एआईको प्रतिस्पर्धाबिच अबको संसार कस्तो हुनेछ ?
सारांश
- लेखक युवल नोह हरारीले एआईको उदयले मानव जातिको विस्थापन हुनसक्ने खतरा औंल्याए।
- एआई आफैँ निर्णय गर्न सक्ने एजेन्ट हो र यसले नयाँ विचार आविष्कार गर्न सक्छ।
- हरारीले एआईको विकासमा मानव जातिको लक्ष्य र सुरक्षा सुनिश्चित गर्न जोड दिए।
के कृत्रिम बौद्धिकता (एआई) को उदयको अर्थ होमो सेपिएन्स अर्थात् मानिसको अन्त्य नै हो ? अमेरिकाबाट प्रकाशित हुने ‘वाल स्ट्रिट जर्नल’ ले यो प्रश्न लेखक तथा इतिहासकार युवल नोह हरारीसँग सोधेको छ ।
हरारी एआईको उदयको व्यापक फाइदा तथा भयानक खतरा दुवै बारे मुखर छन् । उनले वाल स्ट्रिट जर्नलसँग यसै सेरोफेरोमा रहेर गरेको कुराकानी ।
- कृत्रिम बौद्धिकता वा तपाईँकै शब्दमा भन्दा एलियन बौद्धिकताका रूपमा नयाँ प्रजातिको उदयले मानव जातिलाई विस्थापन गर्न सक्छ ?
पहिलो पटक मानव जातिले धर्तीमा वास्तविक चुनौतीको सामना गर्नुपरेको छ । हामी हजारौँ वर्षदेखि यहाँ सबैभन्दा बुद्धिमान प्रजातिको रूपमा रहन सफल भयौँ । अफ्रिकाको एउटा कुनामा रहेको मामुली ढेडुबाट धर्ती र यहाँको पर्यावरणको एकलौटी शासक हुने अवस्थासम्म आइपुग्यौँ । अब हामी यस्तो जिनिस बनाउँदै छौँ, जसले निकट भविष्यमै हामीसँग प्रतिस्पर्धा गर्न सक्छ ।
एआईबारे बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो कुनै औजार होइन । यो आफैमा सक्रिय पात्र वा एजेन्ट हो । एजेन्ट यस अर्थमा की यसले हाम्रो सहायता वा संलग्नता बेगर आफै स्वतन्त्रतापूर्वक निर्णय गर्न सक्छ । यसले नयाँ विचार पनि आविष्कार गर्न सक्छ । नयाँ कुरा सिक्न सिक्न र तदनुकूल आफूमा परिवर्तन ल्याउन सक्छ । यस अघिका सबै मानवीय आविष्कारहरू चाहे त्यो प्रिन्टिङ प्रेस होस वा आणविक बम, ती सबैले केवल हामीलाई सशक्तीकरण गर्थे तर एआई त्यस्तो होइन ।
हामी कसरी एआईलाई लक्षित दिशा तर्फ डोर्याउन सक्छौँ वा कसरी तिनीहरूलाई निश्चित सिद्धान्त सिकाउन सक्छौँ भन्नेबारे धेरै प्रकारले प्रयत्न भएको छ । यदि हामी एआई एजेन्टहरूमा निर्धारित लक्ष्य कोड ‘कोड’ गर्न समर्थ भयौँ भने हामी सुरक्षित हुन सक्छौँ ।
हो, पहिलेका आविष्कारहरूलाई हाम्रो आवश्यकता पर्थ्यो । छापाखानाले आफै किताब लेख्न सक्दैनथ्यो । कुन छाप्ने र कुन नछाप्ने भन्ने निर्णय गर्न सक्दैनथ्यो । एउटा आणविक बमले अर्को थप शक्तिशाली बम बनाउन सक्दैनथ्यो । आणविक बम आफैले कहाँ र कसरी आक्रमण गर्ने भन्ने निर्णय गर्न सक्दैनथ्यो । तर, एआई हतियारले भने आफै लक्ष्य तय गर्छ र कुन बम हान्ने पनि आफै निर्णय गर्छ । साथै थप संवृद्ध वा विकसित स्तरको हतियार आफैले रचना तथा सिर्जना गर्न सक्छ ।
_nr4BkK7UUy.png)
- तपाईंले आफ्नो पुस्तक ‘नेक्सस’ मा भन्नु भए जस्तै अहिले एआई ‘बाल्य अवस्था’ मा छ । यसले हामीबाट सिक्दै छ । तपाइको तर्क अनुसार अहिले हामी जसरी व्यवहार गर्छौँ भविष्यमा एआईले त्यस्तै व्यवहार गर्नेछ । अहिले हामीले ढाँट्ने वा छल्ने गर्छौ भने भविष्यमा असल एआईको आशा गर्न सक्दैनौँ । यस्तोमा शक्तिशालीहरूको ठुलो जिम्मेवारी छ भन्नु हुन्छ तपाईं, यसलाई थप प्रस्ट्याइ दिनुस् न ।
संसारमा एआईको विकास कसरी गरिँदै छ भन्नेबारे ठुलो चर्चा छ । हामी यसलाई दिनानुदिन बलियो हुँदै गरेको तथा धेरै शक्तिशाली ‘सुपरइन्टेलिजेन्ट’ एजेन्टका रूपमा विकास गरिरहेका छौँ । यस्तो अवस्थामा स्वाभाविक रूपमा हामी कसरी यी एआई एजेन्टहरू मानव जातिको लक्ष्यसँग मिलेर अघि बढ्छन् वा मानवताको हितमा हुन्छन् भन्ने सुनिश्चित गर्न सक्छौ भन्ने प्रश्न उठ्छ ।
यसबारे धेरै अनुसन्धान भएको छ । हामी कसरी एआईलाई लक्षित दिशा तर्फ डोर्याउन सक्छौँ वा कसरी तिनीहरूलाई निश्चित सिद्धान्त सिकाउन सक्छौँ भन्नेबारे धेरै प्रकारले प्रयत्न भएको छ । यदि हामी एआई एजेन्टहरूमा निर्धारित लक्ष्य कोड ‘कोड’ गर्न समर्थ भयौँ भने हामी सुरक्षित हुन सक्छौँ ।
यस्तो तरिका अपनाउँदा दुई खाले समस्या देखा पर्छन् । पहिलो, एआईको परिभाषा अनुसार नै यसले कुनै पनि कुरा सिक्न र आफैलाई फेर्न सक्षम हुन्छ भनिएको छ । यस अनुसार एआईले हामीले अनुमान गर्ने भन्दा फरक धेरै काम गर्न सक्छ ।
एआईले पनि सबै क्षेत्रमा परिवर्तन ल्याउँदै छ । केही प्रस्ट देखिँदैछन् भने केही अझै प्रस्ट छैनन् ।
अर्को समस्या झनै ठुलो छ । हामी अहिले एआईलाई कुनै बालक जस्तो सोच्न सक्छौँ । उसलाई आफ्ना सबै सबल गुणहरू सिकाउन सक्छौँ । हामीले सिकाएकै अवस्थामा समेत यसले हामीलाई उन्नत वा खराब नतिजा देखाएर छक्क पार्न सक्छ । अन्ततः यसले हामीलाई छक्क पार्ने वा अझ भनौँ तर्साउने क्षमता हासिल गरिनै हाल्छ ।
शिक्षाबारे थोरै पनि जानेका मानिसलाई राम्रोसँग थाहा छ, बच्चाहरूलाई सिकाउँदा हामी के भन्दैछौँ भन्दा पनि हामी के गर्दैछौँ भन्ने व्यवहारले सिकाइमा ठुलो असर पारेको हुन्छ । यदि हामी आफ्नो बच्चालाई ‘ढाँट्नु हुँदैन’ भन्छौँ तर हामी आफैले ढाँटिरहेको बच्चाले देख्छन् भने उनीहरूले हाम्रो व्यवहारको नक्कल गर्छन् । त्यस्तो अवस्थामा हाम्रा फगत निर्देशनहरूको अर्थ हुँदैन ।
यदि हामीले ठुलो परियोजना बनाएर एआईलाई झुट नबोल्न तालिम दिन्छौँ तर उनीहरूलाई संसारका मानिसको व्यवहारमा सहज पहुँच हुन्छ भने उनीहरूले त्यो व्यवहार हेर्छन् । कसरी धर्तीका शक्तिशाली मानिस तथा उनीहरूका अभिभावकहरु ढाँट्छन् भन्ने देख्छन् । र, त्यसैको नक्कल गर्छन् । त्यही सिक्छन् । हाम्रो ठुलो पहल निरर्थक हुन्छ ।
- हामीले आज बिहान आ–आफ्नो क्षेत्रका अगुवाहरूलाई केही प्रश्नहरू सोध्यौँ, जसमा उनीहरूले सञ्चालन गरिरहेको व्यवसायमा एआई कति प्रभावकारी भएको छ भनेर सोधिएको थियो । न्यून सङ्ख्यामा मात्रै प्रभावकारी छ भन्ने जवाफ आयो । धेरै जसोले अलि–अलि प्रभावकारी त छ तर धेरै ठुलो फरक भने पार्न नसकेको बताउनु भयो । अबको ३६ महिना पछि यसै गरी हामीले छलफल गर्दा पनि त्यसरी नै न्यून प्रभाव पारेको हुन्छ वा यो अवस्था फेरिन्छ ?
यो प्रश्न समयको मापनसँग जोडिएको छ । मानौँ अहिले हामी सन् १८३५ को लन्डनमा बसेर कुरा गर्दछौँ । पाँच वर्षअघि मात्रै म्यानचेस्टरदेखि लिभरपुलसम्मको रेल सञ्चालनमा आएको छ । मानिसहरू भन्दै छन्, ‘हामी रेलमार्गले संसार कसरी फेर्छ भन्ने छलफल गर्दछौँ । औद्योगिक क्रान्तिलाई कसरी गति दिँदै छ भन्दै छौँ । यी सबै वाहियात कुरा हुन । हामीसँग धेरै अघिदेखि रेलमार्ग छ त ! खै त परिवर्तन ?’
अहिले आएर हेर्दा हामीले देख्छौँ, औद्योगिक क्रान्ति तथा रेलले विश्वमा आमूल परिवर्तन ल्याइदिए । त्यो थाहा पाउन उनीहरूलाई थप पाँच वर्ष लाग्यो । अहिले एआईको सन्दर्भमा पनि त्यस्तै हो । एआईले पनि सबै क्षेत्रमा परिवर्तन ल्याउँदै छ । केही प्रस्ट देखिँदैछन् भने केही अझै प्रस्ट छैनन् ।
मलाई लाग्छ हामीले ठुलो परिवर्तन देख्ने मुख्य क्षेत्र वित्तीय क्षेत्र हुन सक्छ । एआईले वित्तीय क्षेत्र छिट्टै कब्जा गर्दैछ । वित्तीय क्षेत्र भनेको विशुद्ध सूचनामा आधारित क्षेत्र हो । अहिले नै हामीले दशौँ हजार स्वचालित सवारी साधनहरू देख्न पाएका छैनौँ किनभने त्यसका लागि वास्तविक दुनियाँको भद्रगोलमा काम गर्नुपर्छ । बाटोका खाल्डादेखि पैदलयात्री लगायत धेरै समस्या ख्याल गर्नुपर्ने हुन्छ । तर, वित्तीय क्षेत्रमा केवल सूचना आउने र जाने मात्रै हुन्छ । एआईलाई अहिले नै यसमा महारथ हासिल गर्न सजिलो छ ।
- सोच्नुस् त ! एआईले वित्तीय क्षेत्रमा नयाँ उपकरणहरू आविष्कार गर्न थाल्यो भने तथा गणितीय रूपमा जटिल त्यस्ता उपकरणहरू मानिसको मस्तिष्कले ठम्याउन नसकिने भएको अवस्थामा के होला ?
तपाईंले विभिन्न प्रकारका रोजगारीमा विस्थापन हुने भन्नु भएको छ । तपाईं यसबाट उपयोगिता विहीन वर्गको उदय हुने चिन्ता गर्नु हुन्छ । समाजको रूपमा केवल जोगिन मात्रै नभएर उन्नति गर्नका लागि पनि हामीले के गर्नुपर्ने हुन्छ ?
म के कुरामा जोड दिन चाहन्छु भने एआईसँग व्यापक क्षमता छ । यसका साथै त्यति नै धेरै जोखिम पनि छ । म कुनै पनि ऐतिहासिक वा प्राविधिक नियतिवादमा विश्वास गर्दिन । हामी एउटै प्रविधिको प्रयोगबाट फरक–फरक प्रकारका समाज निर्माण गर्न सक्छौँ । २०औँ शताब्दीलाई हेर्यौँ भने त्यहाँ हामीले ठ्याक्कै एउटै खालको प्रविधिले कम्युनिस्ट सर्वसत्तावाद तथा उदार लोकतन्त्र दुवै बनाएको देख्छौँ ।
एक हिसाबले यो मानव इतिहासको सबैभन्दा ठुलो प्रयोग पनि हो । यसबाट के विकास हुन्छ भन्ने कसैलाई पनि थाहा छैन ।
एआईको हकमा पनि त्यही हुने हो । हामी एआईलाई लिएर के बनाउँछौँ भन्ने हाम्रो रोजाइमा भर पर्छ । यदि हामीले एआईको रूपमा पहिलो पटक कुनै सामान्य उपकरण नभएर एजेन्टसँग काम गर्दैछौँ भन्ने ख्याल गरेनौँ भने यसले हामीलाई जटिलतामा पुर्याउँछ । तथापि यसको धेरै जसो निर्णायक तत्त्व भने हाम्रै हातमा हुन्छ । हामीले प्रविधिको विकास कसरी गर्छौँ वा भनौँ कसरी लागू गर्छौ भन्ने कुरामा धेरै छनोटहरू हामीसँग हुन्छन् ।
मुख्य समस्या भनेको अहिले एआई क्रान्तिको नेतृत्व गरिरहेका मुलुकहरू तथा कम्पनीहरू यसमा गम्भीर देखिँदैनन् । उनीहरू हतियारको होडबाजी जस्तो प्रकारको प्रतिस्पर्धामा छन् । उनीहरूलाई यसको विकास गतिमा सुस्तता ल्याउनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि, सुरक्षामा धेरै लगानी गर्नुपर्छ भन्ने बुझ्दा बुझ्दै पनि उनीहरू आफूले कम गर्दा अर्कोले संसार कब्जा गर्ला भन्ने भयमा छन् ।
- जब हामी एआईबारे कुरा गर्छौँ हामी कुनै एकाङ्गी कुराबारे त कुरा गर्दै हुँदैनौँ । एआई विभिन्न स्वरूपमा प्रस्तुत भइरहेको छ । र यसै गरी अगाडी जानेवाला छ । यी सबै एआईहरू आपसमा प्रतिस्पर्धा गर्दै तीव्र गतिमा विकास हुँदैछन् भने अबको संसार कस्तो हुनेछ ?
यो धेरै महत्त्वपूर्ण सन्दर्भ हो । एआई कुनै महा–एआई वा बडेमानको एआई हुने होइन । हामी सम्भावित करोडौँ वा अरबौँ एआई एजेन्टहरूको कुरा गर्दछौँ । तिनीहरू फरक विशेषताका हुनेछन् । फरक कम्पनीबाट तयार हुनेछन् । फरक मुलुकमा तयार हुनेछन् । त्यसले कस्तो नतिजा ल्याउँछ भनेर हामीलाई केही थाहा छैन ।
करोडौँ एआईहरू आपसमा प्रतिस्पर्धा गरिरहेको एआई समाजमा के हुन्छ भन्ने हामीसँग कुनै अनुभव छैन । यस्तो कुरा अहिले काल्पनिक रूपमा पनि भन्न सजिलो छैन । एक हिसाबले यो मानव इतिहासको सबैभन्दा ठुलो प्रयोग पनि हो । यसबाट के विकास हुन्छ भन्ने कसैलाई पनि थाहा छैन ।
यी एआई आप्रवासीहरू, डिजिटल आप्रवासीहरू जसलाई भिसा समेत चाहिँदैन । उनीहरूले डुङ्गामा बसेर मध्यरातमा समुद्र पार गर्नुपर्दैन । उनीहरू त प्रकाशको गतिमा आइपुग्छन् ।
हामी एउटा तुलना गरेर सोच्न सक्छौँ । अहिले अमेरिका युरोपलगायत जताततै आप्रवासीको सङ्कट छ । धेरै मानिसहरू आप्रवासीलाई लिएर चिन्तित छन् । उनीहरू किन चिन्तित छन् त ? मानिसहरूको दिमागमा तीनवटा कारण आउँछन् । पहिलो, उनीहरू आप्रवासीले आफ्नो रोजगारी खोस्छन् भन्ने ठान्छन् । फरक संस्कृतिबाट आएर आफ्नो संस्कृति फेर्छन् भन्ने ठान्छन् । राजनीतिक एजेन्डासहित आएर देश नै कब्जा गर्न सक्छन् भन्ने सोच्छन् ।
अहिले तपाईं त्यही कुरा एआईको हकमा पनि दाँजेर हेर्न सक्नुहुन्छ । एआई क्रान्तिको लहरले विकास गर्ने करोडौँ, अरबौँ एआई एजेन्टले सहजै मानिसको रोजगारी खोस्न सक्छन् । नितान्त फरक सांस्कृतिक विचार बोकेका हुन्छन् । साथै कुनै प्रकारको राजनीतिक शक्ति समेत हासिल गर्ने प्रयास गर्न सक्छन् ।
यी एआई आप्रवासीहरू, डिजिटल आप्रवासीहरू जसलाई भिसा समेत चाहिँदैन । उनीहरूले डुङ्गामा बसेर मध्यरातमा समुद्र पार गर्नुपर्दैन । उनीहरू त प्रकाशको गतिमा आइपुग्छन् ।
युरोपका अति–दक्षिणपन्थी पार्टीहरू आफ्नो देशको सार्वभौमिकताको चर्का कुरा गर्छन् । यदि उनीहरूलाई साँच्चै आफ्नो देशको सार्वभौमिकताको, आर्थिक तथा सांस्कृतिक भविष्यको चिन्ता छ भने उनीहरूले मानव आप्रवासी भन्दा डिजिटल आप्रवासीको चिन्ता धेरै गर्नुपर्ने समय आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण