बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तर्वार्ता

हिमालसम्म पुग्यो लामखुट्टे, भयावह अवस्थाको सङ्केत

आइतबार, २९ असार २०८२, १० : २३
आइतबार, २९ असार २०८२

सारांश

  • काठमाडौं उपत्यकामा डेंगुको प्रकोप वर्षैभरि बढ्दै गएको छ, जुन पहिले बर्खामा मात्र देखिन्थ्यो।
  • जलवायु परिवर्तन र अव्यवस्थित सहरीकरणका कारण डेंगु सार्ने लामखुट्टे पहाडदेखि हिमाली क्षेत्रसम्म फैलिएको छ।
  • २०२४ मा हालसम्म ४१ हजारभन्दा बढी डेंगु संक्रमित भइसकेका छन्, र आगामी महिनाहरूमा यो संख्या बढ्ने अनुमान छ।

काठमाडौँ  । काठमाडौँ उपत्यकामा पहिले बर्खा लागेपछि मात्रै देखिने डेंगु अहिले बाह्रै महिना देखिन थालेको छ । विगतका वर्षहरूमा साउन, भदौ, असोज र कात्तिकमा मात्रै देखिने डेंगु आजभोलि हरेक महिना पुष्टि हुने गरेको छ ।

विगतमा डेंगु बर्खायाममा देखिएर क्रमशः बढ्दै गई मंसिरतिर न्यून सङ्ख्यामा देखिन्थ्यो । तर अहिले काठमाडौँ उपत्यकामा बाह्रै महिना डेंगुका बिरामी भेटिन्छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान विभाग प्रमुख डा. मेघनाथ धिमालका अनुसार डेंगु सार्ने लामखुट्टे २४ सय मिटरभन्दा माथि पनि पुगेको हुन सक्छ । तराई क्षेत्रमा मात्र देखिने डेंगु पहाडी र हिमाली भेगसम्म फैलिँदा जनस्वास्थ्यमा व्यापक चुनौती थपिएको डा. धिमाल बताउँछन् । 

२१ वर्षअघि सन् २००४ मा नेपालमा पहिलो पटक चितवनमा एक जापानी नागरिकमा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । यति छोटो समयमा जलवायु परिवर्तन र अव्यवस्थित सहरीकरणले पहाडमा फैलिएको डेंगु हिमाली भेगसम्म चढिसक्यो । जसको प्रमुख कारण, लामखुट्टेले हुर्कने प्रशस्त वातावरण बनाएको जनस्वास्थ्यविद्हरू तर्क गर्छन् । 

meghnath-dhimal

छोटो समयमा डेंगु सार्ने लामखुट्टे देशभर फैलनुको मुख्य कारण तापक्रम वृद्धि र अव्यवस्थित विकास निर्माण भएको उनीहरूको ठहर छ । यस्तै तर्क गर्छन् डा. धिमाल पनि ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिफ कन्सल्टेन्ट डा. विमल चालिसेले पनि अव्यवस्थित सहरीकरण, विकास निर्माण, आवतजावत र सडक सञ्जालको विस्तार नै डेंगु फैलिनुको कारण देखेका छन् । 

सडकको विस्तारसँगै मानिसहरूको आवतजावत सबै ठाउँमा पुग्न थाल्यो, टायर, पानीका पाइपहरू माथिल्लो भेगसम्म पुर्‍याइन थालिए, प्रयोगविहीन भएपछि त्यसमा पानी जम्न थाल्यो । र यस्तो अवस्थालाई तापक्रमले साथ दिएन थालेपछि उच्च भूभागसम्म डेंगु सार्ने लामखुट्टे पुगेको उनको भनाइ छ । एडिस एजेप्टाइ र एडिस एल्बोपेक्टस नामक लामखुट्टे त २४ सय मिटरसम्म पुगेको अध्ययनहरूले देखाएका उनी बताउँछन् । 

डेंगु संक्रमणको मुख्य कारण भनेकै एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइ हो । र अहिले आएर यी दुई प्रजातिको बसोबास क्षेत्रमा परिवर्तन आउन थालेको डा. चालिसे बताउँछन् । ‘पहिले एडिस एल्बोपेक्टस जङ्गल र झाडीमा पाइन्थ्यो, एडिस एजेप्टाई सहरी क्षेत्रमा पाइन्थ्यो,’ उनी भन्छन्, ‘पछिल्लो समय यी दुवै प्रजाति दुवै स्थानमा पाइन थाले ।’ 

विगतमा मधेस प्रदेशमा प्रकोपका रूपमा रहेका कीटजन्य रोगहरू माथिल्ला पहाडी तथा हिमाली भागमा फैलिन थालेका छन् । डेंगु १२–१३ डिग्री सेल्सियस तापक्रममा सहजै फैलिन सक्छ भने ३५ डिग्री नाघेपछि लामखुट्टे मर्छ । तर, पछिल्ला वर्षहरूमा पहाडी र हिमाली क्षेत्रमा तापक्रम वृद्धिसँगै लामखुट्टेको प्रकोप बढ्दै गएको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् ।

यता डा. धिमाल पनि हिमाली र पहाडी क्षेत्रमा तापक्रम वृद्धि हुनुका कारण लामखुट्टेले विकसित हुने मौका पाएको बताउँछन् । 

  • तापक्रम बढ्दा झनै समस्या

वैज्ञानिकहरूको अनुमानअनुसार अब नेपालको औसत तापमान सन् २०३० मा १.४ डिग्री सेल्सियस, सन् २०६० मा २.८ र सन् २०९० मा ४.७ डिग्री सेल्सियसले वृद्धि हुनेछ ।

पछिल्लो दुई दशकको आँकडा केलाउने हो भने काठमाडौँ उपत्यकासहित हिमाली र पहाडी क्षेत्रमा डेंगु फैलँदो क्रममा छ । १५ देखि ३५ डिग्री सेल्सियससम्म लामखुट्टे हुर्कन सक्ने भएकाले तापक्रम वृद्धिमा उसको पूरा जीवनचक्र सहज हुँदै गएको छ । जसका कारण डेंगु  सङ्क्रमण दरको ग्राफ पनि उकालो लाग्दो क्रममा छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार सन् २०१० देखि २०१९ सम्मको आँकडा हेर्ने हो भने डेंगु संक्रमितको संख्या २० गुणाले बढेको छ । त्यस्तै सन् २०१९ देखि २०२२ करिब साढे दुई गुणाले बढेको पाइएको छ ।

सन् २०१९ मा ४३ जिल्लामा फैलिएको डेंगुबाट १७ हजार ९९२ जना सङ्क्रमित भएका थिए भने सन् २०२० मा ४३ जिल्लामा फैलिँदा ५३० जना सङ्क्रमित भए । यसैगरी सन् २०२१ मा ५४ जिल्लामा फैलिँदा ५४० जना सङ्क्रमित हुन पुगेका थिए । त्यसैगरी सन् २०२२ मा ७७ जिल्लामा डेंगु फैलिँदा ५४ हजार ७४३ जना सङ्क्रमित भएका थिए । र सन् २०२३ मा ७७ वटै जिल्लामा डेंगु फैलिएको थियो भने ५२ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । 

सन् २०२४ अर्थात हालसम्म इडीसीडीको तथ्याङ्कअनुसार ४१ हजार ८६५ जनाभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । 

डेंगुको २१ वर्षे यात्रा

सन् २००४ मा चितवनबाट नेपालमा देखापरेको डेंगुले महामारीको रूप लिन सक्नेमा उत्तिकै चिन्ता छ । सन् २००६ मा मधेसका केही जिल्लामा डेंगु देखिएको थियो, जतिवेला ३२ जना सङ्क्रमित भएका थिए । सरकारले त्यस वर्षलाई नेपालको पहिलो ‘आउटब्रेक’ मान्दै आएको छ । त्यसवेला स्थानीयस्तरमा डेंगु देखिँदा यसका चारै वटा सेरोटाइप (डीईएनभी–१,२,३,४) देखिएका थिए ।

त्यसपछि सन् २०१० मा ९१७ वटा केस फेला परेका थिए । तराई भेगमा देखिएको डेंगु चार वर्षपछि काठमाडौँ उपत्यकामा फेला पर्‍यो । जहाँ पाँच जनामा डेंगु पुष्टि भएको थियो । पोखरामा भने सन् २०१४/१५ मा देखिएको थियो । 

धरानमा भने करिब १५ वर्षपछि अर्थात् सन् २०१९ मा डेंगु फेला पर्‍यो । जहाँ करिब १८ हजार जनामा सङ्क्रमण देखियो, तीमध्ये १२ जनाको त मृत्यु नै भयो । त्यो वर्ष देशका ४३ जिल्लामा डेंगु फैलिएको थियो । र त्यसैवर्षबाट डेंगुको ग्राफ देशका हरेका ठाउँमा उकालो लाग्दो क्रममा छ । 

सन् २०२२ मा डेंगु सङ्क्रमण ७७ वटै जिल्लमा फैलिँदा ५४ हजारभन्दा बढी सङ्क्रमित हुन पुगेका थिए । जसमध्ये ८८ जनाको निधन भएको थियो । यस्तै, सन् २०२३ मा कोशी प्रदेशमा प्रकोप फैलिँदा ५२ हजारभन्दा बढी सङ्क्रमित भए भने २० जनाको ज्यान गयो ।

सन् २०२४ देखि हालसम्म मात्र ३५ हजारभन्दा धेरै डेंगु सङ्क्रमित भइसकेका छन् । जहाँ १३ जनाको ज्यान गएको इडीसीडीको तथ्याङ्कमा उल्लेख छ । गएको पुस महिनायता मात्रै एक हजार ९०५ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ ।

  • रणनीति नहुँदा देशव्यापी भयो

जनस्वास्थ्यविद् डा. शरद वन्त जलवायु परिवर्तन र कीटाणुलाई रोक्न नसकिने कारण बर्सेनि डेंगुको प्रकोप फैलँदो अवस्था रहेको सुनाउँछन् । लामखुट्टे नियन्त्रण गर्ने कार्यक्रमहरूको कार्यान्वयन र प्रतिबद्धताको खाँचो यसको मूल कारण रहेको उनको भनाइ छ । उनका अनुसार डेंगु रोग लाग्न नदिन देशव्यापी कार्यक्रम आवश्यक छ । तत्कालका लागि खोज अनुसन्धानभन्दा पनि डेंगुलगायतका कीटजन्य रोगबारे थाहा भएका कुरालाई स्थापित गरी कार्यान्वयन गर्न सके समस्याको समाधान हुने उनी जिकिर गर्छन् । 

डेंगुसम्बन्धी नीति परिवर्तन नै गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । ‘तराईमा देखिएका कीटजन्य रोगहरू बिस्तारै पहाड, हिमालतिर देखिन थाले, अब सरकारले डेंगुका लागि विशेष कार्यक्रम बनाउनुपर्छ,’ उनी सुझाउँछन् । 

त्यस्तै जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी पनि डेंगु सार्ने लामखुट्टे तराई हुँदै हिमाली भेगसम्म उक्लिसक्दा पनि सरकार लामखुट्टे नियन्त्रण गर्न चुकेको आरोप लगाउँछन् । ‘डेंगु जसरी माथिल्ला भागमा फैलियो, सोहीअनुसार कार्यक्रम तथा रणनीतिलाई सुधार गर्न सरकारले सकेन,’ डा. मरासिनी भन्छन्, ‘डेंगुले सन् २०१९ मा महामारीको रूप लिँदासमेत त्यसबाट सरकारले पाठ सिक्न सकेन ।’ सरकारले ‘खोज र नष्ट गर’ अभियानलाई पनि तीव्रता दिन चुकेको उनको भनाइ छ । 

विगतमा तीनै तहका सरकारबिच समन्वय अभाव तथा ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी नभएकाले हजारौँ सङ्ख्यामा सङ्क्रमित थपिएका र सयौँको मृत्यु भएको जनस्वास्थ्यविद् डा. मरासिनीको बुझाइ छ । 

यता सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन भने विगतमा ‘बर्खा लागेपछि डेंगु बढ्छ, बिस्तारै कम भएर जान्छ’ भन्ने बुझाइले ठुलो सङ्ख्यामा मानिसहरू सङ्क्रमित हुनुका साथै धेरैको ज्यान गएको बताउँछन् । जबसम्म राज्यबाट प्रभावकारी कार्यक्रम हुँदैन, तबसम्म नागरिक जागरुक हुन नसक्ने उनको तर्क छ ।

‘यसको लार्भा, प्युपा र वयस्क लामखुट्टे तातो घाममा धेरै दिन बाँच्दैन । तर चिसो वातावरणमा पनि लामखुट्टेको अण्डा लामो समयसम्म रहन्छ,’ उनी भन्छन्, ‘एक वर्षअघि लामखुट्टेले पारेको अण्डा सुक्खा भए पनि एक वर्षपछि पानी पाउनेबित्तिकै त्यही अण्डाबाट लार्भा, प्युपा हुँदै वयस्क बन्छ, जसकारण यो पहाडी र हिमाली क्षेत्रमा सर्न सकेको हो ।’ 

डेंगुको सङ्क्रमण चक्र रोक्न लामखुट्टेको लार्भा भएका स्थानमा ‘खोज र नष्ट गर’ अभियानको विकल्प नै नभएको उनको पनि भनाइ छ । प्रकोप तथा महामारीका रूपमा फैलन नदिन भएका स्रोतसाधनहरूलाई परिचालन गर्नुपर्ने उनी सुझाउँछन् । 

डा. धिमालका अनुसार बजारमा डेंगुको प्रभावकारी खोप पनि उपलब्ध छैन र भएका पनि प्रभावकारी छैनन् । यस्तो अवस्थामा डेंगु नियन्त्रणको उत्तम उपाय ‘भेक्टर कन्ट्रोल’ नै हो । ‘भेक्टर कन्ट्रोल गरिए लामखुट्टेलाई नियन्त्रणमा लिन सकिने अध्ययनहरूले देखाएका छन् । त्यसका लागि जनचेतना फैलाउनुको विकल्प छैन,’ डा. धिमाल भन्छन्, ‘साताको एकपटक खोज र नष्ट गर अभियानलाई तीव्र गतिमा बढाउनैपर्छ ।’

  • फरक सेरोटाइप समस्या 

त्यस्तै नेपालमा डेंगुका कुन सेरोटाइप बढी फैलिएको भन्ने यकिन आँकडा पनि छैन । तर डेंगु फैलिनुमा सेरोटाइप १, २ र ३ को प्रमुख भूमिका भएको भने देखिएको छ । 

‘यदि कसैलाई डेंगु–१ सेरोटाइपले सङ्क्रमण भयो भने पहिलो १८ महिनासम्म अन्य कुनै पनि सेरोटाइपबाट सङ्क्रमण हुँदैन,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिफ कन्सल्टेन्ट डा. विमल चालिसेले बताउँछन्, ‘सेरोटाइप १, २, ३ वा ४ मध्ये कुनै एकले टोकेको १८ महिनासम्म पुनः डेंगु सङ्क्रमण हुँदैन । र यसलाई अल्पकालीन प्रतिरोधात्मक क्षमता पनि भनिने उनले जानकारी दिए । 

कसैलाई सेरोटाइप–१ ले सङ्क्रमण भएको छ भने जीवनभर सोही सेरोटाइपले टोके पनि पुनः डेंगु नहुने डा. चालिसेले तर्क गर्छन् । तर, यदि सेरोटाइप २, ३ वा ४ मध्ये अर्को कुनै सेरोटाइपले टोक्यो भने स्वास्थ्य जटिलता हुनुका साथै ज्यानसमेत जान सक्ने उनी बताउँछन् । भन्छन्, ‘जस्तैः पहिला डेंगु–१ बाट सङ्क्रमित व्यक्तिलाई हल्का ज्वरो आउनेजस्ता सामान्य लक्षण देखिएर निको भयो, तर त्यसको दुई वर्षपछि डेंगु–२ बाट सङ्क्रमण भयो भने स्वास्थ्यमा गम्भीर जटिलता आउँछ र मृत्युसमेत हुन सक्छ ।’

  • सङ्क्रमित ६० हजार पुग्ने आकलन

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन, भदौ, असोज र कात्तिक डेंगु फैलावटको उच्च जोखिम हुने महिना हुन् । यस अवधिमा यो वर्ष ६० हजारभन्दा धेरै मानिस डेंगुबाट सङ्क्रमित हुन सक्ने महाशाखाको अनुमान छ । 

तर समुदायमा भने वास्तविक सङ्ख्याभन्दा १० गुणा बढी सङ्क्रमित हुन सक्ने कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल तर्क गर्छन् । तर डा. पुन भने १० हजार जना सङ्क्रमित हुँदा १ हजार जनामा मात्रै डेंगुको लक्षण देखिन सक्ने बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप