बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डेंगुप्रतिको दृष्टिकोणमा ‘बिग ट्विस्ट’ देखिएको छ

आइतबार, २९ असार २०८२, ०९ : ५७
आइतबार, २९ असार २०८२

सारांश

  • नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो र हालसम्म यसको २० वर्ष पूरा भएको छ।
  • २०१९ मा काठमाडौंमा डेंगुको ठुलो महामारी फैलियो, जसमा हजारौं संक्रमित भए र टेकु अस्पतालले 'फिबर क्लिनिक' स्थापना गर्यो।
  • २०२२ मा ८८ जनाको मृत्यु हुने गरी डेंगु घातक बन्यो, तर लामखुट्टे नियन्त्रणमा उदासीनता र चेतनाको कमी समस्याको रूपमा देखिएको छ।

नेपालमा पहिलो पटक सन् २००४ मा डेंगु पुष्टि भएको थियो । मैले मेडिकल शिक्षा सकेर शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा सेवा दिन सुरु गर्दासम्म नेपालमा डेंगु पुष्टि भइसकेको थिएन ।

अस्पतालमा वार्डले राउन्डका वेला वरिष्ठ चिकित्सकहरूबाट डेंगुबारे जानकारी भए/नभएको सोध्नुहुन्थ्यो । त्यो समयतिर भारत, श्रीलंका, बंगलादेशजस्ता छिमेकी देशहरू भने डेंगुबाट आक्रान्त भइसकेका थिए । सम्भवतः नेपालमा पनि ढिलो–चाँडो डेंगुले छिमेकी देशमा जस्तै आक्रान्त पार्न सक्ने अनुमान हामीले गर्ने गर्थौँ । 

डेंगुबारे जानकारी भए पनि बिरामी उपचारको प्रत्यक्ष अनुभव भने थिएन । डेंगुलाई ‘ब्रेक बोन फिभर’ पनि भन्ने गरिने हुनाले यसको दुखाइ असह्य हुन सक्ने अनुमान गरिन्थ्यो । 

सन् २०११–१२ तिर काठमाडौँमा दक्षिणी भारतमा अध्ययन गर्न गएका डेंगु सङ्क्रमित विद्यार्थीलाई उपचार तथा परामर्श दिने गर्दथे । र त्यो नै मेरो डेंगु उपचारको सुरुवाती अनुभव थियो । यद्यपि सन् २००४ यता वेला–वेलामा नेपालका विभिन्न ठाउँहरूमा (काठमाडौँबाहेक) डेंगु देखिने क्रम बढ्दै गइरहेको थियो । हाल डेंगु नेपालमा देखिएको पनि २० वर्ष पार भइसकेको छ ।    

  • सन् २०१९ मा काठमाडौँ ‘अन्डर अट्याक’मा 

सन् २०१९ मा काठमाडौँ पहिलो पटक डेंगुको ठुलो महामारीबाट प्रभावित हुन पुगेको थियो । धरान सहरबाट सुरु भएको प्रिमनसुनी डेंगु आउटब्रेक काठमाडौँतर्फ बढेको थियो । म ओपीडीमा बस्दा काठमाडौँको खुसिँबू, नयाँबजार क्षेत्रमा डेंगु सङ्क्रमित बिरामीको चाप एक्कासि बढेको पाइएको थियो थियो । 

खाजा खाने समयमा समेत डेंगु सङ्क्रमित बिरामी हेर्ने क्रमलाई निरन्तरता दिन थालेँ । झन्डै एक डेढ महिनाको निरन्तर बिरामीको हेराइपछि मात्र डेंगुले काठमाडौँमा साइलेन्ट महामारीको रूप लियो भन्ने सार्वजनिक भयो । र बिरामीको चाप थप तीव्र भएको थियो ।

सो महामारीलाई सम्बोधन गर्न टेकु अस्पतालले इतिहासमै  पहिलो पटक ‘फिबर क्लिनिक’ स्थापना गरी डेंगु बिरामीको उपचार सुरु गर्‍यो । यसको नेतृत्व मैले लिएको थिएँ । जहाँ अधिकांश बिरामीले डेंगुबारे अनविज्ञता प्रकट गरेका थिए, जुन मेरा लागि सबैभन्दा चाखलाग्दो अनि अचम्मित कुरो थियो, किनभने डेंगु देखिन थालेको डेढ दशक भइसकेको थियो ।

काठमाडौँमा अरू सहरका तुलनामा शिक्षितहरू बढी हुने भएकाले डेंगुबारे केही हदसम्म बढी जानकारी होला भन्ने मेरो अनुमान थियो । तर त्यो गलतसिद्ध भयो । सो वर्ष हजारौँ मानिस सङ्क्रमित भएर अस्पताल त आए, तर डेंगुको घताक स्वरूप भने प्रस्तुत भएको खासै देखिएन । 

  • सन् २०२२ः घातक डेंगु वर्ष 

सन् २०२२ मा नेपालमा ८८ जना डेंगु संक्रमितको मृत्यु भयो । यो वर्ष जटिल डेंगुका बिरामी पनि ह्वात्तै बढे । यो महामारीलाई सम्बोधन गर्न अस्पतालले ‘डेंगु क्लिनिक’को स्थापन गरेको थियो ।

साँच्चै भन्नुपर्दा डेंगुको महामारीले कोभिड–१९ को सबैभन्दा घातक दोस्रो लहरको समेत झल्को दिइरहेको थियो । म आकस्मिक कक्ष नजिकै डेंगु बिरामीको उपचारमा व्यस्त रहँदै गर्दा छेउमा दैनिकजसो औसतमा एक दर्जनको हाराहारीमा मानिस बेहोस हुने गरेको देख्थेँ । 

यो महामारीले कोभिड–१९ को लहरजस्तो अवस्था देखिनु नै सन् २०१९ र २०२२ बिचको अन्तरको रूपमा लिन सकिन्छ । अब सन् २०२२ जस्तो फेरि दोहोरिएला ? किन सन् २०२२ मा डेंगु घातक स्वरूपमा प्रस्तुत भयो भन्नेजस्ता विषय गम्भीर रूपमा सायद सबैको मनमा उठिरहेको हुनुपर्छ होला । तर सम्बन्धित निकायबाट यसको कारणबारे विस्तृत अध्ययन भएको पाइएन । 

  • महामारीबाट हामीले पाठ सिक्यौँ त ?

डेंगु भाइरस एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । तर हामी लामखुट्टे नियन्त्रणप्रति अति नै उदासीन देखिएका छौँ । केही वर्षअघि कमसेकम ‘फोगर यन्त्र’ प्रयोगले केमिकल प्रयोग गरेर धुवाँ फाल्दै लामखुट्टे नियन्त्रण गर्ने प्रयास भने भएको थियो । 

तर, दुःखको कुरा, केही वर्षयता लामखुट्टे नियन्त्रण गर्ने प्रयाससमेत भएन । कुनै वडा वा क्षेत्रमा लामखुट्टे नियन्त्रणको अभियान चलाएको सार्वजनिक हुँदा अर्को वडाले पनि यस्तै अभियान पछ्याउनुपर्ने थियो । लामखुट्टेको नियन्त्रणविना डेंगु नियन्त्रण दिवास्वप्न हो । 

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु हो भन्नु पनि व्यवहारिक देखिँदैन । किनभने लामखुट्टे दिनमा बढी सक्रिय हुने हुनाले टोकाइबाट बच्न लगभग असम्भवप्रायः देखिन्छ । तसर्थ लामखुट्टे नियन्त्रणका वैकल्पिक उपायहरू खोज्न जरुरी देखिन्छ । 

तर स्वास्थ मन्त्रालयले हप्तैपिच्छे डेंगु सङ्क्रमित बढ्दै गरेको तथ्याङ्क प्रस्तुत गर्दा नियन्त्रणको उपायमा पाइला चालेको वा एक्सन लिएको पाइएन । 

  • अबको बाटो ? 

लामखुट्टे नियन्त्रणमा देखिएको उदासीनतासँगै सरकारले डेंगु मृत्युदरलाई शून्यमा राख्ने लक्ष्य बोकेको देखिन्छ । तर सर्वसाधारणको डेंगुप्रतिको दृष्टिकोणमा ठुलो परिवर्तन आइसकेको छ । अर्थात् सन् २०१९ अघि डेंगु महामारी बन्दा ज्वरो आउने बित्तिकै  चिकित्सकसँग तुरुन्त परामर्श लिने गर्ने गर्थे । तर अहिले डेंगु पुष्टि भइसक्दा पनि संक्रमणप्रति खासै चासो दिन छाडे । कतिपय त नियमित कार्यमा व्यस्त भएको समेत देखिन्छ । 

गत वर्ष डेंगु सङ्क्रमित धेरैले आफू सङ्क्रमित भएको थाहा हुँदाहुँदै पनि सिटामोल खाएर भए पनि काममा व्यस्त भएको पाइयो । यो नै हाल समाजमा डेंगुप्रतिको दृष्टिकोणमा देखिएको ‘बिग ट्विस्ट’ हो । अनि यो नै नेपाल सरकारको शून्य मृत्युदर लक्ष्यको ठुलो चुनौती हो । 

बिरामीले डेंगुप्रति बेवास्ता गरेर जटिल भएर ढिलो अस्पताल आइपुग्ने अवस्था रहे मृत्यु हुने सम्भावना बढेर जान्छ । हालसम्म नेपाल सरकारले ‘क्लासिकल डेंगु’को लक्षणबारे मात्र जोडदार प्रचारप्रसार गरेको पाइन्छ । तर यी लक्षणहरू देखिँदा देखिँदै पनि सङ्क्रमितहरू नियमित आफ्नो काममा व्यस्त हुनु तर अचानक अति जटिल अवस्था भएपछि मात्र अस्पताल पुग्ने प्रचलन छ । जटिल अवस्थापूर्व देखिने सङ्केतको व्यापक प्रचार आवश्यक भइसक्यो । यो नै अहिलेको अनि अबको मुख्य आवश्यकता हो । यसलाई डेंगुको ‘वार्निंङ साइन’ पनि भनिन्छ । 

निरन्तर बान्ता हुनु, असाध्य पेट दुख्नु, नाक गिजा वा शरीरका अरू अङ्गबाट रगत बग्नु अनि अति आलश्य हुनु डेंगु वार्निङ साइनका लक्षणहरू हुन् । अस्पतालमा गरिने परीक्षणहरूमा कलेजो सुन्निनु, पेट वा छातीमा पानी जम्नु, अनि रगतमा प्लेटेलेट्सको सङ्ख्यामा तीव्र गिरावट देखिनु डेंगु वार्निङका थप सङ्केतहरू हुन् । यी सङ्केतहरू देखिए सङ्क्रमित बिरामी जटिल अवस्थामा पुग्न सक्ने प्रबल सम्भावनालाई सङ्केत गर्छ । 

तसर्थ पनि यी लक्षण अनि सङ्केतबारे प्रचार प्रसार व्यापक गर्न अर्जुन दृष्टि हुनुपर्छ । 

अन्त्यमा, डेंगु नेपालमा पुष्टि भएको २० वर्ष पार गर्दै गर्दा नेपालीको पनि यो भाइरसप्रति हेर्ने दृष्टिकोणमा ‘बिग ट्विस्ट’ आइसकेको छ । हाल डेंगुलाई पनि रुघाखोकीसरह सामान्य सङ्क्रमणका रूपमा लिन थालिएको छ ।

लामखुट्टे नियन्त्रणप्रति उदासीनतासँगै आगामी दिनमा लामखुट्टेको सङ्ख्या तीव्र रूपमा बढ्नेमा दुई मत छैन । र डेंगुका बिरामी पनि बढ्ने निश्चित छ । वार्निङ साइनबारे अधिकांश नेपाली अनविज्ञ हुँदा र जटिल भइसकेपछि मात्र अस्पताल पुग्ने र उपचार ढिलो हुँदा मृत्यु हुने प्रबल सम्भावना हुन्छ । 

तसर्थ आगामी दिनमा डेंगु मृत्युदरलाई शून्यमा झार्न वार्निङ साइनबारे व्यापक प्रचार जरुरी छ । 

(शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनसँगको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप