसले वरिपरि पत्थर बर्साउन सक्थ्यो । यस्तै जामदग्न्य नामको यन्त्र पनि थियो, जसभित्र धेरै वाण भरिएको हुन्थ्यो र आफैँ वाण छाडिरहन्थ्यो । 

०००

नेपाल र भारतको सम्बन्धलाई संस्कार, संस्कृति र सभ्यताले र यिनीहरूको पृष्ठभूमि तथा इतिहासले पनि मजबुत बनाइरहेको छ । यो देश–देशको औपचारिक सम्बन्धमा मात्र सीमित छैन, कुनै न कुनै रूपमा नागरिकदेखि नागरिकसम्म जोडिएको छ ।

नेपालबाट भारतमा रोजगारी खोज्दै जाने र भारतबाट नेपालमा व्यवसाय गर्न मात्र नभई रोजगारी खोज्दै आउने प्रचलन अहिले पनि छ । मेरा पिताले जीवनको अधिकांश ऊर्जा र उमेर भारतको पुरानो दिल्लीमा नोकरी गरेर बिताउनुभयो र मलाई पढ्न र अघि बढ्न सधैँ प्रेरित गर्नुभयो । ६ वर्षअघि (अप्रिल १, २०१९ मा) मेरा पिताको देहान्त भारतको नागलोईमा भयो, कारको ठक्करबाट । त्यतिबेला न्याय खोज्न जाँदा मलाई निकै सकस भएको थियो । पटक–पटक भारत पुगेर अदालतमा उपस्थित हुँदा हाम्रो निकै खर्च भयो तर क्षतिपूर्ति पाँच लाख रूपैयाँ पाइएको थियो, त्यसमध्ये वकिललाई एक लाख रुपैयाँ बुझाउनुपरेको थियो । म पत्रकार हो भन्ने थाहा पाएर होला, वकिलले पैसा भारतमै बुझेका थिएनन्, पछि हामीले नेपालबाट पठाउनुपरेको थियो ।

यसपालिको भारत भ्रमणमा म वास्तवमै भावुक थिएँ, किनभने मलाई बेला बेला पिताको सम्झनाले सताउँथ्यो । अर्कोतिर हाम्रो यात्राभरिको रमाइलो पात्र थिइन्, एक भुटानी पत्रकार । नेपालका एक पत्रकारलाई उनले कान्छा भनेर सम्बोधन गर्थिन्, नेपाली पत्रकारले उनलाई कान्छी भनेर । यसले गर्दा यात्रामा निकै रमाइलो माहोल सिर्जना भएको थियो । नेपाली भाषामा कुरा गर्ने सक्ने उनको अनुहारको आकृति मेरी एक पुरानी मित्रसँग ठ्याक्कै मिल्थ्यो । मैले मेरी मित्रको तस्बिर देखाएर उनलाई भनेको थिएँ, ‘हेर त नेपालमा तिमीजस्तै मेरी एउटी साथी छ ।’ तस्बिर देखाएर यसो भनेपछि उनले के ठानिछन् कुन्नि, बोल्ने र जिस्कने क्रममा उनले मेरो साथी (कान्छा)लाई नजिक र मलाई टाढा राख्थिन् । उनको त्यो ईर्ष्या सिर्जना गराउने व्यवहार पनि मलाई सुन्दर लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप